१२ असोज, काठमाडौं । भारतका लागि नेपाली राजदूतले नाकाबन्दी नलगाएको दावी गरिरहँदा भारतबाट मंगलबार एक गाडी पनि डिजेल/पेट्रोल नेपाल भित्रिएन । देशका प्रमुख भन्सार नाकाहरुमा भारतीय पक्षको अवरोका कारण एक ट्यांकर तेल पनि नेपाल नभित्रिएको हो ।
एक बुलेट ग्यास आयो !
सोमबार एक ट्यांकर तेल आएको थियो । बाँकेको जमुनाह नाकाबाट मंगलबार एक बुलेट ग्याँस भने नेपाल आएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज र बिराटनगर नाकामा मधेसी मोर्चाको अवरोध जारी छ भने भैरहवा नाका दिउँसो आन्दोलनकारी र स्थानीयबीच झडप भएपछि भारतले एउटा पनि गाडी नेपाल भित्रिन दिएन ।
सोमबार केही खुकुलो भएको भैरहवा नाकाबाट केही पर्यटकीय बस बाहेक कुनै मालबहाक सवारी भित्रिएन । बीरगञ्ज र बिराटनगर नाकामा भने मधेसी मोर्चाले ७ दिनदेखि अवरोध जारी राखेका छन् ।
दिनभरमा २५ गाडी भित्रिए
मंगलबार बाँकेको जमुनाह र काँकडभिट्टाको मेची भन्सार नाकाबाट भने अघिल्ला दिनमा जस्तै अधिकांश सड्न र बिग्रनसक्ने बस्तु मात्रै नेपाल आए । दुई नाकाबाट २५ गाडीमात्र प्रवेश गरे ।
जमुनाहबाट ३ ट्रक आलु, २ ट्रक केमिकलसहित खरानी, सिमेन्ट,फलामर साइकलको पार्टपूर्जा बोकेका एक-एक गाडीलाई भारतले छोडेको छ ।
यसैगरी मेची भन्सारबाट भारतले ४ गाडी आलु, २ गाडी प्याज, २ गाडी माछा र १ ट्रक तरकारी नेपाल आउन दियो । यसैगरी क्लिंकर, खरानी, कोइला बोकेका केही गाडी पनि भित्रिएका छन् ।
प्रतिक्रिया 4