१२ भदौ, काठमाडौं । नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो ।
त्यसयता नेपाली पुरुष फुटबल टीमले कुनै पनि अन्तराष्ट्रिय उपाधि जित्न सकेको थिएन । साफमा उपाधि दिलाउँदा टोलीमा रहेका बालगोपाल महर्जन अहिले यू-१९ टोलीका प्रशिक्षक छन् ।
शनिबार सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा तेज तामाङको गोलबाट अग्रता लिएको थियो ।
अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । कर्नरमा बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेपनि क्लियर गर्न नसक्दा अनमार्क रहेका तेजले गोल गरे ।
गोलको भिडियो हेर्नुस्
पहिलो हाफमा नेपालले निकै आक्रमक खेल प्रस्तुत गरेपनि भारतीय गोलरक्षक बाधक बने । दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन गर्यो । दुबै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन ।
तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टी पायो । नेपालका दिनेश राजवंशीले डि बक्स भित्र हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा भारतले बराबरी गोल गर्यो ।
निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइयो ।
पेनाल्टी सुट आउटमा नेपाली गोलरक्षक सोजित गुरुङले भारतका मोनुद्दिनको प्रहार रोके । नेपालका हेमन्त थापा मगरले गोल गरेपछि घरेलु टोलीले पेनाल्टी सुट आउटमा अग्रता लियो ।
त्यसपछि दुबै टोलीका खेलाडीले पेनाल्टीमा गोल गरे । अन्तिम पेनाल्टीमा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए । खेलपछि अनन्तले भने-दबाव थियो । तर, आफूमाथि गोल गर्न सक्छु भन्ने विश्वास थियो ।’
कप्तान विमल घर्ती मगरले आफ्नो टोलीले इतिहास रच्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।
प्रशिक्षक बालगोपाल महर्जनले जितको श्रेय खेलाडीहरुलाई दिए । ‘अत्यन्तै खुसी लागेको छ’ उनले भने-यो नजिताले साफको कुनै पनि टीमलाई हराउन सक्छ भन्ने प्रमाणित गरेको छ । उसले नाली फुटबललाई माथि लैजाने मदत गर्छ ।’
यो पनि पढ्नुस्
दुई दशकपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्दा … (फोटो फिचर)
प्रतिक्रिया 4