१ कात्तिक, काठमाडौं । अन्नपूर्ण ट्रेकिङ रुटमा अकस्मात परेको हिमपातका कारण अलपत्र परेका २२ जनाको उद्दार गरिएको छ । मुस्ताङबाट १५ र डोल्पाबाट ८ जनाको उद्दार गरिएको हो ।
मुस्ताङ जिल्ला प्रशासनका अनुसार तीन दिनयता हिउँले पुरिएर १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ सय ५४ पर्यटकको उद्दार गरिएको छ । जिल्लामा उद्दार कार्य सम्पन्न भएको प्रशासनले जनाएको छ ।
डोल्पासँग सीमा जोडिएको मुस्ताङको साङपा गाविसबाट ३ जनाको उद्दार गरिएको छ । जसमा एक नेपाली र दुई स्वीट्जरल्याण्डका नागरिक छन् । उनीहरुलाई माउन्टेन एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ‘हिमपात हुन थालेपछि टेन्ट छाडेर ओडारतिर गएर बसेका रहेछन्, आज उद्दार गरिएको छ’ मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोख्यालले अनलाइनखबरसँग भने ।
उद्दार गरिएकाहरुका अनुसार अर्को समूह पनि नजिकै टेन्टमा थियो । तर, उनीहरुको अवस्थाबारे कुनै जानकारी नरहेको बताएका छन् । डोल्पाको छार्का हुँदै मुस्ताङको यात्रामा थिए ।
सहायक प्रजिअ चोख्यालका अनुसार घोक भन्ने ठाउँबाट ८ नेपाली र ४ बेल्जियमका नागरिकको उद्दार गरिएको छ । उनीहरुलाई जोमसोम हुँदै पोखरा पठाइएको छ ।
थोराङपास क्षेत्रमा भने उद्दार तथा खोजी अभियान सकिएको छ । बाटो सुचारु भएकाले अब अन्यत्र क्षेत्रमा खोजी सुरु गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
हिमपातमा परी मुस्ताङमा हालसम्म १४ जनाको मृत्यु भएको छ । मुक्तिनाथ क्षेत्रमा एक भारतीय र थाराङ पास क्षेत्रमा भेटिएको एक महिलाको शव शनिबार नै काठमाडौं ल्याइएको छ । शनिबार समेत गरी १ सय ५४ जनाको उद्दार गरिएको छ ।
डोल्पामा ७ को उद्दार
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार छार्काबाट शनिबार ७ जनाको उद्दार गरिएको छ । जसमा ७ जना चेक रिपब्लिकका र एक नेपाली छन् ।
प्रतिक्रिया 4