Comments Add Comment

परोपकारी काममा एक अर्ब खर्चिने शेष घलेको घोषणा

MIT Foundation  (1)

२४ पुस, काठमाडौं ।  गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले नेपालमा परोपकारी कामका लागि एक अर्ब रुपैयाँ खर्चिने घोषणा गरेका छन् ।

एमआईटी ग्रुप फाउन्डेसनमार्फत् नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी कोषको घोषणा गरिएको हो । निजी क्षेत्रबाट यति ठूलो परोपकारी कोष घोषणा भएको नेपालमा सम्भवतः यो नै पहिलो हो ।

बिहीबार काठमाण्डौ आयोजित पत्रकार सम्मेलनमा घले दम्पत्तिले आफ्नो कठिन जीवनयात्रा सुनाउँदै भोलीको पुस्ताले त्यस्तो दुःख खेप्नु नपरोस् भनी सहयोगका लागि बृहत खाकासहित आएको बताए ।

‘हाम्रो जीवनकालमा समाजबाट जे पायौं त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्नु पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन ।’ कोषको घोषणा गर्दै संस्थापक घलेले भने ।

MIT Foundation  (2)

यो कोषमार्फत् नेपालका दुर्गम गाउँका बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने र बिद्यालयको भौतिक पूर्वाधारमा समेत सहयोग गर्ने घलेले जानकारी दिए ।

यसैगरी आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण क्षेत्रका न्यून आय भएका मानिससम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनसमेत यो कोषको रकम खर्च गरिने फाउन्डेसनकी संस्थापक जमुना गुरुङले बताइन् ।

‘हामीले आफ्नै नाममा बेग्लै स्कूल वा अस्पताल खोल्न खोजेका हैनौं’ घलेले भने- ‘अहिलेको सरकारी संरचनामा जहाँ-जहाँ अभाव छ, जहाँ सहयोग गर्दा धेरैभन्दा धेरै समुदायले लाभ लिन सक्छ त्यहीँ सहयोग गर्ने हो ।’

एमआईटी फाउन्डेसनको स्थापनासँगै काठमाण्डौंमा यसको संरचना निर्माणको कार्य सुरु भएको छ । संरचना निर्माणपछि एमआईटी फाउन्डेसनका बिज्ञ समूहले सहयोग जरुरी रहेका अत्याबश्यक परियोजनाहरुको पहिचान गरी कार्य थाल्ने छ ।

भिडियो

 

एमआईटीको अभियानलाई अझै बृहत बनाउन रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमालो गर्न चाहेको खण्डमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने संस्थापकद्वय घले र गुरुङले बताए ।

बिल गेट्स र मेलिन्दा गेट्स फाउन्डेसनको उदाहरण दिँदै उनले घलेले एक तहमा काम सम्पन्न भएपछि सहयोगी संस्थाहरुसँग पनि हातेमालो गरिने बताए । तत्कालका लागि एक अर्ब रुपैयाँको कोष भए पनि भोलीका दिनमा यसको आकार बढाउँदै लैजाने उनले जानकारी दिए ।

‘एक अर्ब रुपैयाँ खर्च गर्न त्यति गाह्रो छैन तर, यसलाई लक्षित समुदायमा पुर्‍याएर परिणामुखी काम गर्नु चुनौतीपूर्ण छ’ घलेले भने- ‘यो घोषणासँगै हामीले चुनौती स्वीकार गरेका छौं ।’MIT Foundation  (3)

करिव दुई दशकदेखि अष्ट्रेलियामा ब्यबसाय गरिरहेका घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङ्समार्फत् शिक्षा, पर्यटन र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुकै लगानीमा केही समयअघि मात्र नेपालमा करिव ८ अर्बर् रुपैयाँको लागतमा शेराटन काठमाण्डौ होटल निर्माण सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment