+
+

थोत्रे धरहरा चढ्न अनुमति दिनेलाई कारबाही गर्नुपर्दैन ?

के भूकम्प शुद्ध प्राकृतिक विपति हो ? यसको कुनै ‘सामाजिकी’ छैन ? कुनै ‘अर्थराजनीति’, ‘शक्तिसम्बन्ध’, ज्ञान, चेतना र बहससँग यसको कुनै सम्बन्ध छैन ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०७२ वैशाख १७ गते १५:४९

यति ठूलो भूकम्प यति छिटटै आउँछ भन्ने कसैलाई थाहा थिएन । तर, कुनैकुनै दिन आउँछ भन्ने सबैलाई थाहा थियो । १९९० को महाभुकम्प अनुभव गर्ने, आफ्नै आँखाले देख्ने, आफ्नै जीवनले भोग्ने पुस्ता देशमा सकिँदै गएको थियो । हामीमध्ये अधिकांशले आफ्ना हजुरबा हजुरआमाबाट ९० सालको विनाश कुनै दन्त्यकथाजस्तो गरी सुन्यौं । तीमध्ये कतिपय कुरा हामीलाई पत्यार लाग्यो, कतिपय कुरा पत्यार लागेन । धेरैले त्यसलाई बुढाबुढीको गनगन ठान्यौं । रुढीबुढीका कुरा ठान्यौं । उहिलेका कुरा खुइलिए भनी दियौं ।

डम्बर खतिवडा

हाम्रो बुबाआमा पुस्ता अधिकांश ९० सालको भुकम्पपछि जन्मेको हो । उनीहरुले पनि सुने, भोगेनन् । भोग्नु र सुन्नुमा ठूलो भिन्नता हुँदोरहेछ ।

हुन त हामी आफूलाई विवेकशील प्राणी भन्छौं । यथार्थमा मानिस निक्कै ज्याद्रो प्राणी हो । अर्ति उपदेश, अरुले दिएका ज्ञानगुनका कुरा सजिलै लिँदैन मानिसले । २०१८ सालमा महाभूकम्प आउने हल्ला चल्दा बुबाआमा पुस्ता कयौं दिनसम्म घरबाहिर सुते । तर, त्यो हल्ला, हल्लामै सीमित भयो ।

पूर्वानुमान गर्नेहरुप्रति उनीहरुको विश्वास घट्यो होला । यस्तै हल्ला एकपटक २०३२ सालतिर पनि चलेको थियो रे । प्रकृतिको नियम हामीले अविश्वास गर्दैमा रोकिनेवाला थिएन । २०४५ सालको भूकम्पले हामीलाई, आजको वर्चश्वशाली पुस्तालाई दिनुपर्नेजति चेतावनी दिइसकेको थियो । ०६८ असोजको भुकम्पले हामीलाई ‘तिमीहरु ठीक ढंगले कुरो बुझ्दै छैनौं, म जुनकुनै वेला आउन सक्छु’ भनेकै हो । हामीले ती संकेतहरु बुझ्न अस्वीकार गर्‍यौं ।

बुझ्ने मान्छेहरु पनि थिए देशमा । उनीहरुले बुझेको कुरा बुझाउन सकेजति प्रयास पनि गरे । देशमा केही सीमित संस्थाहरु थिए । सीमित विद्धान, अभियन्ता र निकायहरु थिए । उनीहरुले बारम्बार विनाशकारी भूकम्पको सम्भावनाबारे भनिरहे । लेखिरहे । गोष्ठी र छलफल गरिरहे । हामीले सुनेको नसुन्यै गर्‍यौं । उनीहरुका कुरा हामीलाई अर्ती उपदेशजस्ता लाग्थे । विना कामका मान्छेले टाइम पास गर्न गरेका कुराजस्ता लाग्थे । ‘मान नही मान मै तेरा मेहमान’ भनेजस्तो नचाहिएको ज्ञान फोटकमा दिन आएर बोर गर्ने मान्छेहरु जस्तो गर्‍यौं हामीले उनीहरुलाई ।

हामीलाई भुपि शेरचनले त्यसै ‘बीर तर बुद्धु’ भनेका हैन रहेछन् । हामी पूर्वानुमानबाट, ज्ञानबाट, विवेकशील चिन्तनबाट नसिक्ने जातका मानिस हौं सायद । हामी सिक्न सक्छौं, तर भोगेरै मात्र । क्षति व्यहोरेर मात्र । अगाडि नै संकेत बुझ्ने जात नै हैन हाम्रो । त्यसैले हामीलाई ‘बीर गोर्खाली’ भनिएको होला । गोर्खालीको बीरता मात्र हैन, बुद्धुपनलाई पनि गोर्खाले नै चिर्न सक्छ सायद । त्यही भएर यसपालि ‘गोरखा भूकम्प’ आयो ।

darahara (4)

‘बीर गोर्खाली’ जातिलाई ‘गोरखा भुकम्प’ नै सही सबक दिन सक्छ भन्ने ठान्यो होला प्रकृतिले । हामी ‘गोरखा एकीकरण हो कि विस्तार’, ‘गोरखा एकता’ हो कि विखण्डन भन्ने बहसको रक्सीमा डुबिरहृयौं एक दशक । एक दशक कुनै थोरै समय थिएन । हामी यति कृतघ्न र निर्घृणी हुँदै गएका थियौं कि यो बहसमा हामी अरु केही दशक बिते बितोस् भन्ने मनस्थितिमा पुगिसकेका थियौं । प्रकृतिले ठान्यो होला, हद गर्न थाले यिनीहरुले, यिनीहरुलाई एउटा सबक त दिनैपर्‍यो ।

हैन भने, विवेकशील भए सोच्ने हो भने हाम्रा थुप्रै दायित्वहरु थिए । हामीले शहरीकरण, बसाइँ सराइँ, आवास निर्माण र जनसंख्या वितरणका क्षेत्रमा गर्न थालिहाल्नुपर्ने थुप्रै कामहरु थिए । करिब २ सय वर्ष अगाडि, छड र सिमेन्टको प्रयोग नहुने युगमा बनेको धरहरामा टिकट काटीकाटी मान्छे चडाउन हुन्छ कि हुँदैन भनेर सोच्ने फुर्सद थिएन हामीसँग । त्यसको अनुमान, अनुगमन गर्ने र रोक लगाउने कुनै निकाय थिएन हामीसँग । हामीले जति पुरानो उति ठूलो पुरातत्व भनेर बुझ्यौं ।

पुरातत्व विभागले शैली संरक्षण गर्ने हो, कला संरक्षण गर्ने हो, इतिहासको प्रमाण संरक्षण गर्ने हो । त्यसमा उपयोग भएका सामग्रीको आयु कुनै दिन सकिन्छ, भनेर सोच्ने दिमाग थिएन पुरातत्व विभागसँग ।

के भूकम्प शुद्ध प्राकृतिक विपति हो ? यसको कुनै ‘सामाजिकी’ छैन ? कुनै ‘अर्थराजनीति’, ‘शक्तिसम्बन्ध’, ज्ञान, चेतना र बहससँग यसको कुनै सम्बन्ध छैन ?

सबै कुरामा तदर्थवाद, सबै कुरामा हेलचेक्राइँ, सबै कुरा संवेदनहीनता, सबै कुरामा घुस, सबै कुरामा दलाली र भ्रष्टाचारलाई ‘राष्ट्रिय संस्कृति’ बनाएपछि ‘गोरखा भुकम्प’ पनि कम नै हुन्छ हामीलाई सवक सिकाउन । अन्यथा एकपटक चढ्न रोक लगाइसकेको धरहरा फेरि कसले खुल्ला गर्ने निर्णय र आदेश गरेको थियो ? उसलाई कानुनको दायरामा किन नतान्ने ?

हामीले आवासको शैली, संरचना र निर्माणका कयौं पक्षलाई कहिल्यै पनि महत्व दिएनौं । नवधनाढ्य वा नवशहरिया वर्गले जम्माजम्मी महत्व दिएको कुरा भनेकै शान र्झन सकेसम्म ठूला घर बनाउनु हो । अरु पक्षको ज्ञान, चेतना र जागरण शून्य सीताराम ।

भूकम्प निरोधक घरको कुरा भयो । त्यो त नगर क्षेत्रमा आधुनिक घर बनाउने, नगरपलिकामा नक्सापाश गर्नेहरुसँग न गरियो । आम जनताका बीचमा, ग्रामीण जनताका बीचमा आवासको शैली र संरचनाबारे कहिले संवाद भयो ? नागरिक सचेतना अभियानहरु खै चले ? एक्काइसौं शताब्दीमा पनि अधिकांश पहाडी घरहरु गेलुवा र ढुंगा इट्टाका । यस्ता घर सुरक्षित छैनन् भन्ने शिक्षा ०४५ सालमा नै धरान र भक्तपुरले दिइसकेका थिए । नगरक्षेत्रका पुराना घरहरु भत्काउने र त्यसलाई प्रतिस्थापित गर्न दबाव दिने काम नगरपालिकाहरुले किन गरेनन् ?

डेढ आना जग्गाको जगमा कपनको ७ तले घरको नक्सा कुन नगरपालिकामा पास भयो ? त्यस्तो नक्सापास गर्नेहरु कानुनको दायरामा किन नतानिनुपर्ने ? अत्यन्त साँघुरा सडकहरु राखेर घरजग्गा पल्टिङ गर्न हामीले किन अनुमति दियौं ? शहरिया जमीनको खण्डीकरणको सीमा र चाक्लाबन्दी सम्बन्धी किन कुनै नियम कानुन बनेनन् ?

यति ठूलो मानवीय त्रासदीका बीच, यति ठूलो पीडा र सन्त्रासमा बीच यी कुराहरु चर्का लाग्न सक्छन् । चर्कै लागुन्, कहिँ न कहिँनेर हाम्रो अधिकारिक चिन्तन, शक्ति संरचनालाई ‘जर्क’ गर्न आवश्यक छ नै । मान्छे सधैं रुने प्राणी मात्र हैन, आवेगमा आउन सक्ने प्राणी पनि हो । आवेगमा आउन सक्ने मात्र हैन, विवेकमा आउन सक्ने प्राणी पनि हो ।

‘बीर गोर्खाली’ जातिलाई ‘गोरखा भुकम्प’ नै सही सबक दिन सक्छ भन्ने ठान्यो होला प्रकृतिले । उसलेे ठान्यो होला, हद गर्न थाले, यिनीहरुलाई एउटा सबक त दिनैपर्‍यो !

रुन त सधैं रोएकै छौं नि हामी । एक हप्ता रोइसक्यौं ? अझै कति दिन रुनु पर्ने हो थाहा छैन । रुनै पर्ने हो भने रुऔंला अझैं । हप्तौं रुऔला, महिनौं रुऔंला, वर्षौं रुऔंला । तर, आँशुको स्रोत पनि असीमित छैन, तसर्थ जीवनभरि रुन सकिँदैन ।

हामीले हाम्रो राज्यको क्षमता बढो राम्ररी देखिसक्यौं । कति आँशु पुछ्न सक्छ उसले ? त्यो पनि देखिसक्यौं । कसैले फोस्रा कुरा नगरेकै राम्रो । झूठो आश्वासन नदिएकै राम्रो । जे यथार्थ हो, त्यो शून्य नै हो भने पनि बरु त्यहीँ बाट उठ्न थाल्यौं भने राम्रो ।

सबैलाई थाहा छ, भूकम्प एउटा नियमित प्राकृतिक प्रकृया हो । जसरी आँधी आउँछ, जसरी पानी पर्छ र बढी आउँछ त्यसै गरी ढीलोचाँडो भूकम्प पनि आउँछ । यो अन्तिम भूकम्प पनि हैन, भूकम्प फेरि कुनै दिन आउनेछ । भूकम्प आफैं मान्छे मार्न भनेर आउने हैन । जति नै होसियार हुँदा पनि सबै ठूला विपदहरुबाट शतप्रतिशत जोगिन सकिँदैन भन्ने पनि थाहा छ । कोठामा बसेर लेख लेख्न सजिलो छ भन्ने पनि थाहा छ । जो वास्तवमै मैदानमा हुुनुहुन्छ, उहाँहरुलाई हज्जार सलाम छ ।

राहत तथा उद्दार कार्यमा सरिक हुन पनि इच्छाले मात्र हुँदैन, संयन्त्र र समन्वय हुनुपर्छ । तर, हाम्रो जुनस्तरको क्षति भयो, त्यो स्तरको क्षति हुनुपर्ने भूकम्प हैन यो । ९ रेक्टरभन्दा माथिको भूकम्प आएर एक जना मान्छे नमरेका इतिहास पनि छन् विश्वमा । ‘गोरखा भूकम्प’ त ८ को भन्दा पनि अलिकति कम थियो ।

यस कुरामा पनि कुुनै शंका छैन, मूलतः यो प्राकृतिक विपति हो । तर, हामीले यसो ठान्यौं कि यो शुद्ध प्राकृतिक विपति हो, यसको कुनै ‘सामाजिकी’ छैन । कुनै ‘अर्थराजनीति’ छैन । कुनै ‘शक्तिसम्बन्ध’ छैन । ज्ञान, चेतना र बहससँग यसको कुनै सम्बन्ध छैन । ती सबै बुद्धिविलास हुन् । यो ठानियो भने अब अर्को भूल हुनेछ । महाभूकम्प त गइ नै सक्यो, गर्नु नगर्नु गरि नै सक्यो, हामीले यस्तो ठान्ने भूल गर्‍यौं भने यो अर्को ‘महाभूल’ हुनेछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?