७ असोज, काठमाडौं । नयाँ संविधानका विषयमा प्रतिक्रिया नदिई मौन बसेका नागरिक अगुवा दमननाथ ढुंगानाले बुधबार मुख खोलेका छन् । उनले देशका सबै भूभागमा लागू हुनेखालको संविधान चाहिएको प्रतिक्रिया दिएका छन् ।
अहिले जारी भएको संविधानलाई मुलुकको जनसंख्याको आधा भूभाग ओगट्ने मधेसले अस्वीकार गरेको भन्दै ढुंगानाले देशको मूल कानून नेपालभरि लागू हुनेखालको हुनुपर्ने अनलाइनखबरलाई प्रतिक्रिया दिए ।
आफूहरु अहिलेसम्म संविधानसभालाई विश्वास गरेर मौन बसेको जानकारी दिँदै पूर्वसभामुखसमेत रहेका ढुंगानाले अहिले राष्ट्रिय संकटको परिस्थिति सिर्जना भएकाले नागरिक अगुवाहरुले बोल्नु परेको बताए ।
तराई मधेसको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै बुधबार जारी नागरिक अगुवाहरुको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेपछि ढुंगानाले अनलाइनखबरसँग यसो भने-
नागरिक अगुवाहरुका तर्फबाट तपाईहरुले गरेको संयुक्त आह्वानको आशय के हो ?
हाम्रो आह्वान के हो भने नेपालभरि लागू गर्ने संविधान चाहियो भन्ने हो । देशको सबै भूभागमा लागू हुने संविधान चाहियो । सबैले स्वीकार गर्ने, सबैले उत्सव मनाउने संविधान चाहियो । मेरो भनाइ यही हो ।
संविधानसभाले बनाएको संविधान ‘सबै नेपालीको’ बन्न नसकेको हो त ?
यो संविधानलाई नेपालीमात्रको संविधान बनाउनुपर्यो । कुनै भूभागले उत्सव मनाउने, कुनै भूभागले त्यसलाई कालो संविधानका रुपमा लिने, त्यस्तो संविधान मुलुकले खोजेको होइन ।
संविधान त आइ नै सक्यो, अब के गर्ने त ?
अब वार्ता सम्वाद गरेर असन्तुष्ट पक्षलाई, खासगरी तराई मधेसलाई समेत उसका कुराहरुलाई अधिकतम स्थान दिनुपर्छ । र, वार्ता सम्वादद्वारा यसलाई मुलुकको सम्पूर्ण भूभागमा लागू हुने, सहर्ष स्वीकार गर्ने संविधान बनाउनुपर्यो ।
तर, मधेसलाई भारतले उचालेको भन्ने आरोप छ नि अधिकांशको ?
यो मलाई थाहा छैन । तपाई प्रश्न गर्नेलाई थाहा होला ।
अहिलेसम्म नागरिक समाजका अगुवाहरु मौन बसेका थिए, संविधान बनेपछि मात्रै संयुक्त वक्तव्य आयो, किन ?
हामीले संविधानसभालाई नै जिम्मा लगाएका थियौं । संविधानसभामाथिको विश्वास हो त्यो । हाम्रो आन्दोलन भनेको त जनप्रतिनिधिमूलक संस्थाका लागि नै थियो ।
फेरि के हुन्छ भने नागरिक समाज भनेको त स्वतन्त्रता खतरामा परेका बेलामा मात्रै अगाडि आउने हो ।
अहिले तपाईहरुले संयुक्त वक्तव्य दिनुको कारण यही हो त ? के अहिले हाम्रो स्वतन्त्रता नै खतरामा परेको अवस्था हो ?
कुरो यसो छ, संकट के छ भने संविधान भनेको मुलुकको मूल कानून हो । मूल कानून देशको सबै भूभागमा लागू हुनुपर्छ । एउटा मधेस, जनसंख्याको हिसाबले मुलुकको ठूलो भागले संविधानलाई अस्वीकार गरिराखेको छ । त्यसकारण अहिले राष्ट्रिय संकटको परिस्थिति हो यो ।
प्रतिक्रिया 4