२३ कात्तिक, काठमाडौं । निरन्तर ओरालो लागिररहेको सुनको भाउ आइतबार भने उकालो लागेको छ । स्थानिय बजारमा आइतबार सुनको भाउ तोलामा एक हजार ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको छ ।
पछिल्ला दिनमा सुनको भाउ निरन्तर घटेर गत शुक्रबार तोलाको ४९ हजार रुपैयाँमा झरेको थियो । गत साताभर सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार गत आइतबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार २ सय रुपैयाँ, मंगलबार र बुधबार एक/एक सय रुपैयाँ, बिहीबार ५ सय रुपैयाँ र शुक्रबार एक सय रुपैयाँ घटेको थियो ।
साताको पहिलो दिनमै सुनको भाउ बढेपछि यस हप्ता भाउमा सुधार आउने अनुमान व्यवसायीहरुले गरेका छन् ।
आइतबार सुनको भाउमात्र नभई चाँदीको भाउ पनि उकालो चढेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो । गत शुक्रबार तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी आइतबार ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4