Comments Add Comment

सडकमा गुड्ने ८७ प्रतिशत निजी सवारी

नविन अर्याल

१५ भदौ, काठमाडौं । नेपालमा आफ्नै सवारीसाधन प्रयोग गर्ने व्यक्तिहरु बढ्दै गइरहेका छन् । यातायात व्यवस्था विभागमा दर्ता भएका गाडीहरुको पछिल्लो तथ्यांकले सार्वजनिक सवारीको संख्या न्यून देखाएको छ ।

विभागमा अहिलेसम्म १७ लाख ५५ हजार ८ सय सवारी दर्ता भएका छन् । जसमध्ये निजी प्रयोजनमा आउने सवारीको संख्या १५ लाख २१ हजार ३ सय रहेको छ । जुन कुल सवारीको ८६.६४ प्रतिशत हुन आउँछ ।

विभागका अनुसार अहिलेसम्म १३ लाख ७१ हजार २०६ थान मोटरसाइकल दर्ता भएका छन भने १ लाख ५० हजार १०७ थान कार, जीप र भ्यानहरु दर्ता भएका छन् । अन्य गाडीहरुको संख्या २ लाख ३४ हजार ५०८ थान रहेको छ ।

Registered-vehicle-from-2046-to-071

नेपालमा अझै सार्वजनिक यातायातको विकास हुन नसकेको माथिको तथ्यांकले देखाउँछ । सार्वजनिक यातायातमा प्रयोग हुने बसहरु अहिलेसम्म ३२ हजार ९ सय १४ थानमात्र विभागमा दर्ता भएका छन् ।

मिनी बस मिनी ट्रकलाई एउटै शीर्षकमा राखिएको छ । मिनी बस र मिनी ट्रक १४ हजार ७ सय १९ थान दर्ता भएको देखिन्छ ।

व्याजदर घट्दा सवारी आयात उच्च

बैंकहरुले सुलभ कर्जा उपलब्ध गराएपछि पनि निजी सवारी प्रयोगकर्ताहरु बढ्न थालेको सानिमा बैंकका सिइओ भुवन दाहाल बताउँछन् ।

‘बैंक व्याजदर घटेपछि सवारी कर्जा बढेको छ’ उनले भने- ‘सस्तो व्याजमा कर्जा पाएपछि आफ्नै गाडी चढौं न भन्ने मानसिकता ग्राहकमा देखिन्छ ।’

व्याजदर यसरी नै घटिरहेमा सवारी साधनको अयात अझै बढ्ने बताउँदै सिइओ दाहालले अधिक तरलताका कारण व्याजदर घट्दा बैंकहरु आम्दानीका लागि अटोमा लगानी बढाउन बाध्य रहेको दाबी गरे । जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको १२ अर्ब रुपैयाँ सवारीमा कर्जा गएको छ ।

आर्थिक वर्ष २०४६/०४७ देखि ०७०/०७१ सम्मको समग्र सवारी दर्ता हेर्दा उतार चढाव आएको देखिन्छ । विभागले बस, मिनी बस, मिनी ट्रक, कार, जीप, भ्यान, पिकअप, माइक्रो, टेम्पो, मोटरसाइकल, ट्रैक्टर, पावर टेलर लगायतका गाडीहरु दर्ता गर्दै आएको छ ।

Gadi-export-import

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दर्ता घटेको छ । अघिल्लो आर्थिक वर्ष निजी तथा व्यवसायीक २ लाख ८ हजार ४ सय ८३ सवारी दर्ता भएकोमा गत वर्ष १ लाख ९८ हजार ३ सय ४३ थान सवारी दर्ता भएका छन् ।

संख्यामा सवारी घटे पनि रकममा भने बढेको छ । गत आवमा नेपालमा ३९ अर्ब ३२ करोड ४० लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका छन् । जुन अघिल्लो आवको तुलनामा साढे ९ अर्ब रुपैयाँले बढी हो ।

अघिल्लो आवमा २९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका थिए । यसरी हरेक वर्ष सवारी आयात रकममा बढ्दै गइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार ०४६/०४७ मा ७६ हजार ३ सय ७८ सवारी दर्ता भएका थिए । उक्त संख्या सुरुदेखि ०४७ असारसम्मको हो । त्यसपछि ०४७/०४८ मा १३ हजार १४९ सवारी दर्ता भएका थिए ।

कुन गाडी कति दर्ता ?

नेपालमा सुरुदेखि अहिलेसम्म ३२ हजार ९ सय १४ थान बस, १४ हजार ७ सय १९ थान मिनी बस तथा मिनी ट्रक, ५२ हजार ९ सय ८१ थान क्रेन, डोजर, एक्जाभेटर र ट्रक, १ लाख ५० हजार १०७ थान कार, जीप र भ्यान दर्ता भएका छन् ।

त्यसैगरि, २३ हजार ८ सय ३९ थान पिकअप, २ हजार ८ सय १४ थान माइक्रो, ७ हजार ५ सय २७ थान टेम्पो, १३ लाख ७१ हजार २ सय ६ थान मोटरसाइकल, ९३ हजार १७१ थान ट्रैक्टर तथा पावरटेलर र ६ हजार ५ सय ४३ थान अन्य प्रकृतिका गाडीहरु दर्ता भएका छन् ।

registered VEHICLES at nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment