३१ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा पाराग्वेले उपाधि दाबेदार अर्जेन्टिनालाई बराबरी खेलेका छन् ।
आइतबार विहान भएको आफ्नो पहिलो खेलमा दुई गोलले पछि परेको पाराग्वेले उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनालाई २-२ को बराबरीमा रोकेको हो ।
खेलमा अर्जेन्टिनाले २९ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो ।
३६ औं मिनेटमा एन्जल डि मारियालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लिओनल मेस्सीले पेनाल्टी गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
तर, दोस्रो हाफमा पाराग्वेले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६० औं मिनेटमा भाल्डेजले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काउने संकेत दिए ।
खेलको अन्तिममा लुकास बारियोसले गोल गर्दै अर्जेन्टिनालाई २-२ को बराबरीमा रोकेका छन् ।
अर्जेन्टिनाले पछिल्लो २३ वर्षमा कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन ।
विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई यो पटक प्रमुख उपाधि दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा नै पाराग्वेले अर्जेन्टिनालाई च्याम्पियनको बाटो सहज छैन भन्ने प्रष्ट सन्देश दिएको छ ।
बराबरीपछि अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको विजेता उरुग्वे भन्दा २ अंकले पछि पारेको छ । उरुग्वेले जमैकालाई १-० ले पराजित गरेको छ ।