+
+

राष्ट्रपतिले भने-म कांग्रेस र एमालेलाई सम्झाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १८:००

२३ माघ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सबैले मिलेर सहमतिका आधारमा संविधान बनाउनुपर्ने बताएका छन् । यसका लागि राष्ट्रपतिले कांग्रेस र एमालेका नेताहरुलाई सम्झाउने भएका छन् ।

Rambaran & Prachanda

‘सबैले मिलेर सहमतिका आधारमा संविधान बनाउनुपर्छ, यसका लागि सबैले लचकता अपनाउनुपर्छ’ राष्ट्रपति डा. यादवले शुक्रबार एमाओवादी नेताहरुसँगको भेटमा भने-‘मैले कांग्रेस र एमालेलाई पनि यो कुरा भनेको छु, तपाईहरु पनि वार्तामा बस्नुपर्छ ।’

राष्ट्रपति डा. यादवले शुक्रबार बिहान एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शीतलनिवासमा छलफल गरेका थिए । छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधानसभाबाट सहमतिका आधारमा संविधान बनाउने पक्षमा रहे पनि कांग्रेस र एमाले बलजफ्ती प्रक्रियामा गएको गुनासो गरेका थिए ।

जवाफमा राष्ट्रपतिले यसबारे आफूले कांग्रेस र एमालेका नेतालाई सम्झाउने आश्वासन दिएको स्रोतले अनलाइनखबरलाई बतायो । राष्ट्रपति प्रेस सल्लाहकार राजेन्द्र दाहालले पनि राष्ट्रपतिले आफूले आफ्नो भूमिका निभाउने र सबैलाई सम्झाउने बताएको जानकारी दिए ।

गलत तत्वले फाइदा नलिउन्

बाह्रबुँदे समझदारी, शान्ति प्रक्रिया र जनआन्दालनेका सहयात्रीहरु आफसमा नमिल्दा गलत तत्वले फाइदा उठाउन सक्ने राष्ट्रपतिले चिन्तासमेत व्यक्त गरेका छन् ।

‘तपाईहरु जनतामा त जानोस्, तर, वार्तामा पनि बस्नुपर्छ,’ राष्ट्रपति यादवले प्रचण्डलाई भनेको स्मरण गर्दै स्रोतले भन्यो-‘जनआन्दोलनका सहयात्रीहरु आपसमा मिलेनन् भने विभिन्न तत्वले फाइदा उठाउन सक्छन्, त्यसैले तपाईहरु छिट्टै वार्तामा बस्नुपर्छ ।’

संविधानसभाबाट बाहिर जानेतर्फ साच्दै नसोच्न राष्ट्रपतिले आग्रह गरेका छन् । ‘तपाई संविधानसभाप्रति गम्भीर हुनुस्, एक छिन चोच्नुस् त, संविधानसभा किन आयो, कारक के हो ?’ राष्ट्रपतिको भनाइ उधृत गर्दै सल्लाहकार दाहालले भने-‘संविधान बनाउने दायित्व कांग्रेस र एमालेको मात्र होइन । तपाईको अझ बढी जिम्मेवारी छ ।’

राष्ट्रपतिले वार्ता र सम्वाद एक मात्र विकल्प भएको भन्दै उनले सम्वाद थाल्न आग्रह गरे ।

जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका साथ अघि बढ्न कांग्रेस र एमालेका तर्फबाट वक्तव्य आए आफूहरु वार्तामा बस्न तयार रहेको स्पष्ट पारेका छन् ।

यसबारे आफूले कांग्रेस र एमालेलाई भन्ने राष्ट्रपतिले बताएका थिए । सहमतिका लागि आफूले प्रधानमन्त्री र एमाले अध्यक्षसँग कुरा गरेको र अब अन्य दलहरुलाई पनि त्यही भन्ने राष्ट्रपतिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?