Comments Add Comment

कीर्तिपुरमा बाघभैरव जात्रा मनाइँदै

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्राचीन जात्रामध्येको बाघभैरव जात्रा  कीर्तिपुरमा मङ्गलबार मनाइँदै छ ।

कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने प्रचलन छ । समुन्द्री सतहबाट चार हजार आठ सय फि उचाइमा रही पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीनबस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरमा लाग्ने जात्रा मध्येको विशिष्ट भएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिए ।

जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ ।

शाक्यका अनुसार जात्राका दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ । पूर्वतर्फ फर्केको बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ ।

एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले उपत्यकाका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाई यस क्षेत्रमा आएर उसको बध गरी त्यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेका हुन् ।

त्यस्तै अर्को किंवदन्तीअनुसार उत्तरतर्फको बस्तीका गोठाला त्यहाँको जङ्गलमा पशु चराउन जान्थे । एक दिन गोठालाले माटाको खेलौनाका रुपमा  बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई त्यसले चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र  मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ ।

बाघभैरवको मूर्ति विभिन्न समयमा जीर्णोद्धार गरिँदै आएकामा दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा तान्त्रिक विधिद्वारा जीर्णोद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment