News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको राजनीतिक परिवर्तनमा 'जेनजी' विद्रोहले भ्रष्टाचारी र असक्षम नेतृत्व विरुद्ध युवा नागरिकको वितृष्णा देखाएको छ।
- नेपाली कांग्रेसले पार्टीको रि–ब्रान्डिङ र नेतृत्व परिवर्तनमा आन्तरिक विवादका कारण आगामी निर्वाचनमा चुनौती सामना गर्न सक्छ।
- विश्वका सफल राजनीतिक पार्टीहरूले रि–ब्रान्डिङमार्फत नयाँ नेतृत्व र नारा लिएर जनमत प्राप्त गरेका उदाहरणहरू छन्।
परिवर्तन शास्वत प्राकृतिक रीत हो । राजनीतिक पार्टी परिवर्तनको अपवाद हुन सक्दैन । परिवर्तन यथास्थितिमा नै रहेर हुन सक्दैन । परिवर्तनका लागि कारक र कारण चाहिन्छ ।
नेपालको राजनीतिमा गत भाद्र २३ र २४ मा भएको ‘जेनजी’ विद्रोह र यसले ल्याएको सत्ता परिवर्तनको मुख्य कारण भनेकै दशकौदेखि नेपाली राजनीतिमा मौलाउँदै गएको सिद्धान्तच्यूत सत्ताकेन्द्रित राजनीतिक पार्टी र व्यक्तिवादी चरित्र बोकेका भ्रष्टाचारी, स्वेच्छाचारी र असक्षम नेतृत्व अनि यस्तो अवस्थाबाट वितृष्णाको अवस्थामा पुगेका युवा नागरिकहरु नै हुन्।
‘जेनजी‘ विद्रोहले ल्याएको परिवर्तनको प्रभाव नयाँ सरकार गठनसँगै राजनीतिक दलमा पनि परिवर्तनका संकेतहरु देखिन थालेका छन् ।
पछिल्ला दिनहरुमा माओवादी नेता पुष्पकमल दाहालले माओवादी जग र आफ्नै नाममा अघि सारिएको ‘प्रचण्डपथ’को बिचारधाराबाट विचलित भई प्रौढ नेताहरुको नयाँ बाम एकतातिर लागेको देखिन्छ ।
एमाले नेता केपी शर्मा ओली दुई तिहाइको बहुमत सरकारको नेतृत्वबाट सत्ता र आफ्नो बासस्थानबाट मात्र बाहिरिएका छैनन्, कुनै एउटा कार्यकर्ताको शरणमा बास लिन पुगेका छन् र शक्ति सञ्चयका लागि युवादस्ता तयार गर्दैछन् । उनको यस्तो कार्यले भोलिका दिनमा नेपाली राजनीतिमा पुनः मुठभेडको अवस्था नआउला भन्न सकिन्न ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सार्वजनिकरुपमा जनआक्रोशको आक्रमणमा परेर रोलक्रममा रहेको सत्तारोहणको अवस्थाबाट मात्र च्यूत भएका छैनन्, पार्टी नेतृत्व नै उपसभापतिलाई सुम्पँदै आफ्नो करिब छ दशक लामो राजनीतिक जीवनबाट विश्राम लिन लागेको आभास पाइन्छ ।
पार्टी ‘ब्रान्डिङ’
‘ब्रान्डिङ’ बजारीकरणको अवधारणा हो । उत्पादित सामाग्री, वा सेवाका बारेमा उपभोक्ताको सम्वन्ध स्थापित गराउन, उत्कृष्टताको पहिचान दिलाउन ब्रान्डिङ गरिन्छ । केही वर्षअघिसम्म ब्रान्डिङलाई उत्पादित वस्तु वा सेवाको बजारीकरणका लागि मात्र प्रयोग गरिने एउटा सशक्त बजार–रणनीति मानिन्थ्यो ।
पहिल्ला वर्षहरुमा ब्रान्डिङ राजनीतिक पार्टी वा नेतृत्वको विशेष अवस्थामा, विशेष उद्देश्य पूरा गर्नका लागि लिइने रणनीतिक चातुर्यको विषय बन्दै आएको छ । यस्तो कार्यले पार्टीलाई पुनर्ताजगी मात्र दिँदैन, पार्टीमा नयाँ नेतृत्व चयन गर्दै समग्र पार्टीपंक्ति र नागरिकमा जनभावनाको कदरस्वरुप पार्टी संरचनामा रक्तसञ्चारको कार्य गर्दछ ।
पार्टीको रि–ब्रान्डिङ कार्यले जनताको चाहना र रोजाइको नेतृत्व चयन गर्न सहयोग गर्छ र पार्टीले पनि नवीनतम नीति तथा भावी कार्यक्रम तय गर्दै जनचाहनाअनुरुपको कार्यादेशमार्फत् लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुर्याउँछ ।

पार्टीमा रि–ब्रान्डिङ विशेष परिस्थितिमा मात्र गरिन्छ । राजनीतिक सञ्चारका विशेषज्ञले पार्टीको रि–ब्रान्डिङ विभिन्न अवस्थामा गर्नुपर्ने भनेर सुझाएका पाइन्छ ।
प्रथमतः पार्टीको नेतृत्व असक्षम भएर हस्तान्तरण गर्नुपर्ने अवस्था रहेमा ।
दोस्रो, पार्टीले अंगालेको नीति, दर्शन र कार्यदिशामा क्षयीकरण भएर समग्र पार्टीपंक्ति तथा नागरिकमा पार्टीप्रति नैराश्यता बढेको अवस्थामा ।
तेस्रो, पार्टीले पाइरहेको जनताको विश्वास र जनमत गुमाएको अथवा गुमाउन सक्ने अवस्था देखिएमा ।
चौथो, पार्टीपंक्तिमा धेरै सढेगलेका र निस्कृय भै कार्य गर्न असक्षम नेतृत्वको संख्या बढ्दै गएको अवस्थामा ।
पाँचौं, पार्टी नेतृत्व भ्रष्टाचार लगायत अनैतिक कार्यमा संलग्न भएर गुट–उपगुटमा विभक्त भई, अथवा राजनीतिक बेइमानीको आरोप लागेर बदनाम भएको अवस्था रहेमा ।
छैटौं, पार्टी समय सान्दर्भिक हुन नसकेर पुरानै मूल्य, मान्यताका कारणले जनताबाट तिरस्कृत हँदै गएर चुनावमा हार्नसक्ने जोखिम बढ्दै गएको अवस्थामा ।
सातौं, पार्टीले चुनावमा जाँदा धेरै प्रतिस्पर्धा गर्नुपर्नेभै जनताबाट अनुमोदित हुन नसक्ने जोखिम देखिएको अवस्थामा ।
र, आठौं, पार्टीपंक्तिमा वाक् चातुर्य र जनसमर्थनसमेत प्राप्त युवा नेतृत्व पार्टी सञ्चालनका लागि तयार भएको अवस्थामा ।
त्यसरी नै राजनीतिक सञ्चारका ज्ञाताले पार्टीको रि–ब्रान्डिङको जोखिम हुन सक्ने भनेर सचेत पनि गराएका छन् । यस्तो जोखिमको अवस्थाचाहिँ राजनीतिक पार्टीका उल्लेखित सबै अवस्था देखिएता पनि यदि पार्टीमा संवाद र सञ्चार गर्न सक्ने नेतृत्वको अभाव भएमा कुनै पनि पार्टीले रि–ब्रान्डिङको अवधारणा अवलम्वन गरेमा त्यस्तो रणनीति प्रत्यूत्पादक हुन सक्ने सचेत गराउँछन् ।
पार्टी रि–ब्रान्डिङ गर्दै कार्यान्वयनमा लैजाँदा नयाँ नेतृत्व सवल, सक्षम र संवाद कलामा निपूर्ण हुनै पर्छ । नयाँ नेतृत्व विपक्षी दलको सवल र कमजोर पक्षका बारेमा र भविष्यमा पनि के–कस्तो अवस्था हुन सक्ने आंकलनसहित सहमति, समझदारी वा सहकार्य गर्ने चातुर्य र क्षमता भएको नेतृत्व हुनुपर्छ ।
कार्यकर्ता परिचालन गर्दै जनतामा जाँदा, पार्टीको इतिहास, गौरबगाथा, राजनीतिक नारा, लोगोजस्ता सूचनासामाग्री तथा सञ्चारका माध्यममा सहज र प्रखर मानिएकोे नेतृत्व चाहिन्छ । यसरी पार्टी नेतृत्व परिवर्तित सन्दर्भमा रुपान्तरण हुँदै मतदाताका चाहनाअनुरुपको प्रचार–प्रसारका साथ गएमा पार्टीको सफलता सुनिश्चित गर्न सकिन्छ ।
तर, विज्ञहरुले औंल्याएअनुसार रि–ब्रान्डिङले पार्टीको सफलतामा जति महत्वता राख्छ, त्यतिकैरुपमा पार्टीपंक्तिले भने यस्तो कार्यको शुभारम्भ गर्न हत्तपत्त दिइहाल्दैनन् । पुरानो सोच भएका नेतृत्वको सोचाइमा परिवर्तन ल्याउन भने अलि कठिन नै हुन्छ ।
यसको कारण भनेकै पार्टीमा लामो समयदेखि पद, प्रतिष्ठा, र मान, सम्मानमा लिप्त भई निर्णायक तहमा रहिरहेका व्यक्तिहरुको उदासीनता र असहयोग हो । त्यस्तो प्रवृत्तिका व्यक्तिहरुका लागि पार्टी रुपान्तरण, नयाँ कार्यदिशा र नयाँ नेतृत्व भन्नेबित्तिकै मनोवैज्ञानिक तहमा डर, त्रास र आशंका पैदा हुने गर्छ ।
उनीहरुको तर्क भनेकै यस्तो कार्र्य गर्दा धेरै लगानी गर्नुपर्ने र परम्परादेखि चल्दै आएको पार्टीको नीति, कार्यक्रम र कार्यदिशा भन्दा बाहिर जाने र पार्टीको सिद्धान्तमा नै आँच आउन सक्ने भन्ने हुन्छ । यसरी पार्टी नेतृत्व आम नागरिकको चाहनाबमोजिम सिद्धान्तमा ह्रास आउने गरी चल्न खोजेमा पपुलिष्ट पार्टी हुन सकिन्छ, तर स्थायी प्रकृतिको पार्टी रहन सकिँदैन भन्ने ठानिन्छ ।
यस्तो संकुचित सोचाइ आउनु कुनै व्यक्तिविशेष भन्दा पनि यस्तो संशय आम मानिसको मनोवैज्ञानिक चरित्र पनि हो । अधिकांश मानिसमा परिवर्तनको चुनौति सामना गर्ने सामथ्र्य कमै हुन्छ । नयाँ अवस्थाले सिर्जना गर्नेे अनिश्चिताको भय मानवीय स्वाभाव पनि हो ।
विकास सञ्चारका ज्ञाता एभरेट रोजर्सले बीसौं शताब्दीको ६० को दशकमै तेस्रो विश्वका मानिसको कसरी नयाँ विचार, अवस्था र प्रविधि स्वीकार गर्छन् भनेर ‘डिफ्युजन अफ इन्नोभेसन थ्यौरी’ को अवधारणाको चर्चा गरेका छन् । उनका अनुसार धेरैजसो मानिसहरु स्वाभावैले परिवर्तन र नयाँ चुनौतीलाई सहजरुपमा स्वीकार गर्न हिच्किचाउँछन् ।
कुनै पनि नयाँ वस्तु वा विचारलाई तुरुन्त आत्मसात गर्ने मानिसको संख्या नगण्य हुन्छ । त्यस्तो अवस्थाको मानिसलाई बारम्बारको संवाद र अरूले अवलम्वन गरेका उदाहरणहरु हेर्दै गएमा मात्र केही समयको अन्तरालमा परिवर्तन भने गर्न सकिन्छ ।
त्यस्तो समूहको प्रतिनिधित्व सामान्य अवस्थामा मात्र नभएर पार्टी पंक्तिमा पनि उल्लेख्य रुपमा देख्न सकिन्छ । त्यस्तो ‘लेगार्ड’ प्रवृत्तिका मानिस कुनै पनि समाजमा विशेषतः अल्पविकसित देशमा बहुमतमा नै रहेका हुन्छन् । जोखिम लिएर नयाँपन दिन खोज्ने समूह जसलाई ‘इन्थुजियाष्ट’ भनिन्छ, तिनको संख्या प्रायः नगन्य नै हुन्छ । तर, जोखिम लिन नचाहने पंक्ति पार्टीमा धेरै हुन गएमा कुनै पनि पार्टीले सहज रि–ब्रान्डिङको अवधारणा कार्यान्वयनमा तुरुन्तै लागू गर्न सक्दैन । यस कार्यका लागि लेगार्ड प्रवृत्तिलाई सहमत गराउन भने धेरै मेहनत गर्नुपर्ने हुन्छ ।
विश्वका चर्चित ‘रि–ब्रान्डिङ’ पार्टी र सफल नेतृत्व
विश्व इतिहासमा राजनीतिक पार्टीलाई पुनःपरिभाषित गर्दै रि–ब्रान्डिङ गरेर सफलता पाएका धेरै उदाहरणहरू देख्न तथा सुन्न पाइन्छ ।बेलायतमा पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले दशकौंदेखि अपरिवर्तित र जनमतबाट तिरस्कृत हुँदै गएको लेबर पार्टीलाई ‘न्यू लेवर’ र ‘न्यू ब्रिटेन‘को ‘पोलिटिकल क्याम्पेन‘ गर्दै सन् १९९७ देखि २०१० सम्म निरन्तर सत्तामा रहन सफल भएको इतिहास छ । उनले पार्टीमा नेतृत्वमात्र परिवर्तित गराएनन् ‘न्यू लेवर’ को नारासहित पुरानो कन्जर्भेटिव लेबर पार्टीलाई पुनर्ताजगी गराएका थिए ।
भारतमा प्रखर वक्ता नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्व मात्र गरेका छैनन्, उनले एक दशकभन्दा बढि उक्त पार्टीलाई अविच्छिन्न सत्तारोहण गराउन सफल भएका छन् । उनको निर्वाचनका समयमा तय गरिएका चुनावी नारा ‘अच्छे दिन आने वाला है’, ‘हर–हर मोदी, घर–घर मोदी’ आज पनि भारतीय जनता पार्टीको सफलताको शिखर उक्लन सहायकसिद्ध भैरहेको देख्न सकिन्छ ।
संयुक्त राज्य अमेरिकामा अल्पसंख्यक अफ्रिकन मूलका बाराक ओवामाले डेमोक्रेटिक पार्टी प्रवेश गरेको केही वर्षभित्रै आफ्नो वाक्चातुर्य र नयाँ भिजनसहित पार्टीलाई रि–ब्रान्डिङ गर्दै सरकार सञ्चालनमा सफल हुनुलाई उदाहरणका रूपमा लिन सकिन्छ । उनले डेमोके्रटिक पार्टीका तर्फबाट राष्ट्रपतिको दुई कार्यकाल सन् २००९ देखि २०१७ सम्म नेतृत्व गरे । उनको भाषणकला र चुनावी नारा ‘चेन्ज, वी क्यान विलिभइन’ र ‘यस् वी क्यान’ जस्ता राजनीतिक नारा समग्र पार्टीलाई नयाँ रक्तसञ्चार गराउन सहायकसिद्ध भएका थिए ।
विश्व राजनीतिमा समय सान्दर्भिक पार्टीलाई रि–ब्रान्डिङ गरेर सफलताको उचाइमा पुर्याएका यी र यस्ता अनगिन्ती उदाहरणहरू दिन सकिन्छ । बढ्दो सञ्चार माध्यम र राजनीतिप्रति बढ्दै गएको नागरिकको वितृष्णा नै पार्टीलाई रि–ब्रान्डिङ गर्नुपर्ने मुख्य कारणका रुपमा लिने गरिन्छ ।
नेपाली कांग्रेस र ‘रि–ब्रान्डिङ’ को सन्दर्भ
‘जेनजी’ को विद्रोहपछि नेपालको राजनीतिक पार्टीहरूमा एक किसिमको परिवर्तनको श्रृंखला सुरु भैसकेको छ । पार्टीको नाम परिवर्तन, नयाँ समझदारी गर्दै पार्टी पुनर्गठन, पार्टी एकता र नेतृत्व हेरफेरको अवस्था प्रायः देख्न सकिन्छ । यस्तो परिवर्तनका अवस्थामा नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीको रि–ब्रान्डिङको चर्चाले पार्टीपंक्तिमा रस्साकस्सीको अवस्था सिर्जना भैरहेको बुझ्न सकिन्छ ।
पार्टीलाई समय सापेक्षित परिवर्तन गर्न नेतृत्व असक्षम भएमा देशको राजनीतिको मियोका रुपमा रहेको र लामो इतिहास बोकेको नेपाली काँग्रेस पार्टी आन्तरिक बेमेलका कारणले पार्टीको आगामी नीति, नेतृत्व र उपयुक्त कार्यदिशाको अभावमा विभाजित हुन सक्नेसम्मको खतरा रहेको आंकलन समेत गर्न सकिन्छ ।
बैठकको पूर्वसन्ध्यामा ‘जेनजी’ विद्रोहका क्रममा निर्ममरुपमा कुटिएका सभापति देउवाले स्वास्थ्यका कारण पार्टीको उपसभापतिलाई कार्यवाहक सभापति तोक्दै विश्राम लिने संकेत गरेका थिए । केन्द्रीय समितिको बैठकले पार्टीले पछिल्लो दुई दशकदेखि लिएको चुनावी तालमेलको रणनीति र सरकार सञ्चालनमा अंगीकार गरेको कम्युनिष्ट पार्टीसँगको सहकार्यलाई निरन्तरता दिन नहुने भाष्य तयार गर्दैछ । पार्टीले आसन्न फागुनमा सञ्चालन हुने संसदीय निर्वाचनमा नयाँ कार्यनीति लिएर जानुपर्ने सवालमा विचार विमर्श गरिरहँदा संस्थापन र इतर पक्ष–विपक्षमा रुपान्तरण भैरहेको देख्न सकिन्छ ।
नेपाली कांग्रेस पार्टीको बैठकमा भएका र सञ्चार माध्यममा बाहिरिएका समाचारलाई आधार मान्ने हो भने पार्टीका महामन्त्रीद्वयले नेपाली कांग्रेस निर्वाचनमा जानुभन्दा अगाडि पार्टीको नियमित अथवा विशेष महाधिवेशनको म्याण्डेटअनुसार नीति तथा कार्यादेश लिएर जानुपर्ने भन्ने अडान लिइरहेका छन् । उनीहरूले देशमा ‘जेनजी’ को विद्रोहपश्चात् सिर्जना भएको अवस्थाको समीक्षा गर्दै लामो समयदेखि नेपाली कांग्रेस पार्टी राजनीतिक दर्शन, नीति र नेतृत्वबाट विमुख भएको ठहर्याएका छन् । यस्तो अवस्थाले गर्दा समग्र पार्टीलाई नै ‘रि–ब्रान्डिङ’ गर्नुपर्ने तर्क अघि सारेका छन् ।
उनीहरूको निश्कर्ष भनेकै, नेपाली कांग्रेसजस्तो लामो इतिहास भएको र लोकतान्त्रिक चरित्र भएको पार्टीले जनचाहनाअनुरुपको कार्यदिशा लिएर निर्वाचनमा जानुपर्छ भन्ने बुझिन्छ । त्यसका लागि आगामी उम्मेदवारले पार्टीका मतदातासमक्ष संवाद गर्दा पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको प्रत्यासी तोकेर जाँदा जनमत प्राप्त गर्न सकिन्छ भन्ने ठम्याइ रहेको देखिन्छ ।

यसै सन्दर्भमा काँग्रेसको बहुमत महासमितिका सदस्यहरुको विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षरलाई आधार मान्ने हो भने, केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्ताव जायज मान्न सकिन्छ । तर, केन्द्रीय समितिमा अनुवंशिकरुपमा रहेका र पार्टीलाई एउटा खेमाको प्रतिनिधित्व गर्ने निर्णायक देखिएका ‘लेगार्ड’ प्रवित्तिका सदस्यहरु भने पार्टी चुनावमा यथास्थितिमै जानुपर्ने अडानमा रहेका देखिन्छन् । उनीहरुको तर्क निर्वाचनपूर्वको महाधिवेशनले पार्टीमा गुट–उपगुटको अवस्था आउने र पार्टी अहिलेको स्थितिमा भन्दा पनि कमजोररुपमा प्रस्तुत हुन सक्ने भन्ने छ । महाधिवेशनबाट अनुमोदित पार्टी आन्तरिक प्रतिस्पर्धाका कारणले व्यक्ति–व्यक्ति र गुट–उपगुटमा विभक्त हुनसक्ने तर्क गरेको देखिन्छ । महाधिवेशन भन्दा पनि पार्टीपंक्ति चुनावकेन्द्रित भई एक ढिक्का भएर जनतासमक्ष जानुपर्ने भन्ने उनीहरुको तर्क छ ।
केन्द्रीय कार्य समितिको बैठकमा देखिएको अन्तरद्वन्द्व र पार्टी नेतृत्वले समयमै निर्णय लिन नसकेको अवस्थाले नेपाली काँग्रेसको अविष्य अन्योलग्रस्त रहेको प्रष्टरुपमा बुझ्न सकिन्छ । नेपाली कांग्रेसको किंकर्तव्यविमूढको स्थितिले यथास्थितिवादी र परिवर्तनकारी समूहबीचको शक्तिसंघर्षको अवस्थाको चित्रण गर्दछ । यस्तो अवस्थामा नेपाली कांग्रेसले परिवर्तित समयलाई आलोचनात्मक समीक्षा गर्दै पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइरहनु स्वयं पार्टी र समग्र राष्ट्रको हितमा रहने देखिँदैन ।
नेपाली कांग्रेसले यसरी सतहमा आएको महत्वपूर्ण विषयलाई पार्टीको आन्तरिक संघर्षका रुपमा मात्र हो भनेर समस्यालाई समयमै सम्वोधन गर्न ढिलाइ गरेमा र पार्टीलाई रि–ब्रान्डिङ नगरी यथास्थितिमै निर्वाचनमा जाने धृष्टता गरेमा पार्टीले जनमतको अभावमा अपूरणीय क्षति व्यहोर्न सक्ने भविष्यवाणी भने आकलन गर्न सकिन्छ, जसको मूल्यांकन आगामी समयले गर्ने नै छ ।
अन्त्यमा,
नेपाली कांग्रेसले परिवर्तित समय र अन्य मुलुकमा भएको अभ्यासलाई अध्ययन र विश्लेषण गर्दै पार्टीको रि–ब्रान्डिङ गर्नैपर्ने अवस्था देखिन्छ । यस्तो दुरगामी असर गर्ने कार्यका लागि निर्णायक तहमा रहेका नेतृत्वलाई अहिलेको जस्तो उपयुक्त समय न हिजोको दिनमा आएको थियो, न भोलिका दिनमा तुरुन्तै आउन सक्ने अनुमान गर्न सकिन्छ ।
पार्टी नेतृत्वको असक्षमताले केही दशकदेखि पार्टीले सिद्धान्त, नीति, नेतृत्व र कार्यदिशा गुमाउँदै आएको अवस्था र अर्कोतिर स्पष्ट देखिने गरी कुनै राजनीतिक दर्शन बोकेको लोकतान्त्रिक वैकल्पिक शक्ति जनताकालागि तत्पर भैरहेको अवस्था नभएकाले पार्टीले जनताको आशा र भरोसा कायम राख्न पनि उपयुक्त रणनीति लिन उपयुक्त हुन्छ ।
कांग्रेसको पार्टी सञ्चालनको नयाँ रणनीतिले राष्ट्रमा देखिएको राजनीतिक तरलताको अवस्थालाई सम्बोधन गर्न सक्ने देखिन्छ र सो कार्यका लागि पनि पार्टी नेतृत्वले आजकै दिनमा ढिला नगरी महामन्त्रीद्वयको प्रस्ताव स्वीकृत गर्दा नै समग्र पार्टी र देशका लागि भलाइ हुन्छ । यसै सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २६ देखि २९ सम्म काठमाडौंमा पन्ध्रौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ, जसलाई एउटा सकारात्मक कदम नै मान्न सकिन्छ ।
आजका दिनमा पार्टीलाई समग्ररुपमा रुपान्तरण गर्र्न सक्ने सम्भावना देखाएका र नेतृत्वका लागि वाकचातुर्य एवं लोकतान्त्रिक राजनीतिक संस्कारसमेत भएका र जनताको आशाको केन्द्रमा रहेका युवा नेताहरुको पार्टी नेतृत्वका निम्ति पार्टीलाई पुनर्ताजगी गर्दै रि–ब्रान्डिङका लागि देखाएको अग्रसरता समय सान्दर्भिक छ ।
युवा नेतृत्वले पार्टी सञ्चालनका लागि देखाएको तत्परता र केही नयाँ गर्ने हुटहुटीका कारणले पनि पार्टीका नेतृत्वपंक्तिले सक्षम युवानेताको अगुवाइमा जन चाहनाबमोजिम समग्र पार्टीलाई चुनावअगावै रि–ब्रान्डिङ गर्दै जनमतका लागि मैदानमा जान सहयोग गर्नेछन् भन्ने एउटा नागरिकको नाताले कामना गर्न सकिन्छ ।
हालको नेतृत्वले ‘जेनजी’ को विद्रोहपछि सिर्जना भएको विषम परिस्थितिमा समेत पनि जनचाहना अनुरुपको निर्णय गर्न चुकेमा पार्टीले इतिहासकै ठूलो मूल्य चुकाउनुपर्ने आकलन गर्न सकिन्छ । यस विषयमा सम्बन्धित सबैको चेत खुल्नु आवश्यक छ । र, पार्टीलाई रि–ब्रान्डिङ गर्दै चुनावअगावै महधिवेशनमार्फत निकास दिनु उपयुक्त हुन्छ । अस्तु ।
(लेखक पोलिटिकल कम्युनिकेशनका अध्येता हुन् ।)
प्रतिक्रिया 4