Comments Add Comment

फेसबुकका भित्तामा गगन थापादेखि सुवोध प्याकुरेलसम्म

४ माघ, काठमाडौं । मानवअधिकारवादी आन्दोलनका अगुवा सुवोधराज प्याकुरेललाई एमाओवादी अध्यक्ष प्रचण्ड, नागरिक अगुवा पद्मरत्न तुलाधर र मधेसवादी नेता विजय कर्णको भनाइप्रति निकै चित्त दुखेछ । उनले आफ्नो फेसबुकमा ‘उत्पात गरे पुष्पकमल दाहालले’ शीर्षकमा सानो-सानो लेख नै पोष्ट गरे ।

कांग्रेसका युवा सभासद गगन थापालाई चाँहि शनिबार संविधानसभामा एमाओवादी नेता हरिबोल गजुरेलले बोलेको पटक्कै चित्त बुझेनछ । उनले संविधानसभाको साटो फेसबुकबाटै गजुरेललाई जवाफ फर्काए ।

रत्नपार्कका पद्मरत्न तुलाधरको कार्यक्रममाथि प्रहरीले गरेको हस्तक्षेपको विरोध गर्ने भूमिकाचाँहि मानवअधिकारकर्मीको पहिचान नभए पनि आदिवासी-जनजाति नेता बालकृष्ण माबुहाङले जिम्मा लिए । माबुहाङले राज्यको मेसिनरीमा जातीय विद्वेष देखिएको र शान्तिपूर्ण कार्यक्रमसमेत गर्न नदिएको गुनासो फेसबुकबाटै पोखे ।

नेपालको राजनीतिमा चर्को ध्रुवीकरण भइरहेका बेला फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत त्यस्तै ध्रुवीरकण देखिन थालेको छ । हेर्नुहोस् केही दृष्टान्त :

उत्पात गरे पुष्पकमल दहालले
-सुवोधराज प्याकुरेल

उत्पात गरे पुष्पकमल दहालले । नागरिक समाजद्वारा डाकिएको अन्तरसम्वादमा उनले भने ” सके आजै साँझबाट, नभए भोलि बिहान देखि भीडन्त हुन सक्छ ।”

एमालेप्रति उनको आsubodhक्रोश थियो “घोषणापत्रमा लेखेको शासकीय स्वरुपबाट तर्केर धोका दिने अधिकार एमालेलाई छैन ।”

पद्मरत्न मक्मकाएर रोए,”त्यत्रो आन्दोलनका बेला हामीलाई घरिघरि नेताहरु सम्झिन्थे, मैले वामदेवले पार्टी फोड्दासमेत साथ दिएको, अहिले सम्झँदा पनि सम्झिँदैनन् ।”

विजय कर्णको आक्रोश घनघोररुपमा प्रकट भयो “डिप्लोमेटिक पासपोर्ट लिएर आएको मलाई ईमिग्रेसनमा हिन्दीमा भन्यो, आप उधर जाइए । “निजी समस्या र कुनै नालायकले गरेको ब्यवहारको साटो फेर्न कसैलाई बेग्लै राज्य चाहिएछ । कसैलाई ध्वाँस दिन सम्बिधान जलाउनुपर्ने भएको रहेछ । कसैलाई लाग्दोरहेछ, नेपाली जनता यति मूर्ख छन् कि सम्विधानमा लेखेपछि सारा कुरा भरिपूर्ण हुन्छ भनेर पत्याउनेछन् ।

कुरा सम्बिधानको होइन, ब्यवहारको हो । वास्तविक परिभाषाको हो । कानून छ । तर, व्यवहार न्यायसंगत छैन । यसकारण छैन कि तदनुरुपको संस्कार छैन। सरकारमा, जागिरमा खोइ मेरो जातको ?  भनेर खोज्नेहरु त्यस्ता पनि थिए, जो आफै आफ्ना संगठनलाई चाहेजस्तो बनाउन नसकेर थलिएका छन् ।

संस्था चलाउनेहरुले नचाहेर होइन, नपाएर ” उपल्लो ” जातकालाई काममा राख्नु परेको छ ।

मानिस स्वाभिमानी र स्वतन्त्र प्राणी हो । मान्छेको जात भन्नू नै मान्छे मात्र हो, अरु केही होइन । रगत चल्नेको पानी नचल्ने भन्नेहरु मूर्ख हुन्। हरेक समुदायमा हेला होचो गर्ने खराब चलन छ। सबै भाषा, संस्कृतिको उदय सहिष्णुता र सदभावका लागि भएको हो । भेदभाव, हेलाँ होचो गर्नुहुन्न भन्ने बुझेकाहरुले कानुन बनाए। तर, भ्रममा रहेकाले तदनुरुप बानी फेरेनन् ।

आज यतिका ठूला कुरा गर्नेहरुले भेदभाव हटाउन जरामा काम गरेको, पछाडि पारिएकाहरुमा प्रतिस्पर्धी क्षमता बढाउन योगदान दिएको, राज्यका निकायलाई सम्वेदनशील बनाउन संलग्न रहेको सुसमाचार पनि पाएको भए मजा लाग्ने थियो । सायद त्यो ब्यहोरा सुनाउने समय थिएन । अथवा अहिलेको तातो बजार आक्रोशको छ । त्यसैले होला कर्णजीले तर्साउन खोजे “लौ त ल्याओ जबरजस्ती संविधान, म विजय कर्णले त्यसलाई सल्काइदिन्छु ।”

सल्काउने, भत्काउने, सिध्याउने कुरा मनग्ये पेसियो । हुँदाहुँदा बाटोले बिकाश हुँदैन पनि भनियो । त्यसो भए, केकेले हुँदोरहेछ बिकास ? जेबाट हुन्छ समतामयी विकाश, त्यही गरौँ ।

कृपया धम्क्याउन छोड्नोस् । विकल्प सबै नेपालीलाई बताइदिनुस् । राम्रो कुरा नपाएर आत्तिएकालाई तर्साएर कुनै फाइदा छैन । र, आत्तिनुको अर्थ डराउनु होइन । जनता डराएका छैनन् ।
OOOOO
Balkrishna-Mabuhangमेरो खुल्लापत्र  आदिवासी जनजातिहरुलार्इ !
-बालकृष्ण माबुहाङ
नेपाली राजनैतिक इतिहासमा आफ्नो बुलन्द आवाज उठाउने जमातको हार कहिल्यै भएको छैन नत २००७ मै भयो न त २०१७ सालमा नै भयो, न त २०४६ मा नै भयो, न त २०६२-२०६३ को आन्दोलनलाई कसैले रोक्न सक्यो ? तानाशाह चिन्तनको हार नै हार भएको छ नेपालमा ।

आजको प्रसङ्ग भनेको आदिवासी जनजातिहरुको बुलन्द आवाज हो ! यो आवाजलाई कसैले रोकेर, दमन गरेर, धरपकड गर्दैमा पहिचानको मुद्दा विलय हुने छैन र विलय हुन दिने छैनन् आदिवासीहरुले । मेरो एउटा ऐतिहासिक बिश्वास हो यो ।

आउनुहोस् तमाम मुलबासीहरु हो ! आफ्नो पहिचानको निमित्त आन्दोलित बन्नुहोस् आफ्नै आफ्नै आदिवासी बस्ती-बस्तीबाट ।
अरुको पहिचानका लागि बिश्वमा गएर लड्न सक्ने हामी आदिवासी अब आफ्नो पहिचानका लागि बलीको बोका हुन आउनुहोस् आफ्नो पहिचान बचाउनुस ! धरपकडमा लामवद्द लाग्नुहोस् । कतिजनालाई थुनेर साध्य हुँदोरहेछ,  हेरौं ।

पहिचानको आन्दोलनका खातिर बलीको बोका बन्न तयार छु म, मर्न तयार छु म, तर आदिवासी जनजातिको पहिचान बाँचिरहोस् सदासदाका लागि । मेरा तमाम आदिवासी जनजातिहरुमा आन्दोलित अभिवादन सहित । सेवारो ।

शान्तिवाटिका, रत्नपार्कमा जे देखियो

अपेक्षाकृत सहभागितामा कमी । शान्तिपूर्ण सभा सम्पन्न हुने आयोजक तथा सहाभागीहरूको विश्वासका कारण प्रहरी हस्तक्षेप हुने आसङ्का सायदै थियो । तर, वीचवीचमा प्रहरी र कोही (?) सहभागी वीच, सामान्य तनावहरू देखिन्थ्यो । के भएको भन्दा कसैसँग प्रस्ट जवाफ थिएन।

तर, मेरो बुझाइमा कार्यक्रममा सहभागी भर्इ केही भिजिलान्तेहरु र प्रहरीवीच एक प्रकारको सुनियोजित तनाव अघिदेखि नै सिर्जना भैरहेको देख्न सकिन्थ्यो । जब पद्मरत्न तुलाधरले बोल्न थाल्नुभयो, तनाव झनै बढाउन थाल्यो । प्रहरीमाथि कसैको पनि अनावश्यक हस्तक्षेप गर्ने कसैको विचार नभए पनि अवस्था असहज बनाएर पक्राउ गर्न थाल्यो । वीचमा के गर्ने, असहज स्थिति बन्यो । विशेषतः युवा, र रातो कपडामा विभिन्न नारा लेखिएको, स्वयमसेवकहरुलाई भटाभट पक्राउ गर्न थाल्यो ।

यसरी पक्रिँदा आन्दोलनकारीले साथीहरू खोस्ने काम पनि भएन । छानी, छानी, पक्रेर लग्न थाल्यो । मेरै अङि सालोपाको झण्डा बोकेर हिँडिरहेका प्रेम बरामुलाई जवरजस्ती तानेर लग्यो ।

पद्मरत्न तुलाधर ज्युले कसैलाई नपक्डन, बरु आफूलाई पक्डेर लग्न, कसले शान्तिपूर्ण सभा सम्मेलन गर्नेलाई पक्डने आदेश दियो ? आदि प्रश्नहरू कडा स्वरमा मञ्चबाट सोधिरहनुभएको थियो ।

प्रहरीहरू संयम देखिन्थे । तर पुन: कसैले न कसैले उनीहरूलाई उत्तजित गरे जस्तो, आक्रमण गरेजस्तो स्थिति सिर्जना गरी धरपकड गर्ने जस्तो देखिन्थ्यो ।

उनीहरूले कार्यक्रममा कुनै आपत्तिजनक वा गैह्र कानुनी काम भएको भए आयोजकसँग राम्ररी सोध्न, बुझ्न सक्थे, तर त्यो चेस्टा उनीहरूको देखिन्नथ्यो । अलि उत्तेजित जस्तो, प्रहरीहरू आफै देखिन्थे। सुनियोजित जस्तो लाग्ने।

यतिकैमा मञ्चबाट आङ्काजीले सबैले पक्राउ दिने, उदघोष गरे । निर्देशक समितिका मित्रहरुलाई पक्राउ दिन सूचना दिँदै भने- प्रहरीहरूलाई आक्रमण नगर्न पनि माइकबाट निर्देशन दिए ।

यो घटना देख्दा:
– शान्तिपूर्ण विरोध, र सभा सम्मेलन पनि गर्न नदिने सोच राज्यको देखिन्छ ।
– राज्यको मेसनरीहरुमा एक प्रकारको जातीय द्वेश प्रकट वा अप्रकट व्यक्त भएको देखिन्छ ।
– आन्दोलनका कार्यक्रमहरू देखावटी नभर्इ परिणाममुखी कसरी बनाउने ध्यान दिनुपर्ने हो की ?
– आन्दोलनलाई भिजिलान्ते वा घुसपैठबाट कसरी जोगाउने ?
– आन्दोलनमा सहभागी हुन जानपूर्व घट्न सक्ने घटनाहरूको पूर्वमूल्याङ्न गरी त्यसअनुसारको आवश्यक तयारी गर्नु राम्रो ।
– पक्राउ दिनु पनि आन्दोलन हो, तर कतिले पक्राउ दिने ? मास एरेष्ट हो कि खास खास मान्छेले एरेष्ट दिने ?  कार्यक्रमपूर्व योजना बनाउनुपर्छ होला ।
– एरेष्ट गरेर कुनै साथीलाई लग्ने प्रहरीसँग आफ्नो साथीलार्इ लग्न नदिने, शान्तिपूर्ण ‍प्रतिवाद गर्ने, साथीलाई खोस्ने या के गर्ने ? तयारी हुनु आवश्यक छ।
– आन्दोलनको नेतृत्व कसले कसरी गर्ने भन्ने विषय तयारी हुनु जरुरी छ  । कसको आदेश मान्ने ?  आदि……

gaganthapa ” एमाओवादीको भिष्मप्रतिज्ञाको सम्मान”
-गगन थापा
संविधानसभाको हिजोको बैठकमा एमाओवादी नेता हरिबोल गजुरेलले भन्नुभयो “एक वर्षमा संविधान नबने के हुन्छ ? पहाड खस्छ ?

मैले वहाँलाई वहाँकै भिष्म प्रतिज्ञा सम्झाएँ “नयाँ संविधानसभा गठन भएको ६ महिना भित्र हामी संविधानका बाँकी रहेका मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गर्ने कोशिश गर्नेछौं । सहमति कायम हुन सकेन भने हामी संविधानसभाको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाहरूको टुङ्गो लगाउने छौं र एक बर्षभित्र हामी तपाईलाई नयाँ संविधान दिनेछौं । यो हाम्रो भिष्म प्रतिज्ञा हो ।” ( माओवादी घोषणापत्र )

नेता गजुरेलले भन्नुभयो, मतदानको कुरा गरेर संविधानसभा भाँड्न नखोज्नुस्, मैले फेरि वहाँकै घोषणापत्रको अंश पढेर सुनाएँ “वेलैमा सहमति हुन नसकेका विषयहरूमा संविधानसभाको प्रक्रिया अनुसार मतदानद्वारा टुङ्गो लगाउँदै संविधान निर्माणको कार्य अघि बढाउनुपर्थ्यो । तर, बढो आदर्शवादी तरिकाले अन्तिम घडीसम्म सहमतिको एकल मार्गमा लागिरहनु परिवर्तनकामी शक्तिहरूको पनि भयङ्कर गल्ती र कमजोरी रहन गयो । हाम्रो पार्टी सो कमजोरीका लागि गम्भीर आत्मालोचना गर्दछ र आगामी दिनमा त्यस्तो कमजोरी हुन नदिन दृढ प्रतिज्ञा गर्छ।”

नेताले दिक्क मान्दै भन्नुभयो-मतदानबाट टुंग्याउँछु भन्नुभन्दा पहिला एकपटक नियमतर्फ त ध्यान पुर्याउनुस् । मैले माओवादी आफैं संलग्न भएर बनाएको नियमावलीका आधारमा बनाइएको कार्यतालिकाको ४ नं वुँदामा पढेर सुनाएँ ‘राजनीतिक दलहरूका विचमा मतभिन्नता रहेका बिषयमा सहमति कायम गर्ने, छलफलमा उठेका नयाँ विषयहरू पनि सहमति गराई समावेश गर्ने । सहमति हुन नसकेमा पुनःनिर्णयार्थ संविधानसभामा प्रतिवेदन पेश गर्ने । सहमति हुन नसकेमा प्रक्रियामा जाने ।’ अनि मैले भनें, कमरेड तपाईंले नगरे पनि कम्तिमा हामीलाई त तपाईंको भिष्मप्रतिज्ञाको सम्मान गर्न दिनुस् !

kumar lingdelहामी आत्मसमर्पण गर्दैनौं
कुमार लिङ्देन, लिम्बुवान अध्यक्ष

संसारभर रहनुभएका लिम्बुवानी, नेपाली दाजुभाइ दिदी बहिनीहरु, जे जस्तो व्यस्तता वा जीवनको जेजस्तो मोडमा रहनुभए पनि आफ्नो अस्तित्व, पहिचान र नेपालमा चलिरहेको पहिचानको आन्दोलनका बारेमा एकछिन समय निकालेर सोच्ने, लेख्ने, बहस गर्ने गरौं ।यो सामुहिक (राष्ट्रिय मुक्ति) आन्दोलन हो । सबैजनाले हातेमाले गर्दामात्र सम्भव हुन्छ । यहाँ नेपालमा लिम्बुवानमा हामी नेपाल बन्द, लिम्बुवान बन्दका लागि जुटिसकेका छौं । सबै समितिहरुले आआफ्नो तयारी गरिरहेका छन् ।

हामीले भन्यौ नि, हामी झुक्ने/आत्मसमर्पण गर्ने, थाक्ने, निराश हुने, डराउने, भाग्ने मनस्थितिमा हिजो थिएनौं, आज छैनौ र भोलि हुने छैनौं । जुन दिनसम्म हामीलाई असफल बनाउन षडयन्त्र खेलिरहन्छ यो राज्य सत्ता, त्यो दिनसम्म यो राज्य सत्तालार्इ पनि सफल हुन दिन्नौं । यो हाम्रो कसम हो । जय लिम्बुवान,संघीय अभिवादन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment