Comments Add Comment

छालाका जुत्ता बनाउने उद्योगलाई प्रवर्द्धन गरौं

कृष्णहरि बास्कोटा, (पूर्व अर्थसचिव)

नेपालमा छाला उद्योग फस्टाइरहेको छ । छालाका जुत्तामा हामी आत्मनिर्भरतातर्फ अगाडि बढिरहेका छौं । अहिले मुलुकमा ७/८ सय छाला जुत्ता उद्योगहरु सञ्चालनमा छन् । तर, ८० प्रतिशत जुत्ता उद्योग राजधानीमा छन् ।

कृष्णहरि बाँस्कोटा
कृष्णहरि बाँस्कोटा

विश्व व्यापार संगठनको सिद्धान्त अनुसार हामीले स्वदेशी र विदेशी उत्पादनबीच विभेद गर्न मिल्दैन । हामीले नेपालीहरुलाई स्वदेशी उत्पादन नै लगाउनुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।

अहिले सरकारले स्वदेशी वस्तु १० प्रतिशत महंगो भए पनि खरिद गर्नुपर्ने प्रावधान बनाइएको छ । हामीले स्वदेशी उद्योगहरुलाई अनुदान र छुट नदिएको पनि होइन । कुनै पनि उद्योगले कच्चा पदार्थ ल्याएमा हामीले ड्यूटी ड्र ब्याक भन्सार छुट गरिन्छ ।

सरकारले निर्देशिका जारी गरेर कुनै पनि सरकारी कार्यालयले वर्षभरि खरिद गर्ने सामानमध्ये कम्तिमा ५० प्रतिशत स्वदेशी नै खरिद गर्नुपर्छ भनिएको छ । आन्तरिक लेखा परिक्षण हेर्दा यो पाइएन भने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्ने पनि भनिएको छ ।

कुल जुत्ता उद्योगमध्ये करिव ८० प्रतिशत उद्योग राजधानीमा रहेछन् । एउटा निश्चित एरिया छुट्टाएर जुत्ता उद्योग खोल्न सक्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यहाँ एउटा तालिम केन्द्र, अन्य आवश्यक न्यूनतम सेवा सुविधाहरु उपलब्ध गराउन सकिन्थ्यो ।

हामी छालको उत्पादनमा निकै पछाडि परेका छौं । नेपालीहरुको बानी छालालाई मासुकै रुपमा प्रयोग गर्ने भयो । छालामा बोसो र भएभरका सबै रोगहरु हुने भएकाले खान पनि हुँदैन । नेपालमा अर्धप्रशोधित छालामात्र बन्ने गरेको छ । जसले गर्दा रकम कम आउँछ ।

हामीले मासुको कारोबार गर्ने बुच्चरलाई कसरी छाला निकाल्ने भनेर तालिम दिन जरुरी छ । छाला निकाल्दा प्वाल पर्‍यो भने त्यसको उपयोग हुन सक्दैन । छाला काट्दा बाक्लो थिकनेस रहृयो कि रहेन हेर्नुपर्छ । छाला निकालेपछि त्यसलाई कसरी सुरक्षित राख्ने भनेर पनि जान्नु जरुरी देखिन्छ ।

अहिले नेपालमा वाषिर्क ५ करोड जोर जुत्ताहरु बिक्री हुने अनुमान गरिएको छ । त्यसमध्ये ३ करोड जोर नेपाली उत्पादनले थेग्ने गरेको व्यवसायीहरुको भनाई छ । बाँकी विदेशबाट आयातीत जुत्ता बिक्री हुन्छन् ।

व्यवसायीका अनुसार जुत्तामा ३६ प्रकारका कच्चा पदार्थ प्रयोग हुन्छ । यही कच्चा पदार्थका लागि ८० प्रतिशत रकम विदेशीने गरेको छ । यहाँ यस्तो देखिएको छ, पुरुषहरुले नेपाली जुत्ता खरिद गर्ने हुँदा विदेशमा बनेका जुत्ताहरुलाई नेपाली ट्याग टाँसेर बेच्ने, महिलाहरुले विदेशी जुत्ता खरिद गर्ने हुँदा नेपाली जुत्तामा विदेशी ट्याग टाँसेर बेच्ने बिक्री गर्ने गरेको पाइयो । व्यवसायीको यस्तो मनोवृति रोक्नैपर्ने देखिएको छ ।

अहिले स्वदेशी जुत्ता उद्योगमा १५ अर्ब रुपैयाँ लगानी भएको तथ्यांक बाहिर आएको छ । प्रत्यक्ष रुपमा ५० हजार जनाले र अप्रत्यक्ष पनि जोड्दा अढाई लाखले यस क्षेत्रमा रोजगारी पाएका छन् । पोहोरको साल करिव २ अर्ब रुपैयाँ बराबरको नेपाली जुत्ताहरु विदेशमा निर्यात भएको छ । जुत्ता निकासीकर्तालाई आन्तरिक राजश्व विभागले उत्कृष्ट निकासीकर्ता भनेर सम्मान समेत गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २ प्रतिशतका दरले जुत्ता उत्पादन बढिरहेको छ । तर, व्यवसायीहरुले १० प्रतिशतका दरले उत्पादन बढिरहेको दाबी गर्छन् । हाम्रो मुलकमा उत्पादन भएका जुत्ताहरु भारत, बंगलादेश, श्रीलंकामा अलि बढि नै गइरहेको देखिन्छ ।

अहिले जुत्ता व्यवसायीहरुले भारततर्फको निकासीमा पनि २ प्रतिशत क्यास अनुदान दिनुपर्‍यो भन्छन् । अहिले तेस्रो मुलुकमा निर्यात गर्दामात्र २ प्रतिशत क्यास अनुदान दिने गरिएको छ । अहिले स्कार्इ सुज लगायतका कम्पनीहरूले उत्पादन गरेका अल्लोका जुत्ताहरूको निर्यात सम्भवना प्रचुर रहेको छ । अल्लोका जुत्ताहरूलार्इ ब्रान्डिङ गरेर निर्यात गर्नेतर्फ हामी केन्द्रित हुनुपर्छ ।

अन्य जुत्ताहरू विदेशमा समेत पाइने हुँदा अल्लोबाट बनेका जुत्ताहरू विदेशीहरूमा अाकर्षण बन्न सक्छ । यसकाे ठूलाे व्यवसायीक सम्भवना पनि रहेकाे दखिन्छ । नितान्त माैलिक उत्पादनको निर्यातमा सरकार पनि लाग्नुपर्ने मेराे धारणा हो ।

अहिले यस उद्योगमा देखिएको समस्या भनेको लोडसेडिङ र कच्चा पदार्थको आयातमा मोटो रकम खर्चिनुपर्ने बाध्यत्मक अवस्था हो । राष्ट्र बैंकको चार महिनाको तथ्यांक हेर्दा हामीले २९ अर्बको कुल बस्तुहरु निकासी गर्न सक्यौैं भने २ सय ५६ अर्बको आयात गरिसकेका छौं । यसले के देखाउँछ भने यस वर्ष पनि ९० अर्बको निकासी हुने, ८ सय अर्बको आयात हुने देखिन्छ ।

जुत्ता उद्योगको प्रवर्द्धन गर्न सकियो भने निर्यात बढाउन सकिन्छ कि भन्ने आशा छ । जुत्ता व्यवसायीहरु कच्चा पदार्थको भन्सार मूल्य घटाउनुपर्‍यो भनिरहेका छन् । अहिले तयारी जुत्ता आयात गर्दा भन्सार २० प्रतिशत र कच्चा पदार्थमा १५ प्रतिशत भन्सार तिर्नुपर्छ । व्यवसायीहरुको यसको स्प्रेड दर १५ प्रतिशत हुनुपर्‍यो भन्ने कुरा उठाइरहेका छन् ।

उनीहरुले जुत्ताको भन्सार २० प्रतिशत कायम गरि कच्चा पदार्थको ५ प्रतिशतमा झार्नुपर्‍यो भनेका छन् । अहिले यसको कच्चा पदार्थबाट २०/२२ करोड रुपैयाँमात्र उठेको पाइन्छ । यति रकमका लागि अबौर्ं ट्रान्जेक्सन हुने अवसर नगुमाउन उनीहरुको सरकारसँग माग छ ।

नेपाली यूवाहरुलाई जुत्ता बनाउने तालिम दिएर लगानी गरिदिने हो भने स्वरोजगार पनि सिर्जना हुन्थ्यो । अहिले रोजगारीका लागि दैनिक १५ सय यूवाहरु विदेशिने गरेको पाइन्छ । जुत्ता उद्योगमा आकर्षण बढाउन सकेमा विदेशीने यूवाहरु रोक्न सकिन्छ ।

अहिले युवा डिजाइनलाई मुख्य प्राथमिकतामा राख्ने गर्छन । नेपालमा पनि करिव ८ सय डिजाइनका जुत्ताहरु उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन् । अल्लोको जुत्ता पनि बिक्री हुन थालेको छ । यसले पूर्ण नेपालीपन पनि झल्काउँछ ।

व्यवसायीहरुले सामूहिक व्यापार चिन्ह लिएपछि यसको प्रवर्द्धन हुने देखिएको छ । यसले निकासी पनि बढाउन सहयोग पुग्ने देखिन्छ । सरकारले पनि विभिन्न देशमा ट्रेडमार्क दर्ता गर्नका लागि सहयोग गर्नुपर्छ । सामूहिक व्यापार चिन्हको प्रचारका लागि पनि सरकारले केही रकम खर्चनुपर्छ जस्तो लाग्छ ।

नेपाली छाला अति राम्रो भएकाले आन्तरिक उडान गर्ने जहाजका सीट नेपाली छालाबाटै बनाउन थालिएको छ । यति र बुद्ध एयरका जहाजहरुको सीट पनि नेपाली छालाबटै बनाएको पाइएको छ ।

अहिले स्कुल कलेजका अधिकांश विद्यार्थीहरुले स्वदेशी जुत्ता प्रयोग गर्न थालेका छन् । सेना प्रहरी र निजामती कर्मचारीमा पनि नेपाली जुत्ता अनिवार्य गर्नुपर्छ । यसो गर्न सकेमा एउटा वस्तुमा भएपनि आत्मनिर्भर बन्न सकिन्छ । सिमेन्टतर्फ पनि हामी आत्मनिर्भर बन्दै गइरहेका छौं ।

भारतसँग भएको सन्धीअनुसार ३० प्रतिशत भेलु एड नभएसम्म अनुदान दिन मिल्दैन । अन्य मुलुकमा २० प्रतिशत भेलुएड भएपनि मान्यता दिएको छ । अहिले सर्टिफिकेट अफ अरिजन जारी गर्ने अधिकार पनि निजी क्षेत्रलाई दिएका छौं । हामीले करको दर २५ प्रतिशत भएपनि उद्योगको हकमा २० प्रतिशत र निकासीजन्य उद्योगको हकमा १५ प्रतिशतमात्र कायम गरेका छौं ।

उद्योग स्थापन गर्दा पनि धेरै सुविधा दिइएको छ । सरकारको प्रयास पनि निर्यात बढाउनेतर्फ छ । भारततर्फ जुत्ता निकासीमा २ प्रतिशत नगद अनुदान दिनुपर्छ, यसको भन्सार दर घटाउनुपर्छ, नेपालमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने वातावरण बनाउनेतर्फ सरकारले तत्कालै ध्यान दिनुपर्छ ।

गुणस्तरीयता कायम गर्नेतर्फ व्यवसायी सतर्क रहनुपर्छ । जुत्ता उत्पादन गर्दा गुणस्तर तथा नापतौल विभागबाट एनएस चिन्ह अनिवार्य लिनुपर्छ । कैयौं उद्योगले अझै पनि एनएस चिन्ह लिएका छैनन् । अर्को कुरा ग्यारेन्टी र वारेन्टी पनि दिनुपर्छ । गुणस्तरीयता कायम गर्न सकेमा उपभोक्ताको मन सजिलै जित्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment