Comments Add Comment

बाबुराम भट्टराईले भने -आर्थिक मुद्दामा दलहरुबीच विवाद छैन

फाइल फोटो
फाइल फोटो

१६ भदौ काठमाडौं । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले दलहरुबीच आर्थिक मुद्दामा कुनै मतभेद नरहेको बताएका छन् । समाजवाद उन्मूख पुँजीवादी अर्थव्यवस्थामा दलहरु एकमत भएको भट्टराईको दाबी छ ।

आर्थिक विषयमा सुझव लिने उद्देश्यले सोमबार आफ्नै कार्यकक्षमा आयोजित आर्थिक पत्रकारहरुसँगको छलफलमा भट्टराईले यस्तो बताएका हुन् । ‘मुलुकले कस्तो अर्थव्यवस्था अंगाल्नेभन्ने विषयमा दलहरुबीच कुनै विवाद छैन, हामी सबैले समाजवादउन्मुख पुँजीवादलाई स्वीकार गरिसकेका छौं’ उनले भने- मुलुक पुरानो शामन्तवादी अर्थव्यवस्थाबाट माथि उठिसकेको छ ।

निजी क्षेत्र नै विकासको संवाहक भएकाले निजी क्षेत्रविनाको आर्थिक विकास संभव नहुने उनको भनाई छ । ‘निजी सम्पत्ति र स्वतन्त्रता भएन भने प्रतिस्पर्धा हुँदैन र आर्थिक विकास पनि हुँदैन’ भट्टराईले भने -निजी सम्पत्तिमार्फत नै राष्ट्रिय पुँजीको विकास संभव छ ।

अहिलेको आवश्यकता आर्थिक विकास नै भएको भट्टराईले बताए । अहिलेको अर्थव्यवस्था पूर्णरुपमा उदार नभएको र समाजवादी पनि नभएकाले संक्रमणकाली अर्थव्यवस्था भन्नु पर्ने धारणा राखे ।

सहकारी अर्थतन्त्रको छुट्टै खम्बा होइन

मिश्रीत अर्थतन्त्रको नाममा अनावश्यकरुपमा सहकारीलाई अघि बढाइएको भट्टराईले टिप्पणी गरे ।

‘सहकारी अर्थतन्त्रको छुट्टै खम्बा होइन, त्यो निजी क्षेत्रकै एक अंग हो’ उनले भने -निजी र सरकारी क्षेत्र नै अर्थतन्त्रका खम्बा हुन । सहकारी क्षेत्र निजी क्षेत्रकै अंक भएकाले संविधानमै तेस्रो खम्बाको रुपमा राख्नु नपर्ने उनको धारणा थियो ।

‘अर्थतन्त्रमा सहकारीको महत्व छैन भन्न खोजिएको होइन’ उनले भने -तर, आवश्यकभन्दा बढी महत्व पनि दिनु हुँदैन ।

सहकारी क्षेत्रमा विकृति र भ्रष्टिकरण बढेको भन्दैसरोकारवाला चनाखो हुनुपर्ने उनको धारणा थियो । अन्तरिम संविधान २०६३ ले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा स्वीकार गरेको थियो ।

निजी क्षेत्र नै विकासको संवाहक

नेता भट्टराईले आर्थिक विकासको संवाहक निजी क्षेत्र नै भएको बताए । व्यक्तिको निजी क्षमताको विकास नगरी समाजवादमा पुग्न नसकिने भएकाले अहिलेको मुलुकको आर्थिक नीति समाजवादउन्मुख पुँजीबाद भएको उल्लेख गरे ।

प्रभावकारी सरकारी अनुगमन प्रणालीसहितको पुँजीबादले उत्पादन, गुणस्तर र रोजगार बढाउने उनको भनाई थियो ।

नेता भट्टराईले दलहरुसँग इच्छाशक्ति भए तोकिएको समयमै संविधान बन्नेमा आफू विश्वस्त रहेको बताए । ठुला-ठुला निर्णयहरु अन्तिम समयमा हुने भएकाले सहमति जुट्न बाँकी रहेका विषयवस्तुमा पनि अन्तिम समयमा दलहरु एकै ठाउँमा उभिने उनको भनाई थियो ।

‘संविधान मुलुकको पहिलो आवश्यकता हो, त्यसैले जुनसुकै हालतमा भएपनि बनाउनुपर्छ’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment