Comments Add Comment

एप क्याम्पका सहभागीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा

Ncell-Aps-Camp-2
२४ मंसिर, काठमाडौं । एनसेल एप क्याम्पका उत्कृष्ट २४ समूहहरुलाई आगामी २५ गते हुने अन्तिम प्रतिस्पर्धाको तयारी गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित एनसेलले एप व्यवसायको दीगोपन, बजारीकरण र मोबाइल प्रविधिको बढ्दो उपयोगिताबारे अन्तरक्रिया गरायो ।

सोल्टी होटलमा मंगलबारदेखि सुरु भएको तीन दिने कार्यक्रमको अन्तिम दिन प्रतिस्पर्धी समूहहरुले आफ्नो एपको नमुना प्रदर्शन गर्दै त्यसको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् । त्यसका लागि उनीहरुलाई ५ मिनेट अवधारणा प्रस्तुति र थप ३ मिनेट एपको नमुना प्रदर्शनका लागि दिइनेछ ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै एप क्याम्प लिथुयनियाका कार्यकारी प्रमुख तथा मोबोफ्री डटकमका सहसंस्थापक टोमस मार्टुनसले नयाँ व्यवसायको दीगोपनबारे चर्चा गरे  । कुनै पनि नयाँ व्यवसायलाई पहिलो ३ महिना टिक्न धेरै कसरत गर्नुपर्ने भन्दै मार्टुनसले त्यस्तो अवस्थाबाट आफ्नो व्यवसायलाई पार लगाउन साथी, परिवार र कम सचेत लगानीकर्ताहरुको साथ खोज्न सल्लाह दिए ।

उद्यमशीलताका फाइदा र बेफाइदाबारे चर्चा गर्दै उनले उद्यमीले आफ्नो व्यवसाय सञ्चालन गर्दा सबै कुरामा आफ्नै नियन्त्रण हुने भए पनि पैसा र समयको अभावले तनाव बढाउन सक्ने बताए । ‘तर यसमा धेरै अवसरहरु पनि छन्’ उनले भने ।

मार्टुनसले नयाँ एप निर्माताहरुलाई उनीहरुले निर्माण गर्ने एपमा त्यस्ता विशेषताहरु समेट्न सुझाव दिए जसका लागि प्रयोगकर्ताले लाखौ एपहरुमध्ये ती एप किन्न बाध्य होऊन् । ‘बजारको मागलाई पहिचान गर्नुहोस् । बजारमा तपाईंले चाहनुभएको जस्तो सेवाको माग नभए आफैं पनि सिर्जना गर्नुहोस्’ उनले भने ।

Ncell-Aps-Camp

त्यसैगरी, मोबाइल एप्लिकेसनको सम्भावनाहरुबारे छलफल गर्दै मोवाइलसम्बन्धी परामर्शदाता टमी अहोनेनले अहिले सबैजसो व्यवसायले मोवाइल प्रविधिको उच्चतम प्रयोग गर्न थालेको बताए । विकास र पहुँचका आधारमा मोवाइल जस्तो अरु कुनै प्रविधि वा उद्योग अघि नबढेको उनको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता मनास्लु सफ्टवेयरका निर्देशक करुण थापाले मोवाइल एपको बजारीकरण गर्दा निर्माताहरुलाई बजारको आवश्यक अध्ययन गर्न र प्रतिस्पर्धा विश्लेषण गर्न सुझाव दिए ।

सर्वाधिक अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एगि्रकल्चर, साथी र दि रिभोलुसन रहेका छन् । कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment