Comments Add Comment

कांग्रेस नेता अफताब आलमलाई पक्राउ गर्न माग

Mohamad-Aftab-Alam

२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ८ वर्षअघि २३ युवकलाई जिउँदै जलाएर मारेको घटनाको अनुसन्धान नगरेको र अदालतको आदेशसमेत अवहेलना गरेको महान्याधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतको यो आदेशसँगै कांग्रेस नेता तथा पूर्वमन्त्री अफताव आलमलाई पक्राउ गरी मुद्दा चलाउन तीन वर्षअघि नै सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न दबाव परेको छ । शक्तिको आडमा आलम विरुद्ध सरकारी वकिलले मुद्दा दर्ता नगरेको आरोप छ ।

सर्वोच्च अदालतका न्यायाधीश गोविन्द उपाध्यायको एकल इजलासले सोमवार यसअघिको अदालतको फैसला कार्यन्वयन नगर्नुको कारण माग्दै महान्याधिवक्ता र सरकारी वकिललाई अदालतको अवहेलनामा कारवाही किन नगर्ने भनी कारण देखाऊ आदेश जारी गरेको हो ।

पहिलो संविधानसभा निर्वाचनका बेला रौतहट २ का कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमले बम बनाउने क्रममा विष्फोट हुँदा २३ जना युवा घाइते भएका थिए । पोल खुल्ने डरले घाइतेहरुलाई ईंटा भट्टामा जिउँदै जलाएर हत्या गरिएको भन्दै मृतकका परिवारले आलम विरुद्ध किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले आलम विरुद्ध जाहेरी लिन नमानेपछि नेपाल बार र मानव अधिकार आयोगको रोहवरमा पीडित परिवारले हुलाक मार्फत जाहेरी पठाएका थिए ।

सरकारी वकिलको कार्यालयले ०६५ जेठमा जाहेरी खारेज गर्दै मुद्दा नचलाउने निर्णय गरेपछि महान्याधिवक्ताको कार्यालयले सदर गरेको थियो । ०६५ असारमा महान्याधिवक्ता र सरकारी वकिलले मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेको भन्दै खारेज गरेपछि पीडित पक्ष त्यसलाई उत्प्रेषणको आदेशबाट बदर गरीपाउँ र मुद्दा चलाउनका लागि परमादेश गरी पाउँ भन्दै पुनः अदालत गएका थिए ।

मृतक २३ जना मध्ये त्रिलोकप्रताप सिंहका पिता नारायणप्रसाद सिंह र ओसी अख्तरकी आमा रुक्साना खातुनले दायर गरेको रिटमा अदालतले ०६९ जेठ १५ गते सरकारी वकिलको निर्णय बदर गर्दे उक्त मुद्दाको गम्भीर अनुसन्धान गरी थप प्रमाण बुझेर प्रचलित कानुन बमोजिम आलम लगायत विपक्षीमाथि कारवाही गर्न आदेश दिएको थियो ।

तर, त्यसपछि पनि न सो घटनाको अनुसन्धान भयो, न त अदालतको आदेश नै कार्यान्वयन भयो । अदालतको आदेश कार्यन्वयन नभएपछि पीडित पक्षको तर्फबाट विपक्षीलाई कारवाहीको माग गर्दै पुनः निवेदन परेकोमा अदालतले कारण देखाऊ आदेश जारी गरेको अभिवक्ता पुष्पराज पौडेलले बताए ।

पौडेलले भने-अदालतले अहिलेसम्म पहिलेको फैसला किन कार्यान्वयन गरेनौं, अवहेलनामा कारवाही नगर्नु पर्ने कि नपर्ने र अहिले त्यो मुद्दा के कस्तो अवस्थामा छ भनेर अदालतले कारण मागेको हो ।

आलमले चुनाव जित्नका लागि विपक्षीमाथि आक्रमण गर्न बम बनाउने कारखाना खोलेको र सो क्रममा विष्फोटनमा परी बम बनाउने काममा संलग्न व्यक्तिहरु घाइते भएका थिए । ती घाइतेलाई सामुहिक रुपमा जलाएर हत्या गरिएको र मृतकहरु अधिकांश भारतीय थिए भनी पीडित पक्षले जाहेरी दिएका छन् ।

यो मुद्दा चलिरहेकै बेला रुक्साना खातुनको पनि रहस्यमय हत्या भयो । खातुनको हत्या आलम पक्षले गरेको आरोप लाग्दै आएको छ । अर्का जाहेरीकर्ता नारायणप्रसाद सिंह अहिलेसम्म आलमको डरले भागी भागी हिँडेका छन् । आलमलाई पक्राउ गर्न माग गरेदेखि नै जाहेरीकर्ताको ज्यान जोखिममा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment