Comments Add Comment

रारा तालको किनारमा जलवायु सम्मेलन हुने

२४ भदौ, काठमाडौं । हिमाली क्षेत्रमा बसोबास गर्ने मान्छे र त्यहाँको प्राकृतिक स्रोत बचाउन नेपालकै सबैभन्दा ठूलो उच्च हिमाली क्षेत्रमा अवस्थित रारा तालमा जलवायु सम्मेलन आयोजना हुने भएको छ ।

jumla-to-rara--18
रारा ताल । फाइल फोटो

समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा मुगु जिल्लामा अवस्थित रारा ताललाई प्रकृतिको उपचार र स्वर्गकी अप्सरा समेत भनिन्छ ।

वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डार्कको संयुक्त आयोजनामा अक्टोबर ३० र ३१ मा रारा किनारामा सम्मेलन हुन लागेको हो ।

यसअघि नेपाल सरकारले जलवायु परिवर्तनको असरबाट हिमाली मुलुकलाई परेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको कालापत्थरमा मन्त्रिपरिषद बैठक राखेको थियो ।

सहभागीलाई पाल टाँगेर राखिने

रारामा पुग्न यातायात सुबिधा नभएको र त्यस क्षेत्रमा होटलहरु पनि नभएकाले सम्मेलनका सहभागीहरुलाई रारा किनारामा पाल टाँगेर राखिने भएको छ । मंगलवार किर्डार्कले हिमाली क्षेत्रको प्रतिनिधित्व गर्ने सभासद, राजनीतिककर्मी, सरोकारवाला र पत्रकारहरुबीच छलफल आयोजना गरी सम्मेलनको जानकारी दिएको हो ।

किर्डार्कका कार्यकारी निर्देशक मिनवहादुर शाहीले हिमाली क्षेत्रका जनता र प्राकृतिक स्रोत बचाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लबिङ नभए हिमाली जनजीवन खतरामा रहेको बताए । रारा ताल नेपालको मात्र नभएर विश्वकै ध्यानाकर्षण गर्ने स्थान भएकाले हिमाली जनजीवनलाई जलवायु परिवर्तनको असरबाट जोगाउन लबिङ बलियो बनाउनका लागि रारा रोजिएको उनले बताए ।

जलवायु परिवर्तनका कारण हिमश्रृंखलाहरुबाट हिउ पग्लिने र प्राकृतिक स्रोतहरु सुक्दै जाने समस्याका कारण हिमाली जनजीवन संकटमा परेको त्यस क्षेत्रका सभासदहरुले बताए ।

कार्यक्रममा सभासदहरु भोजपूरका कृपासुर शेर्पा, दोलखाका आनन्द पोखरेल, मुगुका मोहन बानिया, पूर्व वनमन्त्री भानुभक्त जोशी लगायतले हिमाली जनजीवन जोगाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

तीन वर्षअघि हिमाली मुलुकहरुको बैठक नेपालले आयोजना गरेर हिमाली जनजीवन जोजाउने उपायबारे छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment