Comments Add Comment

शिल्पादेखि छुल्ठिमसम्म, यी हुन् यो बर्ष भित्रिएका आशा लाग्दा नव-नायिका

नायिका शिल्पा पोख्रेल
नायिका शिल्पा पोख्रेल

नेपाली चलचित्रमा पुराना नायिकाहरुको घम्साघम्सी त आफ्नो ठाउँमा छ नै । नयाँ नायिकाहरुको प्रवेशले पनि यो बर्ष सर्वाधिक चर्चा पायो । यो बर्ष नेपाली चलचित्रले आशा लाग्दा केही अनुहार पाएको छ, जसले आगामी दिनमा यो चलचित्रलाई धनी बनाउन सक्छन् । तिनै आशातित केही नायिकाको आउनुहोस् चर्चा गरौ ।

म्यूजिक भिडियोमा सर्वाधिक सफलता पाएपछि चलचित्र ‘लज्जा’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका हुन्, शिल्पा पोख्रेल । निर्माता छविराज ओझाको छविराज प्रोडक्शनबाट भित्रिएकाले पनि शिल्पाका लागि यो बर्ष सफलताले चुम्यो ।

यो बर्ष शिल्पाले अभिनय गरेका २ चलचित्र प्रदर्शनमा आए । जसमा ‘लज्जा र हवल्दार सुन्तली’ पर्छन् । दुबै चलचित्रको व्यापारले शिल्पा पोख्रेललाई यो बर्षकी सर्वाधिक सफल नव-नायिकाको स्थानमा राखिदिएको छ । दुबै चलचित्रले बम्पर ब्यापार गरेका छन् । जसका कारण पनि आउँदो बर्ष शिल्पा पोख्रेलबाट चलचित्र क्षेत्रले ठूलो आशा राख्न सक्छ ।

नायिका छुल्ठिम गुरुङ
नायिका छुल्ठिम गुरुङ

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि नव-नायिका छुल्ठिम गुरुङले सबैको तारिफ पाइन् । उनले निर्वाहा गरेको ‘डल्ली’ भूमिकाले चलचित्रको व्यापारमा नै फेरबदल ल्याइदियो । हुनत, यसपछि छुल्ठिमले चलचित्रमा काम नगर्ने बताउँदै आएकी छिन् ।

नायक अनमोल केसीको साथमा नायिका आना शर्मा ।
नायक अनमोल केसीको साथमा नायिका आना शर्मा ।

तर, उनीबाट दर्शकले चलचित्रमा ठूलो आशा राख्न सक्छन् । चलचित्र ‘जेरी’बाट चलचित्र क्षेत्रमा भित्रिइन्, नयाँ अनुहार आना शर्मा । आनाले नायक अनमोल केसीसँग मिलेर निर्वाहा गरेको भूमिकाले तारिफ मात्र पाएन, चलचित्र पनि हिट भयो । यसकारण पनि आना शर्मालाई नेपाली चलचित्रमा नयाँ जेनेरेशनको नायिकाको रुपमा हेर्न थालिएको छ । आना अनमोल केसीसँगको प्रेम सम्बन्धले पनि यो बर्ष चर्चामा रहिन् ।

नायिका आश्मा डीसी
नायिका आश्मा डीसी

‘आभाष’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन् आश्मा डीसी । यो चलचित्रले व्यापारिक रुपमा त कुनै कमाल मच्चाएन, तर आश्माको कामको तारिफ भयो । आश्माले यसपछि अर्को चलचित्रमा काम गरिन्, ‘नाई नभन्नु ल ३’ । यो चलचित्रमा उनले छोटो तर महत्वपूर्ण भूमिका निर्वाहा गरेकी छिन् । टेलिभिजनमा कार्यक्रम चलाउँदै नायिका बनेकी आश्माले पनि छोटो समयमा नै आफूलाई दरिलो रुपमा उपस्थित गराएकी छिन् ।

नायिका अकेषा बिष्ट
नायिका अकेषा बिष्ट

यो बर्ष नै चलचित्रमा भित्रिएकी अर्की कलाकार हुन्, अकेषा बिष्ट । अकेषाले अभिनय गरेको चलचित्र ‘जिन्दगी रक्स’ले व्यापारिक रुपमा त खासै कमाल मच्चाएन, तर अकेषालाई नेपाली चलचित्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएको छ । हुनत, उनले अब चलचित्रमा काम नगर्ने बताउँदै आएकी पनि छन् । तर, म्यूजिक भिडियोमा चम्किएकी अकेषाका लागि चलचित्र क्षेत्र पनि सुनौलो बन्न सक्छ ।

हुनत, यी बाहेक अन्य केही नयाँ महिला अनुहार पनि छन् जसले चलचित्रमा भविष्य बनाउने सोचका साथ अगाडि बढेका छन् । तर, माथि उल्लेखित ५ नायिकाले चलचित्र क्षेत्रमा आगामी बर्ष हलचल पैदा गर्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment