Comments Add Comment

विश्वकै अग्लो ‘वाटर टच बञ्जी’ पोखरामा

Bunjy-Jump-Pokhara

नविन अर्याल

२९ साउन, पोखरा । देशकै मुख्य पर्यटकीय गन्तब्य पोखरामा अब नयाँ साहसिक मनोरञ्जनात्मक खेल ‘बञ्जी जम्प’ सुरु हुने भएको छ । हाइग्राउन्ड एडभेञ्चर्स प्रालिले अहिले पोखराको हेम्जामा बञ्जी जम्पको पूर्वाधार निर्माण गरिरहेको छ ।

करिव ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बञ्जी सेप्टेम्बर पहिलो हप्तासम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको एडभेञ्चर्सका अप्रेशन म्यानेजर दिनेश महर्जनले अनलाइनखबरलाई जानकारी दिए । द लास्ट रिसोर्टले भोटेकोशीमा सञ्चालन गरिरहेको बञ्जी भन्दा यो फरक हुने महर्जनको दाबी छ ।

‘त्यहाँ बञ्जी जम्प गर्दा पोखरीमा टाउकाले छुन सकिने हुँदा यसलाई बाटर टच बञ्जी नामाकरण गरिएको छ’ महर्जनले दाबी गरे- ‘हाम्रो बञ्जी सञ्चालनमा आएपछि विश्वकै सबैभन्दा अग्लो वाटर टच बञ्जी हुनेछ ।’

८० मिटर उचाइ

अहिलेसम्म विश्वमा ५० मिटरसम्म उचाई भएका वाटर टच बञ्जी सञ्चालनमा रहेको दाबी गर्दै महर्जनले आफूहरुले करिब ८० मिटर उचाइ भएको वाटर टच बञ्जी सञ्चालनमा ल्याउने बताए । एडभेञ्चर्सले पोखरामा सञ्चालन गरिरहेको साहसिक पर्यटकीय खेल जिप फ्लायर पनि विश्वकै सबैभन्दा अग्लो थ्रिलर रहेको छ ।

वाटर टच बञ्जी बनाउन ७ करोड रुपैयाँको हाराहारीमा लगानी हुने अनुमान गरिएको छ । बञ्जी यसअघि नै सञ्चालनमा आइसक्नुपर्ने भएपनि प्राविधिक तथा मौसमका कारण समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको कम्पनीका सेल्स इन्चार्ज दीप गुरुङले बताए ।

हेम्जामा रहेको तिब्बतीयन क्याम्पको पछाडी जीप फ्लायरको ल्यान्डिङ स्थलमा बञ्जी निर्माण भइरहेको छ । बञ्जीको ५० मिटर उचाई जमिनको ढिस्को हुने र ३२ मिटर उचाई टावरको हुनेछ । जहाँ टावर निर्माण कार्य सम्पन्न भइसकेको छ ।

Pokhara-Bungy-Jump-2

२० फिटको पोखरी

तल जमिनमा १५ देखि २० फिटसम्मको नेचुरल पोखरी निर्माण गरिने छ । बञ्जी जम्प गरेरपछि पोखरीमा टाउकोले छुने की खुट्टाले छुने भनेर विदेशबाट टेक्निसियन ल्याएर निर्णय गरिने अप्रेशन म्यानेजर महर्जनले बताए । विदेशी टेक्निसियनकै सुझावमा सबै सुरक्षा उपाय अपनाउने उनको भनाई छ ।

भोटेकोशी बञ्जीको तुलनामा आधा होचो भएपनि यसले पनि ‘थि्रलर फिलिङ्स’ पैदा गरिदिने विश्वास कम्पनीले लिएको छ । भोटेकोशीमा रहेको बञ्जी जम्पको उचाई १ सय ६० मिटर रहेको छ । हाई एडभेञ्चरमा रुची राख्नेहरुले कहिले बञ्जी गर्न पाइन्छ भनेर सोधिरहने गरेको गुरुङले बताए ।

‘ग्राहकहरुले आफुले तिरको पैसा बराबरको सन्तुष्टि हाम्रा बञ्जीबाट प्राप्त गर्नेछन्’ गुरुङले भने- ‘पर्यटकीय हव पोखरामा यो बञ्जी जम्प लोकप्रिय हुनेमा कुनै दुई मत छैन ।’ हाइग्राउन्ड एडभेञ्चरले क्रेजी एभेञ्चर गतिविधीमा जोड दिँदै आएको छ । उसले भित्राएको जीप फ्लायर पनि नेपालमै पहिलो हो ।

नयाँ-नयाँ एडभेञ्चर गेम सञ्चालन गर्ने क्रममा वाटर टच बञ्जी सुरु गरेको कम्पनीले निकट भविष्यमा पोखरामै एटीभी बाइकिङ गेम समेत ल्याउने तयारी गरिरहेको छ । पछिल्लो समय नेपालीहरु समेत साहसिक खेलहरुमा सहभागी हुन थालेपछि लगानीकर्तारु नयाँ-नयाँ साहसिक खेल सञ्चालन गर्नेतर्फ आकषिर्त भएका हुन् ।

भोटेकोशीमै ब्रान्डिङ

बञ्जी जम्प नेपालमा ब्रान्डिङ भइसकेको छ । द लास्ट रिसोर्टले आम नेपालीलाई बञ्जीमा आकषिर्त गरिसकेको छ । त्यसो हुँदा पनि पोखरामा सञ्चालन हुन लागेको बञ्जीलाई ब्रान्डिङको कुनै समस्या हुनेछैन् । बञ्जीको बारेमा आम नेपालीलाई परिचित गराउन द लास्ट रिसोर्टले धरै मेहनत गरेको छ । भोटेकोशीमा बञ्जी गर्न जाने स्वदेशी विदेशीहरु बराबर जस्तै हुन्छन् ।

पोखरामा बञ्जी सञ्चालनमा आएपछि त्यहाँ पुग्ने पर्यटकले नयाँ खेलको मज्जा लिने अबसर पाउनेछन् ।

Pokhara-Bungy-Jump-3

‘राजधानी आउने पर्यटक एकपटक पोखरा आइहाल्छन्, यहाँ आइसकेपछि उनीहरुले समयको सदुपयोग गर्दै अवश्य बञ्जी गर्नेछन्, यहि परिकल्पना गरेर बञ्जी सञ्चालनमा ल्याउन लागेका हौं’ गुरुङले भने- ‘फेरी पानीमा खस्ने हाम्रो बञ्जीले पर्यटकलाई फरक खालको स्वाद पनि दिनेछ ।’

लक्षित ग्राहक स्वदेशी र विदेशी

नेपालीहरु समेत साहसिक गतिविधिमा सहभागी हुन थालेको हुँदा कम्पनीले स्वदेशी विदेशी दुबैलाई लक्षित गरेर बञ्जी निर्माण गरेको बताएको छ । पर्यटन सिजनेवल व्यवसाय भएको हुँदा बञ्जीमा पर्यटकीय समयमा विदेशीहरु बढी हुने र अफसिजनमा नेपालीहरु बढी हुने बताउँदछन गुरुङ ।

कम्पनीले आकर्षक शुल्कमा बञ्जीको मज्जा चखाउने बताएको छ । करिव ४५ सय ५ हजारको हाराहारीमा भिडियो र फोटोसहित बञ्जी गराउने सम्भावना रहेको महर्जनले बताए ।

पछि जीप फ्लायर र बञ्जीलाई प्याकेजमा राखेर पनि ग्राहकलाई सेवा दिने उद्देश्य कम्पनीले लिएको छ । प्याकेजमा सस्तो पर्ने हुँदा ग्राहकहरुले थोरै पैसामा धेरै मनोरञ्जन लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment