Comments Add Comment

सैलुन व्यवसायमा अब्बल पूर्वकम्लरी

Shanta-Chaudhari-Dang

निमुसंगम घर्ती

२५ जेठ, घोराही । पहिले-पहिले अर्काको घरमा जुठा भाँडा माझ्ने, घाँस दाउरा गर्ने र ‘मालिक’को सेवा सुसार गर्ने पूर्व कम्लरी शान्दा चौधरीको दिनचर्या आजभोली फेरिएको छ । उनको हातमा हिजोआज कैची, व्लेड र काईंयो छ । किनकी १८ वर्षीया शान्ता आजभोली घोराहीको मेनरोडस्थित नेपाली सैलुनमा दाह्री-कपाल काट्ने काम गर्छिन् ।

त्रिपुर नगरपालिका ११ सेवारकी शान्ता सम्भवत दाङकै पहिलो किशोरी हुन् जस्ले दाह्री कपाल काट्ने कामलाई नै पेशा बनाएकी छन् । कम्लरी बस्दा हेलाहोचो सहेकी उनी अहिले सबैको आकर्षणको केन्द्र बनेकी छन् ।

‘बाटोमा हिँडिरहेकाहरु पनि एकछिन रोकिएर मैले कपाल काटेको हेर्छन्,’ एसएलसी परीक्षाको नतिजा कुरीरहेकी शान्ता भन्छिन्, ‘पहिले पहिले मसँग दाह्री कपाल कटाउन मान्छेहरु डराउथे अब त मेरो काम सबैले देखिसके । यसैबाट दुई-चार पैसा कमाएर पढ्ने र आफ्नै सैलुन खोल्ने बिचार छ ।’

शान्ता एक बर्षसम्म मालिकको घरमा कम्लरी बसेकी थिइन् । बर्षभरि काम गर्दा उनका अभिभावकले ४ हजार रुपैयाँ पाउँथे । त्यतिले खर्च चलाउन मुस्किल हुन्थ्यो । कम्लरी मुक्त घोषणापछि दाह्री-कपाल काट्ने तालिम लिइन् उनले । नाईफ नेपाल नामक संस्थाले बाँकेको नेपालगञ्जमा दिएको चार महिने तालिम लिएर दाङ आएकी शान्ताले काम पनि पाइन् । नेपाली सैलुनमा बिहानै आउने शान्तालाई कपाल वा दाह्री काटे बाफत आउने पैसाको आधा रकम दिने गरेको सैलुनका सञ्चालक बसन्त चौधरीले बताए ।

दाङसहित अधिकांश जिल्लाका सैलुनहरुमा मधेसी समुदायका पुरुषहरु कपाल काट्ने पेशामा संलग्न भएकोबेला शान्ता नमुनाको रुपमा बाहिर आएकी छन् । काम पाइन भनेर त्यत्तिकै बसेकाहरुलाई उनी सिप सिक्न सल्लाह पनि दिन्छिन्

पढाइसँगै आम्दानीको बाटो सैलुन व्यवसायलाई बनाउने शान्ताको योजना छ । घरमा बुवा नभएको र आर्थिक अवस्था कमजोर भएकाले घर खर्च चलाउन कपाल काट्ने काममा लागेको बताउने उनी यसमै भविष्य खोज्ने सुरमा छिन् ।

उनी अरु पेसेबर हजाम भन्दा कम छैनिन् । निर्धक्कसँग कैंची र ब्लेड चलाउँछिन् । ‘सुरुमा हात काम्थे अब त बानि बस्यो, ढुक्क भएर कपाल र दाह्री काट्न सक्छु,’ अनुभव सुनाउँदै शान्ताले भनिन्, ‘सिप भए सैलुन व्यवसाय चलाउन निकै सजिलो छ । थोरै लगानी, धेरै आम्दानी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment