३१ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो दायरा बढाउने भएको छ । कोषले निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि अवकाशपछि योगदानका आधारमा निवृत्तिभरण (पेन्सन) योजना सञ्चालन गर्ने योजना बनाएको छ ।
कोषको ५३ औं वाषिर्कोत्सवको अवसरमा प्रशासक कृष्णप्रसाद आचार्यले निजी क्षेत्रमा कार्यरत १० लाख कामदारका लागि संचय कोषलगायत सामाजिक सुरक्षाका सुविधा उपलब्ध गराउने योजना रहेको बताए ।
कोषले निजी क्षेत्रमा कार्यरत कामदार तथा स्वरोजगारको अवकाश पछिको जीवनका लागि सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन यस्तो योजना अघि सारेको आचार्यले बताए ।
पूर्वाधारमा लगानी
आउँदा ३ वर्षमा कोषको कुल स्रोत ३ खर्ब पुग्ने भन्दै आचार्यले बताए । उनले यसलाई देशको आर्थिक विकासमा परिचालन गर्न सरकारी बचत तथा ऋणपत्रमा प्राथमिकताका साथ परिचालन गर्न आवश्यक रणनीति तयार गरिने जानकारी दिए । ‘देशको पूर्वाधार विकासमा लगानीका लागि पहल गर्छौ’ उनले भने ।
कोषका अध्यक्ष एवं प्रधानमन्त्री कार्यालयका सचिव दुर्गानिधि शर्माले कोषले मुलुकको आर्थिक विकास र पूर्वाधार विकासमा ठुलो लगानी गर्न सक्ने बताए ।
बीमा समितिका अध्यक्ष फत्तबहादुर केसीले कोषले कर्मचारीको स्वास्थ्य बीमाको कुरा अघि बढाउने बताए पनि कानुनमा बीमा समितिमा दर्ता भएका कम्पनीले मात्रै बीमा कारोबार गर्न पाउने व्यवस्था भएकाले त्यस विषयमा सोचेर मात्रै निर्णय गर्न उनले आग्रह गरे ।
सार्वजनिक संस्थान निर्देशन बोर्डका प्रमुख विमल वाग्लेले कमर्चारी संचय कोषको प्रभावकारी नियामकको आवश्यकता बताए ।
धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले पुँजीबजारमा लगानी गर्ने कुरामा पनि संचय कोषले ध्यान दिनुपर्ने बताए ।
कोषमा १ खर्ब ६३ अर्ब जम्मा
सञ्चय कोषमा अहिलेसम्म १ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ । कोष सबैभन्दा धेरै वचत परिचालन गर्ने संस्था हो । गत असार मसान्तसम्मको विवरण अनुसार कोषमा आर्थिक वर्ष २०७०र७१मा मात्रै करिब २२ अर्ब रुपैयाँ बचत थपेको छ ।
कोषले सापटीमा ९४ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्मचारीले जम्मा गरेको रकमबाट आफैले ९० प्रतिसतसम्म सापटी लिन पाउँछन् । गत आर्थिक वर्षसम्म जम्मा २५ अर्ब ६९ करोड मात्रै परियोजना कर्जा दिएको छ । कोषले सरकारी ऋणपत्रमा १४ अर्ब र मुद्दति निक्षेपमा २६ अर्ब रुपैयाँ लगानी गरेको छ।
प्रतिक्रिया 4