Comments Add Comment

तीजमा बज्दैनन् अचेल हरिदेवीका गीत

haridevi-koirala

१० भदौ, काठमाडौ । तीज गीतको पर्यावाचीजस्तै थिइन्, पोखरेली गायिका हरिदेवी कोइराला । लोक गीतहरुमा ठेट शब्दको प्रयोग गर्ने कोइराला शब्द र लय  हेरेर चित्त बुझेपछि मात्रै गाउँथिन् ।

तीजका गीतको सन्दर्भमा उनको आफ्नै मान्यता थियो ‘तीज शब्दसँग माइती देशका कुरा र चेलीबेटीको पीर व्यथा समेटिएको हुनैपर्छ ।’ उनले गाएका गीतमा यी कुरा प्रशस्तै भेटिन्छन् ।

तर, अचेल शहरमा आयोजना हुने तीजसँग सम्बन्धित कुनै पनि कार्यक्रममा हरिदेवीका गीत बज्दैनन् । अन्तको कुरा छाडौं, पोखरेलीहरुकै कार्यक्रममा पनि कम बज्न थालेका छन् उनका गीत ।

अहिलेका पुस्ताले हरिदेवीका गीत सुन्न पाएका छैनन् । कारण, झिल्के गीत संगीतको मारमा परेका छन् हरिदेवीका भलादमी गीतहरु ।

राम्रो शब्द, भाका र भावका पछि लागेकै कारण पछि पर्नेमा हरिदेवी मात्रै छैनन्, गायक बमबहादुर कार्की, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, देवी घर्ती, विष्णु माझी, शर्मिला गुरुङलगायत धेरै छन् पछाडि पारिने सूचीमा ।

रेडियो नेपालमा कार्यरत बमबहादुर कार्कीले लोकगीतमै लागेर एउटा युग बिताए । विभिन्न कालखण्डमा थुप्रै कालजयी लोकगीत सिर्जना गरेका कार्की विगत केही वर्षयता गीत सिर्जनामा निस्क्रिय भएको सुनाउँछन्- ‘अहिलेका दर्शक गीत सुन्दैनन्, हेर्छन् मात्रै । हेर्ने गीतमा हामी बुढा मान्छेको भाउ हुन्न ।’

सुन्न हैन, हेर्नका लागि गीत

आफूले गाएको गीत धेरै दर्शक एवं स्रोताले हेरुन् वा सुनुन् भन्ने चाहना राख्नु स्वभाविक हो । अधिकांश गायक गायिकाले यस्तै चाहना राखेका हुन्छन् पनि । सकेसम्म धेरै दर्शकलाई गीत हेराउने माध्यम भने म्युजिक भिडियो हुने गरेको छ ।

गीतजस्तो भए पनि गीतमा मोडलिङ गर्ने युवतीलाई ग्ल्यामरस बनाउन सकियो भने गीत चल्छ भन्ने मान्यतामा एल्बम उत्पादक संस्था र स्वयं गायक गायिका पनि छन् । तर, हरिदेवी भने गीतको मर्म बिगारेर भिडियो बनाउन नहुने तर्क गर्छिन् ।

उत्ताउलो हुन मनले मान्दैन

बमबहादुर कार्कीले समेत आफ्ना केही गीतका भिडियो बनाएका छन् । भिडियो निर्माणकै क्रममा केही निर्देशकहरुले उनलाई पनि उत्ताउलो भिडियो बनाउने सल्लाह नदिएका होइनन् । तर, उत्ताउलो भिडियो बनाएर चर्चामा आउन उनको मनले मान्दै मानेन ।

‘हाम्रो गीत चल्दैन भने नगाउँला तर, उत्ताउलो बनाएर चर्चामा आउन मनले मान्दैन ।’ उनले भने । अहिलेका गीतका विषयमा टिप्पणी गर्न खासै मन लाग्दैन उनलाई । उनी भन्छन् ‘बहुमतले स्वीकारेको चीजलाई हामीले किन भएन भन्ने ?’

समयसँगै फेरिएका शब्द

माइती जाँदा, दुई दिन हिँड्न परेको । बाटोमा खाजा खान नपाएको , महिनांैसम्म खबर नपाएको जस्ता प्रसंग पुराना गीतमा दोहोरिन्थे । तर, अहिले समय मात्रै फेरिएको छैन । लोकगीतका शब्दमा पनि भेराइटी देखिएको छ ।

मोबाइलमा कुरा भएको, फेसबुक च्याटबाट लभ परेका जस्ता कुरा गीतमा व्यक्त हुन थालेका छन् । सयमसँगै शब्द फेरिएकोमा भने पुराना गायक गायिका पनि सहमत छन् । कार्कीकै भनाइअनुसार मोबाइल र च्याटको विषयलाई आलोचना गर्न हुन्न ।’

हरिदेवीका गीतहरू




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment