
३० भदौ, काठमाडौं । चारवटा संस्था आपसमा गाभिएर बनेको प्रभू बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सुभारम्भ गरे ।
‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभू विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभू बैंक बैंक बनेको हो ।
बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकले निकट भविष्यमै अर्को एक संस्था खरिद गर्ने घोषणा गरे । ‘प्रभू बैंकले तत्काल अझै एक संस्था एक्वायर (खरिद) गर्ने तयारी गरिरहेको छ’ भट्टचनले भने- गभर्नरसापको कार्यकालमै अनुमति दिनुपर्यो । मर्जरको प्रक्रिया लामो भएकाले आफूहरुले एक्वायर रोजेको उनले बताए ।
त्यसैगरी आगामी केही वर्षमा प्रभु बैंकले विदेशी बैंकलाई जोइन्ट भेञ्चर (संयुक्त लगानी) को रुपमा भित्र्याउने पभि भट्टचनले बताए ।
‘मर्जरमा सहभागि चारवटै संस्थाहरुको गत असार मसान्तको वित्तीय विवरण प्रकाशित भइसकेको छ, त्यसलाई एकीकृत गर्दा अहिले पनि बैंक नाफामा छ’ उनले भने- तर, यो वर्ष बैंकले राम्रो नाफा कमाउने हाम्रो विश्वास छ ।

अध्यक्ष भट्टचनले सञ्चालनमा रहेका अन्य वाणिज्य बैंकहरुसँग सहकार्य गरी ठूला परियोजनामा लगानी गर्ने बताए ।
चुक्ता पुँजी ३ अर्ब २० करोड
तीन करोड रुपैयाँको चुक्ता पुँजीमा सात वर्षअघि स्थापना भएको प्रभू फाइनान्स स्तरोन्नति र मर्ज हुँदै प्रभू बैंकको रुपमा कारोबार सुरु गर्दा चुक्ता पुँजी ३ अर्ब २० करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
प्रभू विकास बैंकको चुक्ता पुँजी ७६ करोड ४९ लाख, किष्ट बैंकको २ अर्ब, गौरिशंकरको २१ करोड र जेनिथको २३ करोड रुपैयाँ चुक्ता पुँजी थियो ।
शाखा र एटीएममा पहिलो निजी बैंक
मर्जपछि बनेको बैंकको शाखा संख्या १ सय १२ वटा हुनेछ भने एटीएम संख्या १ सय ९ वटा भएका छन् । अहिलेसम्म निजीक्षेत्रका प्रमोटरले सञ्चालन गरेको कुनै पनि बैंकका शाखा तथा एटीएम यतिधेरै छैनन् । त्यसैगरी मर्जपछि बैंकमा १२ सय कर्मचारी भएका छन् भनेग्राहक संख्या ७ लाखभन्दा बढी पुगेको छ ।
कसको सेयर अनुपात कति ?
मजर्रको स्वीकृति पाएका संस्थाहरूको विषेशसाधारणसभाले सेयर अनुपात स्वीकृति गरिसकेको छ । किष्ट बैंकको प्रतिसय सेयरबराबर ९७।३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७।३१, गौरीशंकरडेभलपमेन्ट बैंकको पनि १०७।३१ र जेनिथ फाइनान्सको प्रतिसय सेयर बराबर ९२।३१ सेयर कायम गरिएको छ ।

तस्वीर : श्रीधर पाैडेल