Comments Add Comment

लुम्बिनी विकास कोषमा पदाधिकारी रिक्त हुँदा समस्या

२२ चैत,  बुटवल। अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिनाभन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ ।

कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सङ्ख्या रिक्त हुन पुगेको छ । तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यायाङ्बो शेर्पाले गत पुस २५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यसमक्ष राजीनामा बुझाएका थिए ।

यस्तै कोषका चार सदस्यको समेत गत फागुन ७ गतेदेखि अवधि सकिएपछि एक उपाध्यक्षसहित चार सदस्य गरी पाँच पद रिक्त हुन पुगेको छ । कोषको सदस्य हुनलाई कोषको परिषद् सदस्य हुनुपर्ने व्यवस्था छ । पदाधिकारी तथा सदस्य सबै पदको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ ।

हाल कोषमा नियमित काम गर्ने कोषाध्यक्ष ओमप्रकाश अर्याल र सदस्यसचिव अजितमान तामाङ मात्र हुनुहुन्छ । कोषको अध्यक्ष मन्त्री रहने व्यवस्था भए पनि कोषको नियमित काम भने कार्यकारी रुपले उपाध्यक्षले सञ्चालन गर्ने व्यवस्था छ ।

कोषको नीति निर्माणदेखि महत्वपूर्ण कामको सदर र टुङ्गो लगाउने अधिकार उपाध्यक्षलाई रहने भएकाले अहिले त्यहाँ नीतिगत तहमा पनि समस्या देखिएको छ । लुम्बिनीमा सञ्चालित विभिन्न योजनाका काममा पनि उपाध्यक्ष नहुँदा प्रभावित भइरहेका छन् । हाल त्यहाँ आधा दर्जनभन्दा बढी विभिन्न योजनाको काम भइरहेका छन् ।

कोषमा रु पाँच लाखभन्दा माथिको रकम भुक्तानीका लागि समेत उपाध्यक्षको निर्णय आवश्यक हुन्छ । हाल कोषाध्यक्ष अर्याल निमित्त उपाध्यक्ष हुनुहुन्छ । निमित्त उपाध्यक्षले पनि उपाध्यक्षविहीन अवस्थामा एक जनाले मात्र सबै काम गर्न नसक्ने भएकाले तत्काल उपाध्यक्ष नियुक्ति गर्नु आवश्यक भएको कोषाध्यक्ष अर्यालको भनाइ छ ।

नयाँ उपाध्यक्ष नियुक्त हुन नसक्दा अहिले कोषको दैनिक काम प्रभावित हुनाका साथै बजेट निकासा रोकिँदा आर्थिक सङ्कटसमेत हुने अवस्था आएको छ । सरकारले उपाध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने कोषको केन्द्रीय खातामा रकम निकासा गरिने र सो खाताको रकम लुम्बिनी विकास कोषको अन्य खातामा पठाइने व्यवस्था छ ।

लुम्बिनीको खातामा अढाइ महिनादेखि केन्द्रीय खाताबाट रकम आउन नसकेको हुँदा अहिले त्यहाँ भइरहेका निर्माणको भुक्तानीसमेत रोकिएको कोषका कोषाध्यक्ष अर्यालले बताए । केन्द्रीय खाताबाहेक अन्य खाता भने कोषका सदस्यसचिव र लेखा प्रमुखको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुन्छ ।
देशविदेश बुझेको, प्रशासनिक ज्ञान भएको र बौद्धज्ञान यथेष्ट भएको व्यक्ति उपाध्यक्षमा ल्याइनुपर्ने बुद्धिजीवी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment