२१ असार, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा सोमबार भएको अभ्यास खेलमा स्कटल्याण्ड, पपुवा न्यूगिनी र हङकङ विजयी भएका छन् ।
नेपाल र ओमनबीचको खेल भने वर्षाका कारण रद्द भएको छ ।
अभ्यास खेलमा स्कटल्याण्डले नामिबियालाई ६ विकेटले पराजित गरेको छ ।
नामिबियाले प्रस्तुत गरेको १२८ रनको लक्ष्य स्कटल्याण्डले १६.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसका लागि रिसिओ ब्यारेङटनले ६१ रनको योगदान दिए भने काइल कोएटजरले २८ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । रेमोन भान स्कोरले ४२ रन बनाए भने स्टीफन बार्डले ३२ र जेपी कोट्जेले २२ रन जोडे । नेदरल्याण्डका अल्साडेर इभन, गाभिन मेन र माइकल लकले समान २-२ विकेट लिएका छन् ।
अर्को खेलमा पपुवा न्यूगिनीले केन्यालाई डीएल मेथडका आधारमा ९ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनायो । जवाफमा पपुवा न्यूगिनीले ५ ओभरमा ४५ रन बनाउँदा पानीले खेल रोकियो र पपुवा न्यूगिनी डीएल मेडनका आधारमा ९ विकेटले विजयी बन्यो ।
हङकङले नेदरल्याण्डलाई हरायो
अर्को अभ्यास खेलमा हङकङले नेदरल्याण्डलाई ९ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । उसका लागि बाबर हायतले ४२ रन बनाए ।
नेदरल्याण्डका अहसान मलिकले ३ विकेट लिए भने टिम भान डेर गुप्टिनले २ विकेट हात पारे ।
जवाफमा मैदान उत्रिएको नेदरल्याण्ड १९.२ ओभरमा १०४ रन जोड्दा अलआउट भयो । उसका लागि पिटर बोरेनले सर्वाधिक २२ रन बनाए ।
हङकङका तचनवीर अफजल र अनस खानले समान ३-३ विकेट लिए भने इरफान अहमदले २ विकेट लिए ।