+
+

बाबुरामका विकल्प : सन्यास लिने, एमाओवादीमा फर्कने या नयाँ शक्ति बनाउने ?

माओवादी नेता बाबुराम भट्टराईले केही दिनअघि पार्टी छाडेको घोषणा गरे । साथमा उनले सांसद पदसमेत त्यागेको घोषणा गरे । उनको यो कदमका बिषयमा अहिले अनेक टिप्पणी भइरहेका छन् । टिप्पणीहरु सकारात्मक कम नकारात्मक बढी छन् । धेरैजसोको बुझाइ तत्कालीन राजनीतिक जोडघटाउबाट रुष्ट भएर बाबुरामले यो सब गरे, बिदेशीको ईशारामा यसो गरे भन्ने छ । एमाओवादी पार्टीका नेताहरु पनि यस्तै टिप्पणी गरिरहेका छन् ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७२ असोज २४ गते १०:०३

माओवादी नेता बाबुराम भट्टराईले केही दिनअघि पार्टी छाडेको घोषणा गरे । साथमा उनले सांसद पदसमेत त्यागेको घोषणा गरे । उनको यो कदमका बिषयमा अहिले अनेक टिप्पणी भइरहेका छन् । टिप्पणीहरु सकारात्मक कम नकारात्मक बढी छन् । धेरैजसोको बुझाइ तत्कालीन राजनीतिक जोडघटाउबाट रुष्ट भएर बाबुरामले यो सब गरे, बिदेशीको ईशारामा यसो गरे भन्ने छ । एमाओवादी पार्टीका नेताहरु पनि यस्तै टिप्पणी गरिरहेका छन् ।

मोहन तिम्सिना
मोहन तिम्सिना

तर, बाबुरामजस्तो नेताको यो कदमलाई यसरी तत्कालीन राजनीतिसँग मात्र जोड्नु गलत हुन्छ । उनको यो निर्णयका पछाडि विभिन्न कारणहरुले काम गरेका हुन सक्छन् । खास गरी कम्युनिष्ट आन्दोलन बैचारिक संकटमा फसेको कुरा अगाडिदेखि नै उनले स्वीकार गर्दै आएका थिए । यसको विकल्पमा ‘नयाँ शक्ति’ निर्माण गर्नु पर्ने पनि उनले बताउँदै आएका थिए ।

समयको ठीक यही बिन्दुमा नै किन उनले यो कदम चाले ? यसबारे भोलिको दिनमा उनैले प्रष्ट पार्लान् । जे भए पनि बाबुरामको यो कदम एउटा ऐतिहासिक र प्रतिकात्मक महत्वको घटना बनेको छ, जुन नेपालको तत्कालीन राजनीतिसँग मात्र सम्बन्धित छैन । यो विश्व कम्युनिष्ट राजनीतिसँग सम्बन्धित छ, हुनेछ । बाबुराम आफुले यसलाई यसरी नै पुष्टि गर्छन् गर्दैनन्, यो अलग कुरा हो ।

सबैलाई थाहा छ, बाबुराम भट्टराई माओवादी राजनीतिबाट विश्वमा स्थापित नेता हुन् । निकै उथल पुथलपुर्ण राजनीतिक जीवनबाट उनी यहाँसम्म आए । संविधानसभामा सबैभन्दा वेसी मत अन्तरले बिजयी पात्र थिए उनी ।

माओवादी पार्टीका निर्णायक नेतामध्येका थिए । मुलुकको प्रधानमन्त्री भइसकेका पात्र थिए ।

वर्तमान अवस्थामा लोकप्रियतामा नम्बर १ मै थियो उनको नाम । सामाजिक सञ्जालहरुमा सबैभन्दा बेसी प्रशंसक र समर्थक उनकै थिए । अर्थात राजनीतिक जीवनमा उनलाई ‘पुग्दो’ नै थियो । यो अवस्थामा भएको मान्छेले आफुलाई सामान्य नागरिकको हैसियतमा झार्ने गरी गरेको निर्णयलाई मामुली घटनाका रुपमा लिन मिल्दैन ।

आज बाबुराम आफैं ‘प्रश्न’ भएका छन् । अर्थात अब अर्को प्रश्न जन्मिएको छ : किन कम्युनिष्ट नेता ‘बाबुराम’ हुन्छन् ? यस अर्थमा यो प्रतिकात्मक महत्वको घटना हो

बाबुरामले यसबारेे खुलस्त पारिसकेका छैनन् । उनको ‘नयाँ शक्ति’ सम्बन्धी अवधारणाले पनि मूर्त रुप धारण गरिसकेको छैन । तैपनि यति भन्न सकिन्छः उनीजतिको नेताका लागि संविधानका असन्तुष्टिबाटै यसरी पार्टी छोड्नुपर्ने अवस्था आएको पक्कै होइन । यसका पछाडि अरु नै कारण छन् । सम्भवतः उनी वैकल्पिक योजनामा छन् ।

पार्टी छोड्न अपनाएको तरिकामा नै उनले यस्तोे संकेत गरेका छन् । पहिलो कुरा उनको बहिर्गमन कम्युनिष्ट परम्परा भन्दा बिल्कुल फरक छ । जस्तो कि उनले पार्टी छोड्ने बेलामा आफ्ना समर्थकलाई आफ्नोपछि लाग्न उत्प्रेरित गरेनन् । पार्टीको माइन्युट खोसाखोस, झण्डा खोसाखोस पनि गरेनन् । पार्टी सम्पतिमा तेरो-मेरो भनी झगडा पनि गरेनन् ।

संसदीय दलमा विभाजन ल्याउने र सरकारको झगडामा उत्रिने काम पनि गरेनन् । बिल्कुल साधारण नागरिक भएर उनी पार्टीबाट बाहिरिएका छन् ।

दोस्रो, संविधान निर्माणको अन्त्यसम्म उनी दिलो ज्यानले खटेको देखिन्छ । संविधान जारी हुनुअगावै असन्तुष्टि सम्वोधन गर्नुपर्दछ भन्नेमा उनको जोड रह्यो । तैपनि संविधान निर्माणमा उनको भूमिका अहम थियो । जव संविधान जारी भयो त्यसपछि बल्ल उनले पार्टी र सांसद त्यागेका छन् ।

तेस्रो, पार्टी छोडेलगत्तै उनी संविधानप्रति असन्तुष्ट जनसमुदायसँगको अन्तरक्रियामा लागेका छन् । तराई-मधेस दुई महिनादेखि जलिरहेको थियो । तराई-मधेसबाट भोट जितेका सदस्यहरु आफ्ना क्षेत्रमा उभिन सकेका थिएनन् । उनी नै त्यस्ता पात्र देखिए जो प्रतिकुल अवस्थामा पनि तराई-मधेस दौडाहामा निस्किए ।

मुलुकमा यतिबेला बैकल्पिक राजनीतिको खाँचो भएको कुरा सत्य हो । तर, यसको नेतृत्व कस्ले गर्ने ? यो प्रष्ट भइसकेको थिएन, छैन । बाबुराम उपयुक्त पात्र हुन सक्छन् । तर, यसका लागि चिन्तन तथा राजनीतिको क्षेत्रमा उनले आफ्ना दृष्टिकोण समयमै प्रष्ट पार्न सक्नु पर्छ

त्यहाँ उनि नयाँ संविधानको पक्षमै बोलिरहेका छन् । वैदेशिक हस्तक्षेपको बिरुद्ध नै बोलिरहेका छन् । साथै असन्तुष्टहरुका जायज माग सम्वोधन हुनु पर्नेमा पनि अडिग छन् । यी घटनाहरुले बताउँछ, उनको पार्टी त्याग्नेे निर्णय आवेगात्मक वा तत्कालीन असन्तुष्टिको उपज मात्र होइन । साथै उनको मनसाय सामान्य नागरिक भएर बस्ने पनि होइन ।

कम्युनिष्टहरुका लागि पार्टी जोड्ने र फोड्ने कुरा चलिरहने सामान्य घटना हो । तर, बाबुरामले यसपालि परम्परा तोडेका छन् । कम्युनिष्ट वृत्तमा उनले एउटा चुनौतिपूर्ण सन्देस नै दिएका छन्ः ‘सिंगो जीवन माओवादी पार्टीमा समर्पित गरेर, कम्युनिष्ट नेताको रुपमा आफ्नो छवि विश्वमा स्थापित गराएर, फेरि सामान्य नागरिकको हैसियतमा वैकल्पिक राजनीति शुरु गर्ने जोखिमसहित एउटा प्रभावशाली नेताले कम्युनिष्ट पार्टी नै छोड्यो ।’ विश्वभरका कम्युनिष्टहरुका लागि यो निकै अनौठो र चुनौतिपुर्ण घटना हो ।

बाबुराम सफल हुन्छन् कि हुन्नन् ? त्यो अलग कुरा हो, भोलि समयले पक्कै देखाउनेछ । तर, यत्रो त्याग र जोखिम मोल्ने साहस आजसम्म नेपाल मात्र होइन, विश्वकै कुनै कम्युनिष्ट नेताले गरेको थिएन । त्यस अर्थमा भट्टराईको निर्णय ऐतिहासिक र प्रतिकात्मक घटना हो ।

कम्युनिष्ट आन्दोलनमाथि इतिहासदेखि नै आलोचना हुँदै आएको हो । यसअघिसम्म त्यस्तो आलोचना कि त कम्युनिष्ट आन्दोलनभित्रकै कुनै कनिष्ट पात्रले गर्दथ्यो, कि त कम्युनिष्ट आन्दोलनभन्दा बाहिरकाबाट हुन्थ्यो ।

जवाफमा कम्युनिष्ट आन्दोलनका ‘ठेकेदार’हरु यसलाई ‘वैचारिक विचलन’ वा ‘दुश्मनको बैचारिक आक्रमण’ भनिदिन्थे । कुरा सकिन्थ्यो । तर, यसपालि कम्युनिष्ट आन्दोलनकै शिखर पुरुषबाट कम्युनिष्टै राजनीतिमाथि कठोर प्रहार भयो । यस अर्थमा पनि बाबुरामकोे बहिर्गमन ऐतिहासिक र प्रतिकात्मक महत्वको घटना हो ।

कम्युनिष्टहरुलाई केही प्रश्नहरुले सधैं सताइरहन्छ । ती प्रश्नहरु कम्युनिष्ट नेताहरुका गलत निश्कर्षसँग सम्बन्धित छन् । अर्थात समाज कम्युनिष्ट नेताहरुले भविश्यवाणी गरे विपरीत हिँडिरहेको छ । हरेक ठाउँहरुमा असफलता नै असफलता छ । त्यसैले आलोचक वा प्रश्नकर्ताहरु ‘किन यस्तो भयो’ ? भनी प्रश्न गर्दथे । हिजो कम्युनिष्ट नेता हुनुको नाताले बाबुराम यी प्रश्नहरुको जवाफ दिने प्रयत्न गर्दथे । कम्युनिष्ट आन्दोलनको बचाउ गर्दथे । तर, आज बाबुराम आफैं ‘प्रश्न’ भएका छन् । अर्थात अब अर्को प्रश्न जन्मिएको छ : किन कम्युनिष्ट नेता ‘बाबुराम’ हुन्छन् ? यस अर्थमा यो प्रतिकात्मक महत्वको घटना हो ।

बाबुरामले कम्युनिष्ट पार्टी छोडेर गल्ती गरेका छैनन । उनले छोडे पनि नछोडे पनि एमाओवादी वा कम्युनिष्ट राजनीतिको आगामी दिशा विसर्जनतर्फकै हो

बाबुरामले पार्टी छोड्नुको सबैभन्दा निकट कारण, उनी ‘साम्यवादी निद्रा’बाट ब्युँझिएको हुन सक्छ । परिस्थितिमा आएको परिवर्तनसँगै उनले कम्युनिष्ट आन्दोलन पूर्णतः असान्दर्भिक भएको निश्कर्ष निकालेको हुन सक्छ । विश्व र नेपालमै पनि वैकल्पिक राजनीतिका लागि आधारभूमि तयार भएको देखेको हुन सक्छ । यो बाहेक अरु कारणले उनको पार्टी छोडाइको औचित्य सावित गर्दैन ।

यदि बाबुरामलेे आफुलाई कम्युनिष्ट लफ्फाजीबाट अलग गराएका हुन् र बैकल्पिक राजनीतिका लागि तयार गरेका हुन् भने उनको यो कदमलाई आजका युवाहरुले स्वागत नै गर्नु पर्दछ । आज मुलुक बिगि्रएको नै रुढीग्रस्त राजनीतिले हो । जबसम्म हामी उत्तर आधुनिक युगअनुरुपको बैकल्पिक राजनीति स्थापित गदैैनौं तबसम्म आजका नवयुवाहरुमाथि रुढीग्रस्त बुढाहरुले मूर्खतापूर्ण शासन गरि नै रहन्छन् ।

त्यसैले मुलुकमा यतिबेला बैकल्पिक राजनीतिको खाँचो भएको कुरा सत्य हो । तर, यसको नेतृत्व कस्ले गर्ने ? यो प्रष्ट भइसकेको थिएन, छैन । बाबुराम उपयुक्त पात्र हुन सक्छन् । तर, यसका लागि चिन्तन तथा राजनीतिको क्षेत्रमा उनले आफ्ना दृष्टिकोण समयमै प्रष्ट पार्न सक्नु पर्छ ।

खासगरी चिन्तनको क्षेत्रमा परम्परागत दार्शनिक बहस र बुझाइहरु असान्दर्भिक भएका छन् । सामन्ती युगको दैवी एकत्ववादी चिन्तनलाई औद्योगिक युगको पुँजिवादी/बिज्ञानवादी बहुलवादले विस्थापित गरेको थियो । बीसौं शताव्दीमा कम्युनिष्ट एकत्ववादले पुँजिवादी बहुलवादलाई विस्थापित गर्यो ।

बिसौं शताब्दीको मध्यसम्म आउँदा प्रजातान्त्रिक समाजवादका नाममा अन्तरघुलनवादी (usionist) चिन्तन देखा पर्‍यो । यसले माथिका दुवै चिन्तन प्रणालीका राम्रा पक्षहरुलाई अन्तरघुलन गराएर नयाँ बनाउने कुरा त गर्‍यो । तर, ठोस आकार धारण गर्न सकेन ।

आज भौतिक बिज्ञान क्वान्टम युगमा आइपुगेको छ । यसलाई सूचना युग, डिजीटल युग, कम्प्युटर युग आदि पनि भनिएको छ । आज भौतिक विज्ञानको क्षेत्रमा अहम महत्वका आविश्कार भएका छन् । जसका कारण हाम्रो उत्पादन प्रणाली मात्र होइन, समग्र ज्ञानशास्त्र र संस्कृति नै नयाँ ठाउँमा पुगेको छ ।

यसले हाम्रा परम्परागत चिन्तन प्रणालीहरुका सीमा प्रष्ट पारिदिएको छ । क्वान्टम युग एकत्ववादी, बहुलवादी वा अन्तरघुलनवादी युग भन्दा अलग छ । यसको सट्टा यसले हामीलाई व्यतीकरण (Interference) मा आधारित चिन्तन प्रणाली तर्फ डोर्‍याइरहेको छ । यसको अर्थ अब हामीसँग नौला बिकल्पहरु छन् । जस्तो कि
समाजशास्त्रमा : सामन्ती, पुँजिवादी, प्रजातान्त्रिक समाजवादी वा साम्यवादी सिद्धान्त असान्दर्भिक भएका छन् । यसको विकल्पमा द्वन्द्व सन्तुलनमा आधारित वैकल्पिक समाजवादी व्यवस्था सम्बन्धी अवधारणाको महत्व बढेर गएको छ ।

राजनीतिमा : परम्परावादी, पुँजिवादी र सर्वहारावादी दलहरुको सान्दर्भिकता सकिएको छ । यसको विकल्पमा श्रमिकवादी एवं मानवतावादी दलसम्बन्धी अवधारणाको महत्व बढेर गएको छ ।

संगठन प्रणालीमा : अधिनायकवादी, औपचारिकतावादी वा लेनिनवादी संगठनात्मक प्रणालीको सान्दर्भिकता सकिएको छ । यसको बिकल्पमा उत्तरआधुनिक संगठन प्रणाली सम्बन्धी अवधारणाको महत्व बढेर गएको छ ।

लोकतन्त्रमा : प्रत्यक्ष लोकतन्त्र, प्रतिनिधीमुलक लोकतन्त्र, साम्यवादी लोकतन्त्रको सान्दर्भीकता सकिएको छ । यसको बिकल्पमा सहभागीतामुलक लोकतन्त्र सम्बन्धी अवधारणाको महत्व बढेर गएको छ ।

अर्थतन्त्रमा : ठालुवादी, व्यक्तिवादी र साम्यवादी अर्थतन्त्रको सान्दर्भिकता सकिएको छ । यसको बिकल्पमा नीजत्व र सामुहिकताको द्धन्द सन्तुलनमा आधारित अर्थतन्त्र सम्बन्धी अवधारणाको महत्व बढेर गएको छ ।

बाबुरामले कम्युनिष्ट पार्टी छोडेर गल्ती गरेका छैनन । उनले छोडे पनि नछोडे पनि एमाओवादी वा कम्युनिष्ट राजनीतिको आगामी दिशा विसर्जनतर्फकै हो ।

यो सत्य हो कि धेरै मानिसहरुले कम्युनिष्ट आन्दोलनमा रगत आँशु र पसिना बगाएका छन् । तर भावना वा असल नियतले मात्र अब बिसर्जनको बाटोमा हिँडिरहेको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सम्भव छैन । बरु अबका दिनमा बैकल्पिक बिचार र राजनीतिले मात्र शहिदहरुका सपना पूरा गर्न सकिन्छ । त्यसैले पार्टी छोडेर भटराईले ठीकै गरेका छन् ।

तर, अब उनी बैकल्पिक बिचार र राजनीतिसहित अगाडि आउन सक्नुपर्दछ । तब मात्र उनले पार्टी छोडेको औचित्य सावित हुन सक्छ ।

बाबुराम यतिबेला चुनौती र सम्भावनाको दोसाँधमा छन् । यदि नयाँ युगले माग गरेको चिन्तन र व्यवहारमा खरो उत्रन सके भने उनी नयाँ युगको इतिहास पुरुष बन्न पनि सक्छन् । यसो भएन भने इतिहासले उनको कदमलाई दुस्साहस वा औचित्यहीन पनि भनिदिन सक्छ ।

आगामी दिनमा बाबुरामका अगाडि निम्न विकल्प छन् :

पहिलो : राजनीतिबाट सन्यास लिएर सामान्य नागरिकको जीवन जिउनु ।

दोश्रो : पुराना साथीहरुलाई भेला पारेर कुनै अर्को परम्परागत कम्युनिष्ट समुह खडा गर्नु ।

तेश्रो : फेरि एमाओवादीमा फर्कनु ।

चौथो : बैकल्पिक शक्तिलाई नेतृत्व प्रदान गर्नु ।

यी चार विकल्पमध्ये उनका लागि पहिलो र तेश्रो बिकल्पको सम्भावना न्युन छ । किनकि यी उनका लागि प्रिय बिकल्प होइनन् । दुइवटा विकल्प बलशाली देखिन्छन् । यसमध्धे दोश्रो बिकल्पमा जान उनलाई पुराना साथीहरुको दबाव आउन सक्छ । किनकि पुरानो स्कुलिंङ्गका उनका कार्यकर्ताहरुले सारा कम्युनिष्ट विरासत छोड्नुलाई पापकर्म ठान्दछन् । त्यसैले कम्युनिष्ट बिरासत छोड्न नहुने दबाव उनीमाथि आउन सक्छ । चौथो बिकल्पको पक्षमा पनि बिभिन्न तर्फबाट उनलाई प्रस्ताव आउन सक्छ । के गर्ने, आगे उनकै मर्जी ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?