Comments Add Comment

पूर्वाधारमा लगानी बढाउन निजी क्षेत्रले देखायो सक्रियता

jeb press meet (1)
२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले मुलुकमा लगानीको वातावरण निर्माण हुन थालेपछि विदेशी लगानीकर्ताहरु पूर्वाधारमा लगानी गर्न इच्छुक देखिएको दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको सक्रियतामा मंगलबारदेखि राजधानी सुरु भएको ‘नेपाल पूर्वाधार सम्मेलन’ मा बोल्दै महतले पूर्वाधार क्षेत्रमा विदेशी लगानीकर्ता आकषिर्त हुन थालेको बताएका हुन् । पछिल्लो समय ठूला-ठूला परियोजनामा विदेशी लगानीकर्तासँग भएको सम्झौताले लगानीमैत्री वातावरण तयार भएको संकेत दिने उनको भनाई थियो ।

सम्मेलनको ‘आउटलुक एन्ड अपर्चुनिटिज’ सेसनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सरकार विदेशी लगानीकर्ताहरुलाई स्वागत गर्न आतुर रहेको बताए । ‘यो सरकार आएपछि मुलुकको लगानीको वातावरणमा धेरै सुधार भएको छ’ उनले भने- ‘यही कारण पूर्वाधारमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आकषिर्त हुने क्रम बढ्दो छ ।’

भारतीय पूर्वाधार निर्माण कम्पनी जिएमआरसँग अपर कर्णाली जलविद्युत परियोजनाको ‘पीडीए’ हुनु, भारत सरकारसँग विद्युत खरिद सम्झौता (पिटिए) हुनु, आइएफसी र एडीबीले स्थानिय मुद्रामा फण्ड जारी गर्ने स्वीकृत पाउनुले पूर्वाधारमा लगानी बढ्ने संकेत दिएको अर्थमन्त्री महतको भनाई थियो ।

jeb press meet (3)

‘मुलुकको समग्र आर्थिक परिसूचक सबै राम्रो छ, नभएको भनेको लगानीमात्र हो’ महतले भने- ‘यहाँ विदेशी लगानी आकषिर्त हुन नसकेको लोडसेडिङ, मजदुर अवरोध, राजनीतिक अस्थिरता लगायतका कारणले हो, अब सरकारले उद्योगी, मजदुरको सहमतिमा लचिलो श्रम ऐन ल्याउँदैछ, आगामी तीन वर्षमा लोडसेडिङ हट्छ, संविधान बनेपछि राजनीतिक अस्थिरताको पनि अन्त्य हुन्छ, यसो भयो भने स्वदेशी विदेशी लगानीकर्ता आकषिर्त भइहाल्छन् ।’

मुलुकमा ठूला जलविद्युत परियोजना मात्र नभएर तीनवटा एयरपोर्टको स्तरोन्नती गर्ने काम पनि भइरहेको अर्थमन्त्री महतले बताए । ‘भैरहवाको अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल तीन वर्षभित्रमा सञ्चालनमा आउँछ, पोखरा विमानको स्तरोन्नतीको काम छिट्टै प्रारम्भ गर्दै छौं, त्रिभुवन विमानस्थलको स्तरोन्नती गर्ने काम भइरहेको छ, यो पूर्वाधारमा भएको ठूलो लगानी हो’ उनको भनाई थियो ।

फास्ट ट्रयाक तथा टनेल प्रोजेक्टको काम पनि अगाडी बढिरहेको बताउँदै महतले बजेटमा ठूला परियोजनामा लगानी आकषिर्त गर्न आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराएको स्मरण गरे । उनले आर्थिक क्षेत्रसँग सम्बन्धीत अडि्कएर रहेका ऐन तथा कानुन पनि छिट्टै ल्याउन पहल भइरहेको पनि बताए ।

भारतको जवहरलाल नेहरु विश्व विद्यालयका प्रोफेसर एस.डी. मुनीले लगानी आकषिर्त गर्नका लागि ४ वटा कुराहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकभित्र शान्ती, स्थिरता, राजनीतिक दलहरुको कार्यशैली र क्षेत्रीय सन्तुलनले लगानीको वातावरण निर्धार गर्ने उनको भनाई थियो ।

jeb press meet (4)

त्यसैगरि गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्पूर्ण नेपाली धनी भएमात्र नेपाल धनी हुने बताउँदै एक/दुई जना व्यक्ति धनी हुँदैमा त्यसले समग्र नेपालको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

‘आफ्नो देशको विकास आफैले गर्ने हो, कसैले आएर गरिदिदैन’ महतोले भने- ‘नेपालको विकासका लागी हामी सबै नेपाली मिलेर लगानी गरौं ।’ हामी नेपालीले कुरामात्र धेरै गरेको बताउँदै उनले काम गरेर देखाउन नसकेको गुनासो गरे ।

कार्यक्रममा महतोले भारतले खरिद गर्ने ग्यारेन्टी दिएमा आगामी दुई वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने बताएका छन् । नेपालमा उत्पादन भएको विद्युत सबै खपत नहुने हुँदा बजारको निश्चितता चाहिने उनको भनाई थियो ।

राष्ट्रिय योजना आयोजका उपाध्यक्ष गोविन्दराज पोखरेलले नेपाल लगानीका लागि उत्तम गन्तव्य भएको बताए । पछिल्लो समय लगानीको वातावरणमा सुधार आउन थालेपछि उर्जा, सिमेन्ट फ्याक्ट्री, रासायनिक मल कारखाना, तारे होटलमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुको लाइन लाग्न थालेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment