Comments Add Comment

पहिरोमा बेपत्ता भएकाको खोजि प्रभावकारी नभएको स्थानीयको गुनासो

सन्देश श्रेष्ठ
१७ साउन, कास्की । कास्कीमा बुधबार राति गएको पहिरोमा परी मृत्यू हुनेको संख्या ३५ पुगेको छ । वेपत्ता भएका मध्ये थप ३ जनाको शव भेटिएपछि मृतक संख्या ३५ पुगेको हो । कास्की प्रहरीका अनुसार पहिरोमा परेर मृत्यू हुनेको संख्या लुम्लेमा २७, भदौरेतामागीमा ६ र ढिकुरपोखरीमा २ जना पुगेका छन् ।
Lumle-land-Slide
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजिका क्रममा कास्कीको लुम्लेमा गएराती २ जना र भदौरेमा शनिवार दिउँसो १ जनाको शव भेट्टाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक केदारप्रसाद रजौरेले जानकारी दिए । उनका अनुसार भदौरेमा ६८ बषिर्य इन्द्रप्रसाद देवकोटा र ६२ बर्षीया रुद्रवति देवकोटाको शव भेटिएको छ । योसँगै लुम्लेमा मृत्यू हुनेको संख्या २७ पुगेको छ ।

त्यस्तै लुम्लेमा मित्रलाल पराजुलीका छोरा समीर पराजुलीको शव भेटिएको छ । योसँगै लुम्लेमा मृत्यू हुनेको संख्या ६ पुगेको हो ।

पहिरोमा परेर लुम्लेमा १ र भदौरेमा ३ गरी अझै ४ जना वेपत्ता छन् । यसअघि लुम्लेमा वेपत्ता हुनेको संख्या ६ भनिएपनि नाम रुजु गर्दा अब १ जना मात्र रहेको कास्की प्रहरीले प्रष्ट पारेको छ । लुम्लेमा अब ५ बर्षीया कविता शेर्पा मात्रै वेपत्ता रहेको रजौरेले बताए ।

त्यस्तै, भदौरेको पहिरोमा परेर ५ वषिर्य विश्व पराजुली, १० महिनाका किस्मत सुनार र १० बर्षका मनबहादुर विक वेपत्ता छन् । उनीहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खोजी प्रभावकारी नभएको गुनासो
यसैबीच, स्थानीयले वेपत्ताहरुको खोजी कार्य प्रभावकारी नभएको गुनासो गरेका छन् । उनीहरुले प्रहरीले खोजतलास गरिरहेको भएपनि श्रोत र साधनको अभावमा खोजी कार्य प्रभावकारी नभएको बताएका हुन् । स्थानीयबासी तथा मुक्ति समाज कास्कीका अध्यक्ष दामबहादुर विश्वकर्माले श्रोत र साधन बिनाको खोजि कार्यले वेपत्ता भेट्न मुश्किल हुँदै भने,-‘प्रहरी आएर खोजतलास गरिरहेका छन् तर आवश्यक श्रोत र साधन छैन, अनि कसरी भेटिन्छ शव ? हामी खोजी कार्य प्रभावकारी बनाउन आग्रह गर्छौं ।’

उनले बाँच्नेहरु पनि बिचल्ली अवस्थामा रहेको बताउँदै भने,-‘मर्ने त मरेर गए, बाँच्नेको विचल्ली परेको छ, अब बाँचेकालाई गाँस, बास र कपासको ब्यबस्था गर्नुपर्छ ।’

प्रशासन र रेडक्रसद्वारा राहत प्रदान
यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले पीडित परिवारलाई राहत प्रदान गरेको छ । पीडित ३० परिवार र घर बगाएकाहरुलाई घर निर्माणका लागि गरेर कुल १२ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । मृतक परिवारलाई किरिया खर्च ४० हजारको दरले र पुर्ण रुपमा क्षति भएका घर परिवारलाई प्रारम्भिक चरणमा ५ हजार प्रदान गरेको राउतले बताए ।

त्यस्तै नेपाल रडक्रस सोसाइटी कास्कीले पनि राहत वितरण गरेको छ । पीडित परिवारलाई खाद्यान्न सामग्री दाल, चामल, नुन, तेल तथा त्रिपाल, कम्मललगायतका सामग्री वितरण गरिएको रेडक्रस कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment