Comments Add Comment

सिराहामा मधेसी मोर्चाले एमाले भेला बिथोल्न खोज्दा झडप

१९ असोज, सिरहा । एमालेको क्षेत्रीय भेलामा आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा सिराहाका धनगढीमा सामान्य झडप भएको छ ।

आन्दोलकारी भन्दा एमाले कार्यकर्ताको संख्या धेरै भएपछि मोर्चाका कार्यकर्ता केहीबेर नाराबाजी गरेर फर्किएका थिए । धनगढीमा एमालेको क्षेत्र नम्बर ४ का कार्यकर्ताको भेला थियो ।

सिराहा ४ का एमाले नेता राम अवतार यादवको अगुवाईमा भएको क्षेत्रीय भेलामा संविधानका बारेमा जनतालाई यथार्थ जानकारी गराउन कार्यकर्तालाई प्रशिक्षण दिन खोज्दा मोर्चाले भाँड्ने प्रयास गरेको सांसद रामचन्द्र यादवले बताए ।

रामअवतार यादव सिराहा ४ मा गत चुनावमा १८४ मतको अन्तरमा पराजित भएका थिए । उनकै नेतृत्वमा सो क्षेत्रका अगुवा कार्यकर्तालाई संविधानमा मधेशका अधिकारबारे प्रशिक्षण दिने कार्यक्रम मंगलवार आयोजना भएको थियो ।

करीव २ सय अगुवा कार्यकर्ता भेलामा २५/३० जनाको संख्यामा गएका मोर्चाका कार्यकर्ताले ‘हाम्रो आन्दोलन र बन्द चलेका बेला किन संविधानका पक्षमा कार्यक्रम गरेको’ भन्दै होहल्ला गरेका थिए ।

उनीहरुले कार्यक्रमस्थल बाहिर एमाले र केपी ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । ‘हामीले संयमित नभएको भए झडप हुन सक्थ्यो । तर, हाम्रो संख्या धेरै देखेपछि सामान्य झडप हुनासाथ उनीहरु भागे’ यादवले भने ।

संविधानमा मधेसको पक्षका भएका कुरा पनि मोर्चाका कार्यकर्ताले छैन भन्दै जनतालाई भ्रम सिर्जना गरेकाले एमालेले कार्यकर्ता मार्फत जनतामा जानकारी गराउने अभियान चलाएको सांसद यादबले बताए । ‘केन्द्रको योजना अनुसार पहिले गाउँ र क्षेत्रीय कार्यकर्ता भेला गर्ने र त्यसपछि जिल्ला कमिटी बैठक बसेर जनतामा जाने कार्यक्रम बनाउन हामी मधेशमा अहिले केन्दि्रत छौं’ एमाले नेता यादवले भने ।

उनले आफूहरु आन्दोलनको प्रतिकार गर्न नहिडेको भन्दै एमालेको भेला बैठकमा आएर अवरोध गर्न खोजिए चूप नलाग्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment