+
+

नेपाली बालसाहित्य : नलेखिएको हो वा नपढिएको ?

अंगद सिंह अंगद सिंह
२०७८ माघ ५ गते ८:५४

५ माघ, काठमाडौं । बालबालिका स्वभावैले जिज्ञासु र उत्सुक हुन्छन् । अढाइ/तीन वर्ष नपुग्दै उनीहरु हरेक वस्तुलाई छुन खोज्छन्, सुनेका आवाज र शब्दलाई आफ्नो बुझाइमार्फत अभिव्यक्ति गर्ने प्रयास गरिरहेका हुन्छन् ।

अघिल्लो पुस्ताका बालबालिकाको बालज्ञान र साहित्यको भोक हजुरबाआमाबाट पुरा हुन्थ्यो । उनीहरुले लोककथा, दन्तेकथाबाट कल्पनाशील हुने र ज्ञान प्राप्त गरे भने अहिलेका बालबालिकाको ज्ञान हासिल गर्ने थलो किताब नै हो, अर्थात बाल साहित्य नै हो ।

बालबालिकालाई आफ्नो भाषा–संस्कृति, चालचलन, परिवेश र आर्दशबारे बालसाहित्यले नै परिचित गराउँछ । बालसाहित्यबाट नै बालबालिका कल्पनाशील र स्वप्नशील हुन्छन् ।

बालबालिकामा पढ्ने बानी पनि विकास भएको छ । बालसाहित्यमा उनीहरुको रुचि छ, तर बजारमा उपलब्ध पुस्तकहरूले उनीहरुलाई आकर्षित गर्न सकेका छैनन् । बालसाहित्य लेखक कृष्णदीप सिग्देल नेपाली बाल साहित्य थोरै मात्र लेखिएको र लेखिएकोमध्ये पनि निकै कम मात्रामा पढिएको बताउँछन् ।

नेपाली बाल साहित्य नपढिनुको प्रमुख कारण भाषागत समस्या पनि हो । पछिल्लो समय अंग्रेजी भाषाले महत्व पाउँदा विद्यालयहरुमा नेपाली भाषा शिक्षण नै कमजोर बनेको छ ।

‘लेखक कहलिन र आत्मरतिका लागि मात्र बालसाहित्य लेखिएको छ’, उनी भन्छन्, ‘९० प्रतिशत नेपाली बालसाहित्य वास्तविक रुपमा बालबालिका लक्षित नै छैनन् । बालमनोविज्ञान, रुचि र आवश्यकता बुझेर लेख्ने लेखक औंलामा गन्न सकिन्छ ।’

लेखकले बाल मनोविज्ञान बुझेर, बाहिरको अभ्यास हेरेर, सिर्जनशील र नवीन शैली नअपनाउँदा नेपाली बालबालिकाले रुचिकर साहित्य पढ्न नपाएको सिग्देल बताउँछन् । उनका अनुसार, हाम्रो बाल साहित्य लेखक केन्द्रित छ, बालमनोविज्ञान र रुचिमा केन्द्रित छैन ।

नेपाली लेखकहरुले बालबालिकालाई केन्द्रमा राखेर उनीहरुका लागि नयाँ र स्वादका सिर्जना प्रस्तुत गर्न नसकेको बताउँदै उनी भन्छन्, ‘बाल मनोविज्ञान बुझेर, अन्य देशका बालसाहित्य अध्ययन गरेर लेख्ने काम भएजस्तो लाग्दैन ।’

नेपालमा बाल साहित्यबारे छलफल–बहस गर्ने, अभिभावक, शिक्षक र बालबालिकालाई सूसुचित गर्ने काम पनि हुन नसकेको सिग्देल बताउँछन् ।

उनको बुझाइमा, नेपाली बाल साहित्य नपढिनुको प्रमुख कारण भाषागत समस्या पनि हो । पछिल्लो समय अंग्रेजी भाषाले महत्व पाउँदा विद्यालयहरुमा नेपाली भाषा शिक्षण नै कमजोर बनेको छ ।

‘विद्यालयहरुमा नेपाली विषय नै हेलामा पर्दा नेपाली साहित्यले महत्व पाउने कुरै भएन’, सिग्देल भन्छन्, ‘अभिभावक र शिक्षकलाई  अंग्रेजी भए पुग्ने अवस्था आएपछि बालबालिकाले नेपाली साहित्य पढ्न पाउने कुरा पनि भएन ।’

नेपाली बालसाहित्यको अरु पनि समस्या छ । जस्तो– विषयबस्तु र पुस्तकको आवरणदेखि चित्रसम्म अंग्रेजी बालसाहित्यको किताबको तुलनामा कमजोर छ । ‘पुस्तकभित्र पस्न सुरुमा आँखा लोभिनुपर्छ, आँखाले मन पराए बालबालिकाको मनमस्तिष्क पढ्न उत्सुक हुन्छ’, सिग्देल भन्छन्, ‘पढ्न थालेपछि विषयवस्तु र प्रस्तुतीले समात्न सक्नुपर्छ ।’ बाल साहित्यको कितावको आवरण नै बालबालिकालाई रिझाउन सक्ने हुनुपर्ने उनी बताउँछन् ।

बालमनोविज्ञान कल्पनाशील र स्वप्नशील हुन्छ । त्यस्तै विषयवस्तु, परिवेश, पात्र र कथा भए बालबालिकाको पठन रुचि बढ्ने सिग्देल बताउँछन् । ‘राम्रो बाल साहित्यले बालबालिकाको कल्पनाशक्ति र रचनात्मक क्षमता बढाएर उनीहरुलाई प्रखर वक्तासमेत बनाउँछ’, उनी भन्छन् ।

अर्का बाल साहित्यकार अनुराधा नेपाली बाल साहित्यका धेरैजसो पुस्तक उस्ताउस्तै र एउटै संरचनाका रहेका बताउँछिन् । उनका अनुसार, लेखकहरुले बालबालिकाको मनोविज्ञान बुझेर, उनीहरुको आवश्यकता पहिचान गरेर अनि उनीहरुलाई केही नजान्ने–नबुझ्ने ठान्न छाडेर नलेखेसम्म यो समस्या रहिरहन्छ ।

‘लेखकहरुले बाल मनोविज्ञानबारे अध्ययन नगरी आफूलाई लागेको कुरा लेखेर थोपरिरहेको अवस्था छ’, उनी भन्छिन्, ‘त्यसैले सबभन्दा पहिला त बालसाहित्य लेखकहरु नै परिमार्जित हुन जरुरी छ ।’

राम्रो बालसाहित्य सिर्जनाका लागि लेखकले विभिन्न अनुसन्धान पेपर पढ्नुपर्ने, बालबालिकाका चाहना–आकांक्षा बुझ्नुपर्ने र आफ्नै बाल्यकाल सम्झेर सामान्यीकरण गर्न छाड्नुपर्ने अनुराधाको भनाइ छ ।

उनी नेपाली बालसाहित्य लेखकमा मात्र हैन, अभिभावक र शिक्षकमा पनि समस्या देख्छिन् । ‘बालसाहित्यमा बालबालिकालाई तान्ने कथावस्तु, प्रस्तुती शैली र विविधता त छैन नै’, उनी भन्छिन्, ‘नेपालमा बालबालिकालाई साहित्य पढ्न प्रेरित गर्ने अभिभावक र शिक्षक पनि निकै कम छन् ।’

****

एकता पुस्तक डिस्टिब्युर्टसकी कविता मगर बालसाहित्यका पुस्तक खोज्ने अभिभावक र बालबालिकाको संख्या बढेको तर, नेपाली बालसाहित्यका पुस्तक नै कम रहेको, तिनको गुणस्तर पनि विदेशी पुस्तकको जति नभएको बताउँछिन् । ‘अहिले पढ्ने बानीको विकास भएको छ । बालबालिकाले तीन कक्षादेखि नै बालसाहित्य खोज्न थालेका छन्’, मगर भन्छिन्, ‘तीमध्ये धेरैजसोले नेपालीभन्दा अंग्रेजी बालसाहित्य रुचाएको पाइन्छ । नेपाली बालसाहित्यको राम्रा–राम्रा किताब प्रकाशित गर्न बजार सानो भएको भनेर डराएको जस्तो पनि देखिन्छ ।’

नेपाली बालसाहित्यका जति पुस्तक आउँछन्, तिनमा थ्रिलर, सस्पेन्स, फेन्टासी र विज्ञानसम्बन्धी विषयवस्तु निकै कम हुने भएकाले पनि बालबालिकाले अंग्रेजी साहित्य रोजेको हुन सक्ने मगर बताउँछिन् ।

घरदेखि विद्यालयसम्म अंग्रेजी भाषाले पाएको महत्व र इन्टरनेट प्रयोगले नेपाली बालबालिकालाई नेपाली भाषा कठिन र अंग्रेजी सहज बन्दै गएको छ । यो कारण पनि धेरैले अंग्रेजी बालसाहित्य रोज्ने गरेको मगर बताउँछिन् ।

नेपाली पत्रपत्रिकामा बालसाहित्यबारे लेखेको, समीक्षा गरेको पनि पाइँदैन । मिडियाले बालबालिका र अभिभावकलाई बालसाहित्यका किताबबारे सूसुचित नगरेको दुःखद अवस्था कायम छ ।

साहित्यकार अनुराधा पनि भाषागत कारण बालबालिकाको रोजाइमा नेपालीभन्दा अंग्रेजी पर्ने गरेको बताउँछिन् । अभिभावकले आफ्ना नानीबाबुले अंग्रेजी बोल्दा गर्व गर्ने, नेपाली नजान्दा वास्ता नगर्ने र विद्यालयले पनि नेपाली भाषालाई महत्व नदिंदा नेपाली बालसाहित्य ओझेलमा परेको उनले बताइन् ।

‘नेपाली बालसाहित्य लेखकहरुले आजका बालबालिकाको बदलिदो रुचि, चाहना र आकांक्षा बुझेर उनीहरुको आवश्यकता अनुसारको खुराक पस्किन नसकेको एउटा पक्ष छँदैछ’, अनुराधा भन्छिन्, ‘त्यसबाहेक विद्यालय र अभिभावकको अंग्रेजी मोहले पनि नेपाली बालसाहित्य ओझेलमा परेको छ ।’

नेपाली बालसाहित्यका पुस्तकमा विविधता नहुनु, सबै उपदेश दिने खालका हुनु, वर्षौंदेखि एउटै शैली रहनु पनि ठूलो समस्याको रुपमा रहेको उनी बताउँछिन् ।

संख्या बढ्यो, गुणस्तर बढेन

नेपाली बालसाहित्यको प्रकाशन संख्या बढे पनि गुणस्तर बलियो हुन नसकिरहेको बालसाहित्य लेखकहरु नै बताउँछन् । बजारमा अंग्रेजी बालसाहित्यका पुस्तकका अगाडि नेपाली बालसाहित्यलाई टिक्न हम्मे पर्नुको प्रमुख कारण गुणस्तर नै भएको बालसाहित्य लेखक कृष्णदीप सिग्देल बताउँछन् ।

हुन पनि, अंग्रेजी बालसाहित्यका पुस्तकहरुको श्रृङ्खला नै नेपाली बजारमा बिक्री भइरहेका छन्, तर नेपाली बालसाहित्य त्यसरी लोकप्रिय बन्न सकेको छैन । एकता पुस्तककी कविता मगरका अनुसार नेपाली बालबालिकालाई रिझाउन सक्ने नेपाली साहित्यका पुस्तक निकै कम आउँछन् ।

बालसाहित्यको अभिलेखीकरण समेत गरेका लेखक प्रमोद प्रधान भने भाषालाई नेपाली बालसाहित्य पछाडि पर्नुको मुख्य कारण मान्छन् । अंग्रेजी पढ्ने संस्कारका कारण नेपाली बालसाहित्य पछाडि परेको उनको तर्क छ ।

उनको बुझाइमा, नेपाली बालसाहित्यका पुस्तकबारे अभिभावक र शिक्षकहरु अनविज्ञ छन् । ‘अभिभावकले बालबालिकालाई खेलौना, चकलेट सजिलै किनिदिन्छन्, तर पुस्तकमा वास्ता छैन’, उनी भन्छन्, ‘बालसाहित्य किन्नै परे सबैको प्राथमिकता अंग्रेजीमा हुन्छ । नेपाली भाषालाई प्रोत्साहन गर्ने शिक्षा नीति नल्याएसम्म अंग्रेजीकै हाइहाई चलिरहन्छ ।’

प्रचारप्रसारको कमी

नेपालमा पश्चिमको तुलनामा निकै ढिला बालसाहित्य सुरु भएकाले पनि नेपाली बालसाहित्य स्थापित हुन नसकेको प्रधान बताउँछन् । त्यसमाथि, बालबालिकाको उमेर, रुचि, चाहना र मानसिकता बुझेर बालसाहित्य लेख्नुपर्ने भएकाले लेखन सहज नहुने उनले बताए ।

लेखक सिग्देल नेपाली बालसाहित्यको प्रचारप्रसार पनि हुन नसकेको बताउँछन् । बालसाहित्यबारे लेखक, शिक्षक र अभिभावकबीच बहस चलाउने त संस्कार नै नभएको बताउँदै उनी भन्छन्, ‘नेपाली पत्रपत्रिकामा बालसाहित्यबारे लेखेको, समीक्षा गरेको पनि पाइँदैन । मिडियाले बालबालिका र अभिभावकलाई बालसाहित्यका किताबबारे सूसुचित नगरेको दुःखद अवस्था कायम छ ।’

उमेर अनुसार बालसाहित्यको अभाव

लेखक प्रमोद प्रधान नेपाली बालसाहित्य तीनदेखि सात वर्षसम्मका बालबालिका लक्षित भएकाले किशोर पाठकहरु साहित्यको प्यास मेटाउन वयस्क साहित्य रोज्न बाध्य बनिरहेका बताउँछन् ।

अर्का लेखक सिग्देलका अनुसार बालसाहित्यमा तीन–पाँच वर्ष समूह, पाँच–सात वर्ष समूह, सात–नौ वर्ष समूह र नौ–१२ वर्ष समूह हुन्छ । उमेर समूहअनुसार रुचि, मानसिक क्षमता, सोच्ने शैली र आवश्यकता फरक हुने भएकाले लेखकले कुनै एक उमेर समूह लक्षित भएर लेख्नुपर्ने उनी बताउँछन् ।

नेपालमा शिशु साहित्य, बाल साहित्यका पुस्तक पाइने तर ९–१२ वर्ष उमेर समुहका लागि किशोर साहित्य निकै कम लेखिएको सिग्देल बताउँछन् ।

बालबालिकालाई पुस्तक किनिदिने भनेका अभिभावक र कतिपय अवस्थामा शिक्षक हुन् । किताब आफूले पढेर मात्रै किन्न लेखक सिग्देलको सुझाव छ । उनी भन्छन्, ‘आफ्ना बालबालिकालाई कल्पनाशील र सृजनशील बनाउने खालको बालसाहित्य किताब छनोट गर्नु पर्छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?