Comments Add Comment

ओली, उखान टुक्का र आलुसँग ‘सुवास सम्बन्ध’

मात्रिका पौडेल

धेरैलाई थाहा नहुन सक्छ, भद्र स्वभाव र तौलिएर बोल्ने सुवास नेम्वाङ ‘सिरियल जोकर’ हुन् ।

सिरियल जोकर अर्थात केपी ओलीजस्तै धारा प्रवाह उखान टुक्का हालेर हँसाउन खप्पिस नेता हुन् नेम्वाङ पनि । 

matrika-poudel‘तर, पछिल्लो समयमा उखान टुक्काको कपीराइट केपी ओली र चित्रबहादुर केसीले लिइसके, तपाई त पछि पर्नुभयो नि ?’ यसो भन्दा हँसमुख नेम्वाङ ‘उहाँलाई त कसले भेट्ने र अहिले’ भन्दै मुस्काउँछन् ।

नेम्वाङले भनेका ‘उहाँ’ केपी ओली हुन् । एउटै पार्टी, एउटै स्कुलिङ, पार्टीभित्रको राजनीतिमा एउटै बिचार समूह र निर्वाचन क्षेत्र पनि जोडिएका कारण नेम्वाङ र ओलीको घनिष्ठता धेरै मान्छेले सोचेभन्दा राम्रो छ ।

संविधान निर्माणका सन्दर्भमा पनि ओली के चाहन्छन् र उनको भित्री बटमलाइन के हो भन्ने संविधानसभा अध्यक्ष नेम्वाङलाई राम्रोसँग थाहा छ ।

त्यसैले त नेम्वाङ भन्छन्-‘उहाँको उखान टुक्काले पनि प्रष्ट सन्देश दिइरहेको हुन्छ ।’

अघिल्लो संविधानसभाका सभाध्यक्षको भूमिकाको ब्यापक आलोचना भएकाले यसपटक नेम्वाङ नयाँ भूमिकामा देखिन खोज्दैछन् । उनी शीर्ष नेताले सहमति गरेनन् भनेर चुप लागेर पर्खिने मुढमा छैनन् ।

त्यसैले यसैसाता नेम्वाङले सहमति नभए संविधानसभाले आफ्नो प्रक्रिया शुरु गर्छ भन्दा उनको अभिव्यक्तिलाई सत्तारुढ र विपक्षीले आ-आफ्नो अनुकूल व्याख्या गरिरहेका छन् ।

आफ्नो अभिव्यक्तिलाई लिएर दलहरुले आफू अनुकूल व्याख्या गरिरहेका बेला नेम्वाङ भने आफू ‘बाथरुम गायक’बाट ‘स्टेज गायक’ बनेको विम्ब प्रयोग गर्छन् ।

‘बाथरुम सिंगरको कुनै चर्चा हुँदैन, तर स्टेजमा उत्रिएर गाएपछि त्यसको राम्रो नराम्रो सबै ब्याख्या हुन्छन्’ नेम्वाङ भन्छन्-‘मैले स्टेजमा उभिएर भनेको कुरा हो, त्यसमा सबैलाई समर्थन र आलोचनाको छुुट छ ।’

नेम्वाङ यसपटक आफ्नो ‘स्टेज परफरमेन्स’ दर्शकको रुची अनुसारकै गर्न खोजिरहेका छन् । तर, दुई विपरीत धाराका वाद्यवादक र दर्शक रहेको स्टेजमा उनको प्रस्तुति जति गरे पनि सबैलाई मन पर्ने नहुन सक्छ ।

यद्यपि अर्को विकल्प नभएकाले उनले स्टेजमा स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने सम्भावना बढेको छ । ‘हर्स सिटबाट सबै कुरा जनतालाई सुनाउनुपर्छ, यदि स्वविवेक प्रयोग गर भन्छन् भने त्यसका लागि तयार छु’ सभाध्यक्षको ‘हर्स सिट’मा बसेका नेम्वाङ भन्छन् ।

हर्स सिटमा बसेका नेम्वाङले कस्तो भूमिका खेल्छन् भन्ने अहिलेसम्म खुलेको छैन । तर, दलहरु सहमत नभएसम्म उनले जे जस्तो भूमिका खेले पनि सर्वस्वीकार्य संविधान बन्न नसक्ने निश्चित छ ।

यसपटक सभाध्यक्ष नेम्वाङ विगतको आफ्नै भूमिकाका कारणमात्र होइन, सभासदहरुबाटै पनि दबावमा छन् । यसपटक सभासदहरु संविधान बनाउन नसकेको कलंक बोकेर जनतामा जान चाहँदैनन् ।

जेलमा ‘आलु’ प्रकरण

सबैतिरको दबाव झेलिरहेका नेम्वाङले विद्यार्थी आन्दोलनका बेला जेल बस्दाको एउटा रमाइलो घटना सम्झिए । भद्रगोल जेलमा केपी ओली पनि थिए ।

जेलमा जाने युवाहरु बोलिपिच्छे छाडा शव्द प्रयोग गर्थे । ओलीसहितका केही नेताले नियम बनाए- एकपटक छाडा बोल्नेलाई ५० पैसा जरिवाना ।

धेरैले जरिवाना तिरे पनि नेम्वाङ परेका थिएनन् । तर, जेलबाट छुट्ने बेलामा उनले एकजना साथीलाई ‘कस्तो आलुजस्तो कुरा गर्छ’ भनेछन् ।

त्यसपछि ‘आलु’ शब्द फोहोरी हो कि होइन भन्ने बहस चल्यो । अन्ततः यसलाई चाहिँ किन जरिवाना नतिराई घर पठाउने भनेर ‘आलु’ भने वापत नेम्वाङलाई ५० पैसा तिराएछन् ।

नेम्वाङका लागि अहिले त्यस्तै बेला आएको छ ।

नेम्वाङले अहिले जतिसुकै राम्रो कुरा गरे पनि, सहमतिका शब्द बोले पनि पक्ष-विपक्षमा बाँडिएकाहरुले उनका शब्दलाई ‘आलु प्रकरण’ जस्तै बनाइदिने खतरा छ ।

वास्तवमा आलु भनेको जुनसुकै परिकारमा पनि मिसाउन मिल्ने र सहजै मिसिने शब्द हो । नेम्वाङले आफ्नो भूमिकाबाट अहिलेसम्म सबैलाई आलुले जस्तै सन्तुष्ट राख्न सफल भएका छन् ।

सायद त्यसकै विश्वासस्वरुप उनले अब माघ ८ लाई तर लगाउन स्वविवेकीय अधिकार पाउनेछन् । त्यसपछि उनले आलु भएवापत जरिवाना तिर्न पर्छ कि पर्दैन, रोचक प्रतिक्षाको विषय हो ।

र, अन्तमाः सुवास नेम्वाङले आफ्नो नाममा दन्ते ‘स’ मात्रै किन प्रयोग गर्छन् ? यसमा कुनैबेला साहित्यकार ताना शर्मालगायतले थालेको झर्रोवादी आन्दोलनको प्रभाव छ ।

झर्रोवादी अन्दोलनका बेला तारानाथ शर्माहरुले तालब्य ‘श’ र पेटफारो ‘ष’ लाई बाहिस्कार गर्ने र दन्ते ‘स’ मात्रै प्रयोग गर्ने अभियान चलाएका थिए ।

समयक्रममा शर्माहरु त्यसमा अडिन सकेनन् । तर, नेम्वाङ भने आज पर्यन्त दन्ते ‘स’का एकल प्रयोगकर्ता बनेका छन् । आफूलाई लागेको कुरामा अडिन सक्ने उनको स्वभाव संविधान निर्माणमा प्रयोग होला कि नहोला ? आखिर संविधानको ‘स’ पनि दन्ते ‘स’ बाटै त शुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment