Comments Add Comment

भूकम्पले पुर्‍याएकोे आर्थिक क्षतिबारे तथ्यांक संकलन गरिँदै

BHUKAMPA (44)४ जेठ, काठमाडौं । भूकम्पले कुन-कुन क्षेत्रमा के कति आर्थिक क्षति पुर्‍यायो भनेर तथ्यांक संकलन गर्न थालिएको छ । सरकारको सल्लाहकारसमेत रहेको नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका सरोकारवालाहरुलाई पत्राचार गरी भूकम्पले पुर्‍याएको क्षतिबारे तथ्यांक माग गरेको छ ।

‘भूकम्पले के कति क्षति गर्‍यो भनेर वित्तीय क्षेत्रसँग सरोकार राख्ने निकायहरुसँग विवरण माग गरेका छौं’ राष्ट्र बैंक परिसरमा टाँगिएको त्रिपालभित्रैबाट डेपुटी गभर्नर महाप्रसाद अधिकारीले अनलाइनखबरसँग भने- तथ्यांक आउन थालिसकेको छ । हालसम्म करिब दर्जन संस्थाहरुले क्षतिको विवरण बुझाइसकेका छन ।

तथ्यांक संकलन पश्चात भूकम्पले पुर्‍याएको असर कम गर्न सरकारले उपयुक्त नीति अबलम्बन गर्ने अधिकारीले जानकारी दिए । भूकम्पले कर्जाको किस्ता प्रभावित हुन सक्ने र बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक बर्षको नाफा नै प्रभावित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्र बैंकले सेवामुलक, उत्पादनमूलक र ट्रेडिङ सबै क्षेत्रसँग क्षतिको विवरण मागेको हो ।

‘भूकम्पले देशको अर्थतन्त्रमा खर्बौंको क्षति पुर्‍याएको छ । सम्पूर्ण तथ्यांक आइसकेपछि यसलाई कसरी अवसरकोरुपमा बदल्ने भन्नेतर्फ हाम्रो ध्यान केन्दि्रत हुनेछ ।’ उनले भने । संयुक्त राष्ट्र संघले भूकम्पले नेपालमा १० खर्बको हाराहारीमा आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेका छन ।

घरजग्गामा १५ अर्बको क्षतिने

नेपाल घरजग्गा व्यवसायी संघले भूकम्पले घरजग्गा व्यवसायमा १५ अर्ब रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययन प्रतिवेदन राष्ट्र बैंकमा बुझाइसकेको छ । जसमा ६० प्रतिशत बैंकबाट ऋण लिएका आयोजना र ४० प्रतिशत मात्रै व्यवसायीको आफ्नो लगानी क्षति भएको उल्लेख छ । ०७१ फागुन मसान्तसम्ममा घरजग्गा क्षेत्रमा बैंकहरुले १ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो व्यवसायमा करिब पाँच खर्ब लगानी भएको व्यवसायीहरुले दाबी गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment