३२ जेठ, काठमाडौं । खुमबहादुर खड्का संयोजक रहेको सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानले जनमत संग्रहको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बझुएको छ ।
धर्म निरपेक्षता खारेज गर्नु पर्ने मागबारे प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति मौन रहेको भन्दै खड्काले त्यो स्वीकार्य नहुने बताए । धर्म निरपेक्षता वा धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र भन्नेमा जनमत संंग्रह गर्नु पर्ने खड्काको माग छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले धर्म निरपेक्षता विशेष परिस्थितिमा भएको भन्दै यसलाई गम्भीर रुपमा लिने बताएको भेटमा सहभागी अभियानका सदस्य सचिव कुमार रेग्मीले बताए ।
अभियानले सोमबार नै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री र सभाध्यक्षलाई बुझाइएको ज्ञापन पत्रमा मौलिक धर्म जस्तो संवेदनशील विषयलाई हलुका ढंगले हेरिएमा देश धार्मिक द्वन्द्वतर्फ जाने भन्दै संवेदनशील हुन आग्रह गरिएको छ ।
खड्का नेतृत्वको अभियानले वहुलवादसहितको वहुदलीय शासन व्यवस्थाको ग्यारेन्टी हुनु पर्ने र कुनै सम्झौता नगर्न माग गरिएको छ । साथै प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुनु पर्ने र माथिल्लो सभा समानुपातिक निर्वाचन प्रणालीबाट हुनु पर्ने माग छ ।
प्रदेश गठनबारे नामांकन र सीमाङ्कनको प्रमुख प्रश्नलाई थाति राख्दा उत्पन्न हुन सक्ने द्वन्द्वतर्फ ध्यान दिन र असन्तुष्ट दलहरुलाई पनि सहमतिमा लिएर जान आग्रह गरिएको छ ।
प्रतिक्रिया 4