
१३ असोज, रौतहट । सरकारले वार्ताका लागि गरेको आग्रहबारे छलफल गर्न रौतहटको गौरमा बुधवार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक शुरु भएको छ ।
तीन दलको वार्ता टोली र तराई मधेस लोकतन्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच काठमाडौंमा भएको अनौपचारिक वार्तामा तीन दलले गरेको प्रस्ताव लिएर ठाकुर गौर पुगेका छन् ।
सरकारी प्रस्तावबारे जवाफ दिनका लागि गौरमा मधेसी मोर्चाको बैठक बसेको हो । बैठकमा मोर्चाका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादव सहभागी छन् ।
बैठकका लागि मोर्चाको चारै जना नेताहरु भारतीय सीमा हुँदै गौर पुगेका हुन् । उपेन्द्र यादव विराटनगरबाट जोगबनी नाका हुँदै सडक मार्गबाट गौर पुगेका छन् । त्यस्तै महन्थ ठाकुर र राजेन्द्र महतो रक्सौलबाट रेलमार्फत् गौर पुगेका हुन् । महेन्द्रराय यादव पनि सीतामढीबाट रेलबाट नै बैरगिनया पुगेका थिए ।
विश्वस्त स्रोतका अनुसार गौरको सिया प्यालसमा बसिरहेको बैठकमा तमलोपमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री, राष्ट्रपति, तीन दलका अन्य शीर्ष नेताबीच भएको औपचारिक/अनौपचारिक वार्ताबारे मोर्चामा जानकारी गराएका छन् ।
बैठकमा तीन दलले मधेस आन्दोलनको माग सम्बोधनबारे तमलोपा अध्यक्ष ठाकुरमार्फत पठाएको प्रस्ताव माथि चर्चा हुनेछ र महात्मा गान्धी जयन्ती अर्थात अक्टुबर २ तारेखदेखि मधेसमा असहयोग आन्दोलन चलाउनबारे पनि बैठकमा बिचार गरिने स्रोतले अनलाइनखबरलाई बतायो ।
यस्तै मोर्चाले बैठकमा बिहीवार मानव साङ्लोसहित राजमार्गमा गर्ने प्रदर्शनलाई सफल पार्न रणनीति बनाउने पनि बुझिएको छ ।
गौरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मुस्लिम सघर्ष गठबन्धनको संयुक्त आयोजनमा हुने विरोध सभालाई मोर्चाका चारवटै शीर्षनेता सम्बोधन गर्नेछन् ।