विश्वकपका ठूला टीमहरुविरुद्ध आफ्नो ब्याटले डंका पिटेका वेष्टइण्डिजका क्रिस गेल भारतविरुद्ध भने चल्न सकेनन् ।
विश्वकप क्रिकेटमा शुक्रबार भारतविरुद्धको खेलमा उनी मात्र २१ रनमा आउट भएका छन् । शानदार सटहरु खेल्ने प्रयास सुरु गर्दा नगर्दै गेललाई मोहम्मद शामीले मोहित शर्माको हातबाट क्याच गराए ।
गेलले भारतविरुद्ध पछिल्लो पटम २००६ मे १८ मा किंगस्टनमा शतक बनाएका थिए । त्यसबेला उनले १३० बलमा १२३ रन बनाएका थिए ।
त्यसपछि गेलले भारतविरुद्ध १९ पारी खेलिसकेका छन् । उनले कुल ४५० रन बनाएका छन् । समग्रमा उनको औषत रन २३.४८ मात्र हुन्छ ।
चार पटक त उनले खाता नै खोल्न सकेनन् भने सात पटक दोहोरो अंकको रन पनि बनाउन सकेका छैनन् । समग्रमा भने भारतविरुद्ध उनले चार शतक र पाँच अर्धशतकसहित १२२० रन बनाएका छन् ।
२००६ पछि भारत विरुद्ध ‘फेल’ भएका गेल अन्य टीमविरुद्ध भने चम्कँदै आएका छन् ।
उनले १५ शतकीय पारी खेलिसकेको छन् । हालै मात्र जिम्बावेविरुद्ध २१५ रन बनाउँदै विश्वकपकै पहिलो दोहोरो शतकको कीर्तिमान समेत बनाएका थिए ।