Comments Add Comment

सशस्त्र प्रहरी भर्ना : महिला ३ सय, पुरुष ३ हजार !

Apf-varna

२७ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीको जागिरका लागि पुरुषको तुलनामा महिलाको आकर्षण न्यून देखिएको छ ।

शसस्त्र प्रहरीमा हाल धमाधम भइरहेको भर्ना छनोटमा ३ हजार ५ सय ३ जनाले आवेदन दिएकोमा महिलाको संख्या ३ सय ३७ मात्रै छ । यसमा ४८ जना स्टाफ नर्स छन् ।

सशस्त्र प्रहरीमा विभिन्न दर्जाका लागि १ सय २३ सीटमा भर्ना खोलिएको छ । सशस्त्र प्रहरी नायव निरीक्षक अजय छतकुलीका अनुसार प्रशासनतर्फ ४० जना इन्स्पेक्टर मागिएकोमा ५ सय ३ जनाको निवेदन परेको छ, जसमा महिला २७ जनामात्रै छन् ।

त्यस्तै प्रशासनतर्फ असईको ५० जनाको दरबन्दीमा २ हजार ३ सय ६३ ले आवेदन दिएका छन् । यीमध्ये महिला २ सय २६ छन् ।  प्राविधिकतर्फ इन्स्पेक्टर तहमा १० जना चिकित्सकको दरबन्दी मागिएको छ । यसमा ३६ महिलासहित १ सय ६२ जनाले आवेदन दिएका छन् ।

त्यसैगरी ४ जना स्टाफ नर्स मागिएकोमा ४८ जनाको आवेदन परेको छ । प्राविधिकतर्फ सई र असई पदका लागि दरखास्त आह्वान भई भर्ना छनोट भइरहेको डीएसपी छतकुलीले बताए ।

भर्ना छनोटका क्रममा लिइने सीट अप, पुस अप, चिन अप, विभिन्न दौड पूरा गर्नुपर्छ । यसमा महिलाका लागि केही छुटको व्यवस्था ऐनले गरेको छ ।

‘दलाल भेटिए हटलाइनमा फोन गर्नोस्’

सशस्त्र प्रहरी बलको भर्ना प्रकृयामा यस वर्ष कुनै पनि प्रहरीले उत्तीर्ण गराइदिन भन्दै कुनै सिफारिस नगरेको छतकुलीको दाबी छ । परीक्षा उत्तीर्ण गराइदिने भन्दै दलालले फकाएमा हटलाइनमा फोन गरेर जानकारी दिन सशस्त्र प्रहरी बलले सबैमा आग्रह गरेको छ ।

‘मेरो मान्छेको नाम निकालिदिनुपर्‍यो भन्दै सिफारिस गर्नेको संख्या शून्य भएको छ,’ छलकुलीले भने, ‘कसैले कुनै सिफारिस गरेमा वा भर्नामा खटिइनेले अनियमितता गरेमा कारवाही गरिने महानिरीक्षकज्युले स्पष्ट पार्नुभएको छ ।’

कसैले परीक्षामा उत्तिर्ण गराइदिने भन्दै ठगी गर्न खोजेमा बलको हटलाइन सेवा फो.नं. १११४ -शुल्क नलाग्ने) मा जानकारी गराउन समेत सशस्त्र प्रहरी बलले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

कोही कसैले परीक्षामा उत्तीर्ण गराइदिने भन्दै सम्पर्क गर्न आएमा त्यसमा विश्वास नगर्न तथा कुनै भ्रममा नपर्न परीक्षार्थी एवं जनसमुदायमा प्रहरी बलले आग्रह गरेको छ ।

भर्नामा लोकसेवाको नेतृत्व

आवेदक मध्येबाट भर्ना छनोट सशस्त्र प्रहरी सेवा आयोगले गर्छ । जसमा लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेको लोकसेवा आयोगका सदस्य प्रहरी सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ ।

आयोगमा गृहसचिव तथा नेपाल सरकारले तोकेको अर्का एकजना विशिष्ट श्रेणीका अधिकृत र नेपाली सेनाका विशिष्ट श्रेणीका अधिकृत सदस्य रहने व्यवस्था छ । आयोगमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य-सचिव रहने व्यवस्था सशस्त्र प्रहरी ऐनमा छ ।

एसएमएसबाटै नतिजा

सशस्त्र प्रहरी बलले यस पल्टदेखि नयाँ भर्नाको नतिजाबारे परीक्षार्थीलाई छिटो जानकारी दिनका लागि ‘एसएमएस सर्टकोड सेवा’ समेत सञ्चालनमा ल्याएको छतकुलीले बताएका छन् ।

एसएमएस सेवामार्फत आˆनो नतिजाबारे जानकारी लिनका लागि नेपाल टेलिकमको सीम प्रयोगकर्ताले आरसीटी टाइप गरी आˆनो दर्ता नम्बर उल्लेख गरेर १११४ मा एसएमएस गरेपछि रिजल्ट थाहा पाउन सकिने सशस्त्र प्रहरीले जनाएको छ । साथै आगामी कुन परीक्षा कुन ठाउँमा र कुन समयमा हुन्छ भन्ने पनि सिष्टमले नै तुरुन्त मोबाइलमा जवाफ पठाउने बताइएको छ ।

नतिजाबारे जानकारी लिन एसएमएस पठाउँदा गलत टाइप भएमा सिष्टमले नै म्यासेज पठाई सही टाइप गर्न सहयोग गर्नेछ । नतिजाबारे जानकारी पाउन गरिने एसएमएस करबाहेक एक रुपैयाँ एसएमएस गर्नेको खर्च हुन्छ भने सिष्टमले जानकारी दिँदा कुनै खर्च लाग्दैन ।

चित्त नबुझे तत्कालै उजुरी

परीक्षार्थीले आफू अनुत्तीर्ण हुनाको कारणप्रति चित्त नबुझे त्यसै ठाउँमा सम्बन्धित अधिकृतसमक्ष कुरा राख्न सक्ने सशस्त्र प्रहरी हेडक्वार्टरले जानकारी दिएको छ । त्यसमा पनि चित्त नबुझे निवेदन दर्ता गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment