१ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले रक्सौलमा अलपत्र परेका ग्यास बुलेट अर्को नाका हुँदै नेपात्र भित्राउने प्रक्रिया टुंगोमा नपुगेको जनाएको छ । त्यसका लागि भारतको आन्तरिक राजश्व विभागले अनुमति दिनुपर्ने भएकाले नेपाली अधिकारीहरु त्यसको प्रयासमा छन् ।
रुट परिवर्तन गरी ग्यास नेपाल भित्राउने योजना इण्डियन आयल कर्पोरेसनको (आइओसी)को सहयोगमा मात्र सम्भव नहुने निगमका प्रवक्ता दीपक बरालले स्पष्ट पारे ।
‘हाम्रा प्रतिनिधि रक्सौलमा रोकिएका ग्यस बुलेटलाई सडक र भन्सार रुट परिवर्तन गरी नेपाल ल्याउन प्रयत्नरत छन् । बाहिर सञ्चारमाध्यममा आएको जस्तो सबै प्रक्रिया टुंगिएको छैन,’ बरालले भने, ‘त्यसका लागि भारतको आन्तरिक राजश्व विभागले अनुमति दिनुपर्छ । अहिलेसम्म प्रक्रिया अन्तिममा पुगेको जानकारी छैन ।’
आयल निगमले रुट परिवर्तनको अनुमति पाउन अझै केही समय लाग्नसक्ने उल्लेख गरेको छ । रुट परिवर्तन गरेर ग्यास ल्याउने प्रक्रिया अघि बढाउन निगमका निमित्त निर्देशक तथा ग्यास वितरण विभाग प्रमुख मुकुन्द घिमिरे भारतमा छन् ।
‘रक्सौल भन्सारमा आएका कागजातलाई भारतीय आन्तरिक राजश्व विभागमा पुर्याएर स्वीकृत गराउन लागेका हौं,’ प्रवक्ता बरालले भने, ‘रक्सौलमा अलपत्र बुलेट ल्याउन सकिएमा केही भएपनि राहत मिल्ने छ ।’
रक्सौल नाकामा निगमका लागि ग्यास बोकेर आएका २ सय ५० भन्दा बढी ग्यास बुलेट अलपत्र छन् । एउटा बुलेटको ग्यासले १२ सय ५० सिलिन्डर भर्न पुग्छ । जसअनुसार सबै ग्यास बुलेट रुट परिवर्तन गरी नेपाल भित्रिएमा झण्डै ३ लाख ५० सिलिन्डर भर्न सकिन्छ ।
वीरगञ्ज नाकामा मधेसी मोर्चाले शिविर नै खडा गरेर नाकाबन्दी गरेपछि भारतीय सीमामा हजारौं मालबाहक गाडीसँगै ग्यास, डिजेल र पेट्रोल बोकेका गाडीहरु अलपत्र छन् । तिनीहरुलाई सहज भएका भैरहवा लगायतका नाकाबाट ल्याउन प्रयत्न भइरहेको छ ।
प्रतिक्रिया 4