१ कार्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर पाँचतारे होटल सांग्रिलाले ‘दशैं भोज’ प्याकेज ल्याएको छ । सप्तमी, अष्टमी र दशमी गरी तीन दिनसम्म चल्ने प्याकेजमा मौलिक नेपाली खाना खुवाइने भएको छ ।
राजधानीबासी तथा दशैंमा घर जान नपाउनेहरुलाई लक्षित गर्दै ल्याइएको यो डिनर प्याकेज हो । ‘दशैं भोज’ प्याकेजको प्रतिव्यक्ति १२ सय ९९ रुपैयाँ तोकिएको छ । यो मूल्यमा सेवा शुल्क र भ्याट समावेश गरिएको छ ।
स्वदेशी विदेशी दुबै ग्राहकलाई एउटै मूल्य तोकिएको होटलका सेल्स एन्ड मार्केटिङ म्यानेजर फुर्वा शेर्पाले जानकारी दिए । ग्याँसको अभावले धेरै रेष्टुरेन्टहरु बन्द भइरहेको बेलामा सांगि्रलाले राजधानीबासीलाई विशेष सुविधा दिएको उनको भनाई छ ।
‘दशैं भोज’ प्याकेजमा ५ थरी स्न्याक्समात्र उपलब्ध गराउने होटलकी सेल्स असिष्टेन्ट म्यानेजर बबिता पाण्डेले बताइन । स्न्याक्समा खशीको रक्ती, कलेजो तथा फोक्सो साँधेको, छिद्रा माछा, कालो भटमास साँधेको, कालो तिल हालेको आलुको अचार हुनेछ ।
मुख्य खानातर्फ कालो खशीको लेदोबेदो (ग्रेभी), सुख्खा काउली केराउको तरकारी, झानेको तोरीको साग, आलु तारेको, जिम्बुले झानेको कालो मासको दाल, नौनी घ्यू हालेको भात, फापरको रोटी उपलब्ध हुनेछ ।
यसैगरी आलु तामा र बोडीको रस उपलब्ध गराउने होटलले जनाएको छ । खानापाछि फलफुल साँधेको डेजर्ट उपलब्ध गराउने पाण्डेले बताइन ।
रक्ती बनाउँदा खशीको रगत छानेर डि-फि्रजमा राखी जमाई टुक्रा टुक्रा पारी काटेर पकाइने होटलका एक्जुकेटिभ सेफ महेश ढकालले बताए । पाँचतारे होटलमा उनी सबैभन्दा कान्छा एक्जुकेटिभ सेफ हुन् ।
होटलले दशैं प्याकेज पहिलो पटक ल्याएको हो । दशैंमा बाहिर गएर खाना चाहानेहरुलाई ध्यानमा राखेर स्टाफ विदामा हुँदा समेत यस्तो प्याकेज ल्याएको मार्केटिङ म्यानेजर शेर्पाको भनाई छ ।
प्रतिक्रिया 4