२९ असोज, काठमाडौं । व्यवस्थापिका संसदको सभामुखमा ओनसरी घर्ती र उपसभामुखमा गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । एमाले, एमाओवादीसहितको सत्तारुढ उम्मेदवार भएपनि प्रतिपक्षी कांग्रेसले समेत समर्थन गरेको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकले घर्तीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै एमाओवादी सभासद ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । सशस्त्र सङ्घर्षमा लडाकु कमान्डर रहेकी घर्ती नेपालको राजनीतिक इतिहासमा एउटा महिलाले पाएको सर्वोच्च सभामुख बनेकी छन् ।
सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । तर, थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रधानमन्त्री निर्वाचनमा आफ्नै उम्मेदवार उठाएको कांग्रेसले पनि घर्तीलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।
रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
उनले एसएलसीसम्म अध्ययन गरेकी छन् । उनले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।
गंगाप्रसाद यादव उपसभामुखमा निर्विरोध

यसैगरी उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी फिर्ता लिएपछि यादव निर्विरोध निर्वाचित भएका हुन् ।
पञ्चायतकालीन पृष्ठभूमिमा राजनीति सुरु गरेका यादव विसं २०२७ मा युवक सङ्गठनको अध्यक्ष, विसं २०३३ मा सोही गाविसको अध्यक्ष, विसं २०३५ मा राजविराजको प्रधानपञ्च हुँदै समाजसेवामा समेत सक्रिय थिए । उनी विसं २०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए ।

प्रतिक्रिया 4