Comments Add Comment

सिनेमा दर्शकका लागि कि फेसबुकका लागि ?

काठमाडौं । प्रविधिको विकाससँगै मानिसलाई नजिक बनाउन सामाजिक सञ्जालको उदय भयो । सामाजिक संजालमा आफ्ना तस्बिर र क्रियाकलाप पोष्ट गर्दै मानिसहरु अपडेट हुन थाले । जसका कारण आफ्ना साथी र आफन्तलाई छिनछिनका क्रियाकलाप देखाउन सजिलो भएको छ ।

विशेषगरी सिनेमा र कलाकारलाई सामाजिक सञ्जालले फिक्का बनाउँदै गएको छ । सामाजिक सञ्जालको महत्व बुझ्न नसकेका कलाकारले फिल्मलाई फिक्का  बनाउँदै लगेका हुन् ।

facebookआजकल फेसबुक तथा ट्वीटरमा कलाकारले फिल्म सुटिङका सबै सिनहरु छिन्छिन्मा अपडेट गरिरहेका हुन्छन् । सायद उनीहरु लाइक र कमेन्टमा मख्ख छन् त्यसको असर फिल्मलाई कति हुन्छ भन्ने थाहा नपाएका हुन् या थाहा पाएर बुझ पचाएका हुन् ?

फिल्मका जानकारहरुका अनुसार फेसबुकले नेपाली सिनेमा र कलाकारलाई सस्तो बनाइदिएको छ । कलाकारहरुको बारेमा कौतुहलता घट्दै गएको छ । गायिका तथा कलाकार कोमल वलीले केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै फेसबुक र ट्वीटरमा अनावश्यक कुरा लेख्दा र तस्बिर राखेकै कारण कलाकारको क्रेज घटेको बताएकी थिइन् ।

सिनेमा र कलाकारको बारेमा दर्शकमा कौतुहलता र मिडियामा खोजी हुनु जरुरी छ । तर, सानो भन्दा सानो दृष्यलाई सामाजिक संजालमा राखेर कलाकार आफ्नो क्रेज घटाइरहेका छन् ।

निर्देशक विकास आचार्य हलिउड र बलिउडमा जस्तै नेपालमा पनि छायांकनमा क्यामेरा बन्देज गर्नुपर्ने बताउँछन् । कलाकारहरुले अनावश्यक रुपमा दृष्यका तस्बिर सार्वजनिक गर्दा दर्शकमा कौतुहलता घटेको उनले पनि स्वीकार गरे । आफ्ना तस्बिरमा सिनेमाको नाम उल्लेख गरेर पोष्ट गर्दा दर्शकमा सकारात्मक सन्देश गएपनि कलाकार अनावश्यक रुपमा एक्सपोज हुँदा सिनेमाको महत्व हराउने उनले बताए ।

बलिउडका कुनै पनि कलाकारका तस्बिर छायांकनका क्रममा सार्वजनिक हुँदैनन् । जसका कारण पनि मिडिया र दर्शक पहिलो पटक सार्वजनिक हुने पोष्टरमा नै उच्च महत्वकांक्षा पाल्छन् । बलिउडका मिडियाले निक्कै लो क्वालिटिका तस्बिर कतैबाट पाएको खण्डमा पनि उच्च महत्व दिएर सार्वजनिक गर्नुको एउटा कारण यही नै हो ।

सुनिल थापा र अक्षय कुमारको किस्सा

हिन्दी सिनेमा ‘मेरी कोम’ मा काम गर्दा चर्चित कलाकार सुनिल थापाले मोबाइल समेत छायांकन स्थलमा लान पाएनन् । कारण, एउटै थियो सिनेमामा कलाकारको भूमिका र लुक्सको बारेमा दर्शकमा कौतुहलता होस् । ‘मेरी कोम’को तस्बिर सुनिलले नेपालका मिडियामा पनि सार्वजनिक गरेनन् । बलिउडका सबैजसो सिनेमाको छायांकन स्थलमा मोबाइल र क्यामेरा प्रतिबन्ध गरिएको हुन्छ । कलाकारका बारेमा सधै नै दर्शक कौतुहलतामा रहुन् भन्नका लागि यसो गरिन्छ । केही समयअघि नेपाल आएका नायक अक्षय कुमारले आफ्नो लुक्सको फोटो खिचाउन मानेनन् । चलचित्र ‘बेबी’मा उनले लगाएको पहिरन र लुक्स फस्ट लुकमा मात्र झल्कियो ।

गोप्यता राख्न जरुरी

सिनेमा प्रदर्शनको समयमा सामाजिक संजालको प्रयोग गर्न नजान्ने धेरै नेपाली कलाकार छायांकनका दृश्य भने एकपछि अर्को गर्दै सार्वजनिक गर्छन् । जसका कारण दर्शकलाई सिनेमाको बारेमा कौतुहलता नै रहदैन । आफ्नो भूमिका र गेटअपलाई क्षणिक लाइक र कमेन्टको मोहमा कलाकारहरु सार्वजनिक गरिदिन्छन् । जसले गर्दा, सिनेमाको फस्ट लुक सार्वजनिक हुँदा त्यसको महत्व नै सकिएको हुन्छ । सिनेमा दर्शकका लागि बनाउने हो, फेसबुकमा चर्चा पाउनका लागि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment