Comments Add Comment

बाढीपीडितलाई दश दिनपछि दुई मुठी चामल राहत

१० भदौ, बर्दिया । राहत आयो रे, भन्ने सुनेर बग्नाहा-३ मिर्चियाकी पुतली सुनार हतार हतार राहत बाँडिरहेको ठाउँ पुगिन् । लाइनमा पनि बसिन् । राहत लिने पालो पनि आयो । एक मुठी चामल, एक चिम्टी दाल उनीहरुतर्फ तेर्साउँदै एक ब्यक्तिले भने, ‘लौ लिनुस् यो राहत ।’

दुई/चार छाक टार्ने त देलान् भन्दै नातिलाई अघि लगाएर बोरासहित राहत लिन पुगेकी पुतली सरकारी राहत देखेर अक्क न बक्क भइन् । बोल्न पनि सकिनन् । मुठीभरको राहत बुझ्दा उनको आँखा एकाएक रसाए, आँसु थाम्नै सकिनन् उनले । अनि उनले आँसु टिलपिल गर्दै प्रश्न गरिन्, ‘कति छाक खाने यो चामल ?’ तर उनको यो प्रश्नको जवाफ दिने कोही थिएन । राहत बाँड्ने प्रतिनिधि पनि निःशब्द भएको राजधानी दैनिकमा खबर छ ।

बाढीबाट घरबारविहिन पुतलीको १५ जनाको परिवार छ । सिंगो परिवार १० दिनेदेखि भत्केको घरको एक कुनामा जसोतसो गुजारा गर्दै आएको छ । गाउँले र आफन्तले जुटाइदिएको अन्नपातले उनको परिवार एकछाक खाएर जेनतेन बाँचेको छ । शरीरमा एकसरो कपडाबाहेक केही छैन । सबै परिवार भोकै नाङ्गै छन् । यो पीडाबाट मुक्ति चाहिरहेकैबेला सरकारी राहत एक मुठी चामल पाउँदा उनको पीडा यत्रतत्र छरियो ।

बग्नाहा गाविसका अधिकांश बाढीपीडितको हालत पुलतीको जस्तै छ । सरकारी राहतले पीडितमा झनै आहत थपेको छ । सोमवार स्थानीय विद्यालयमा बाँड्न राखिएको राहत सामग्री देखेर सवै पीडितका आँखा रसाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment