+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मन्त्रालय छाड्नुअघि लालबाबु पण्डितले गीत गुन्गुनाए

एमाले नेता लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा एकदिन आफूलाई भेट्न आएका नेता–कार्यकर्ताहरुसँग कार्यकक्षमा गफिँदै थिए । फुर्सदमा बेला–बेला कम्प्युटरमा आँखा दौडाउँथे । केही रंगीन र केही श्यामस्वेत फोटोहरु एक–एक गरी हेर्थे । आखिर मन्त्रीजी के गर्दैछन् कम्प्युटरमा ? जिज्ञासा लाग्नु स्वाभाविकै थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ४ गते १५:२४

Lalbabu-pandit

विनोद घिमिरे

एमाले नेता लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा एकदिन आफूलाई भेट्न आएका नेता–कार्यकर्ताहरुसँग कार्यकक्षमा गफिँदै थिए । फुर्सदमा बेला–बेला कम्प्युटरमा आँखा दौडाउँथे । केही रंगीन र केही श्यामस्वेत फोटोहरु एक–एक गरी हेर्थे । आखिर मन्त्रीजी के गर्दैछन् कम्प्युटरमा ? जिज्ञासा लाग्नु स्वाभाविकै थियो ।

कार्यकक्षमा रहेका सांसद हरिचरण साहले सोधिहाले, ‘मन्त्रीजी पनि मोडलका फोटा हेर्न मन पराउनुहुन्छ कि के हो ?’ मन्त्रीको कार्यकक्षमा हाँसोको फोहोरा छुट्यो ।

लालबाबुले कम्प्युटर हेर्न छाडेर पावरवाला चस्मा फुकालेर टेबुलमा राखे र भने, ‘कुनै जमाना थियो, त्यस्तो अब त छैन । अहिले त म मेरा पुराना फोटा हेर्दैछु । तपाईंहरु पनि हेर्नुहुन्छ भने आउनुस् ।’

जीवनकै पहिलो तस्वीर

कार्यकक्षको लचकदार सोफामा बसेकाहरु मन्त्रीको आसनतिर लम्किए । तात्कालीन मन्त्री पण्डितको डेक्सटप कम्प्युटर स्क्रीनमा केही श्यामस्वेत र केही रंगीन तस्वीरहरु थिए । कम्प्युटरमा ‘नेक्स्ट बटन’मा क्लिक गर्दै फरक–फरक तस्वीर देखाइरहेका थिए उनी ।

‘हो यो फोटो छ नि । यो मेरो जीवनकै पहिलो फोटो हो,’ पूरा बाहुला भएको बुट्टेदार सट र पाइजामा सजिएर बसेको करिब ८–१० बर्षे बालकको फोटो देखाउँदै मन्त्री पण्डितले भने ।

घरको भित्तामा अढेस लागेर दायाँ फर्किएर पोज दिएको फोटो थियो त्यो । उनको कार्यकक्षमा रहेकाहरुले घाँटी तान्दै कम्प्युटर स्क्रिनको नजिकै आाखा पुर्‍याए । सबैले उत्सुकतापूर्वक फोटोमा आँखा गाडे । कसैले पहिलेको भन्दा त मन्त्री ज्यू अहिले नै राम्रो हुनुहुँदोरहेछ पनि भने ।

सहभागीहरुलाई हेर्दै पण्डितले भने, ‘मैले मेरा जीवनका ऐतिहासिक क्षणका सबै फोटा राख्या छु, सायद तपाईंहरुको जीवनको पहिलो फोटो छैन होला । भए पनि यही नै हो भनेर ठोकुवा गरेर भन्न सक्नुहुन्न होला । बिर्सिसक्नुभयो होला ।’

उनले फोटो देखाउँदै व्याख्या गर्दै थिए । ‘यो पाल्पाको पद्मोदय पब्लिक स्कूलमा २०३१ सालमा एसएलसी टेष्ट परीक्षा दिइसकेपछिको फोटो, यो पहिलोपटक चुनाव जितेको, यो भरतमोहन कामरेडसाग खिचेको, यो बिहेको, यो मेरा बुबा–आमाको…..आदि आदि ।’

उनले एक–एक गरी पुराना तस्वीर देखाउँदै थिए । एउटा तस्वीर थियो, तीनजना बसेको । त्यो फोटो हेरेर उनी विगतमा फर्किए । ‘यो फोटो देख्दा वित्तिकै मलाई पाल्पाको याद आउँछ । श्रीनगर डााडामा ऐंसेलु टिप्दै खान्थ्यौं ।’

सर्लाहीका लालबाबुसँग पाल्पाको स्मरण खोतल्न मन लाग्यो । तर, कुनै जिज्ञासा नराख्दै उनले थपे, ‘२०२४ सालतिर दाइ इन्जिनियर भएर पाल्पामा जागिरे भएपछि भाउजू र मलाई पनि उतै लैजानुभयो । मैले पाल्पाको पद्मोदय स्कुलबाटै एसएसली पास गरें । त्यहीँबाट मजदुर क्षेत्रबाट राजनीति सुरु गरें । तर, ०४१ सालमा मोरङमा कमरेड मदन भण्डारीबाट पार्टी सदस्यता पाएँ ।’

‘निकै पुराना फोटा रैछन् अहिलेसम्म राखिराख्नु भएको रै’छ,’ सांसद साहले भने । पण्डितले जवाफ फर्काए, ‘पुराना फोटा स्क्यान गरी राख्या छु । गुगलमा अटोमेटिक स्टोर हुन्छ । चाहिएका बेला संसारको जुनकुनै ठाउँबाट हेर्न मिल्छ ।’

हैन, कसरी सम्भव हुन्छ यस्तो ? चासो लाग्नु स्वाभाविक थियो । बुझ्दै जाँदा उनका सहयोगी वासिम आलमले कुरा क्लियर पारे, ‘ड्रपबक्समा स्टोर गरिदिएको छु । फुर्सदको बेला चाख मानेर हेर्नुहुन्छ ।’

यसअघि स्पष्ट बुझाउन नसकेका पण्डितले आलमको कुरामा सहि थाप्दै भने, ‘ड्रप हो कि के हो । कुरा त्यहि हो । प्रविधिबारे थोरबहुत ज्ञान पनि हुनुपर्दो रै’छ ।’

फिल्म हलमा जिन्दगीभर नछिर्ने कसम

कुराकानीका क्रममा पण्डितले फिल्म हेर्दाको रोचक प्रसंग पनि निकाले त्यतिबेलै । कार्यकक्षमा रहेका अनेरास्ववियूका केही केन्द्रीय सदस्यहरुले सोधेका थिए, ‘मन्त्री ज्यूले फिल्म कत्तिको हेर्नुहुन्छ ?’ भन्ने जिज्ञासा मेटाउँदै थिए पण्डित ।

‘चिराग कहाँ रोशनी कहाँ भन्ने फिल्म राम्रो लागेर लगातार ९ दिनसम्म पनि हेरेको छु । तर, ४८ सालमा मैले फिल्म हलमा छिर्दै नछिर्ने कसम खाएँ,’ उनले भने ।

‘किन ?’ एकजनाले प्रश्न गरे ।

पण्डितले विस्तारमा बताउन सुरु गरे ।

‘४८ सालको चुनावमा निकै थाकियो । चुनावको प्रचार गर्न निकै हिँडियो । राती पनि सुतिएन । जितिसकेपछि पनि विजय र्‍याली, सभा गर्दै हिँड्दा त झन् थाकियो । एक दिन मेरो साथी गोविन्द प्याकुरेलले फिलिम हेर्न जाउा भन्नुभयो र आफ्नो भाइलाई दुईवटा टिकट लिन पठाउनुभयो । त्यतिबेला हिन्दी फिलिम ‘दिल’ लागेको थियो । फिलिम हेर्न हलभित्र छिरेर सिटमा बसेका मात्रै थियौं । कास्टिङ सुरु भैसकेको थियो । एकजना व्यक्ति आएर तपाईं लालबाबु पण्डित हो ? भनेर सोध्नुभयो । मैले हो भनें । उहाँले यो प्रश्न मलाई दस पटक सोध्नुभयो । मैले हो भनिराखें ।

उहाँलाई यति नराम्रो लागेछ कि कम्युनिष्टको नेताले फिलिम हेरेर ऐश आराम गर्दोरैछ भन्नुभयो । उहाँ एकप्रकारले अचम्मित हुनुभयो । त्यसपछि म अबदेखि जिन्दगीभर फिलिम हेर्दिन भनेर हलबाट निस्किएँ । त्यसपछि अहिलेसम्म म हलमा गएर फिल्म हरेको छैन । कहिलेकााही राम्रो फिल्म छ हेर्नुस् भनेर साथीहरुले भन्नुभयो भने सीडी ल्याएर घरमै हेर्छु । पछिल्लोपटक अमिर खानको पिके फिल्म हेरेको छु ।’

होचो भएर डाक्टर पढ्न बञ्चित !

लालबाबु फरक कार्यशैली र स्वभावका छन् । यिनले जीवनमा केटी साथीसँग बनाए होलान् कि नहोलान्, लभ पर्‍यो कि परेन होला भन्ने प्रश्न पनि मनमा आइरहेको थियो । मन्त्रीजस्तो मान्छेलाई सोध्ने कि नसोध्ने भन्ने दोधार भैरहेको थियो । तर, लालबाबुको खुलस्त कुरा गराइले वातावरण सहज भने बन्दै गैरहेको थियो ।

मन्त्री हुँदा डीभी पीआर लिने सरकारी सेवाका कर्मचारीहरुलाई जागिर वा डीभी पीआरमध्ये एक रोज्न भनेर कठोर कदम चालेका लालबाबु वास्तवमा सरल, आत्मीय र फरासिलो स्वभावका रहेछन् भन्ने लागिरहेको थियो ।

त्यही मौकामा पंक्तिकारले सोधिहाल्यो, ‘ युवाअवस्थामा कुनै केटीसँग लभ पर्‍यो कि परेन ?’

रिसाउने पो हुन् कि भन्ने डरैडरमा सोधिएको प्रश्न थियो त्यो । तर, उनी सेता दन्तलहर खोलेर हाँस्न थाले । कालो अनुहारमा चम्किला सेता दाँत साँच्चै गजबको देखिएको थियो । उता दाँत चम्कियो, यता पंक्तिकारको मन ।

‘बास्तवमा भन्नुहुन्छ भने मलाई महिला भन्नेवित्तिकै एलर्जी हुन्थ्यो,’ लालबाबुले मेरो जिज्ञासाको जवाफ दिन सुरु गरे ।
‘किन नि ?’ अर्को प्रश्न झर्‍यो ।

उनले एसएलसीदेखिको भूमिका बााध्न थाले ।

‘एसएलसी एग्रिकल्चर र बायोलोजी लिएर पास गरें तर, उद्देश्य डाक्टर पढ्ने थियो । त्यतिबेला नेपालमा एचए मात्रै पढाइ हुन्थ्यो, त्यो पनि महाराजगन्जको टिचिङ हस्पिटलमा मात्रै । त्यही पढ्नुपर्‍यो भनेर गएँ । लिखितमा पास भएा । जुनसुकै तहको क्याम्पस पढ्दा पनि त्यतिबेला लिखित मौखिक परीक्षा पास गर्नैपथ्र्याे । मेरो अन्तरर्वार्ता लिन पाँचजना लेडिजहरु बसेका थिए । उनीहरुले मलाई तलदेखि माथिसम्म हेरे अनि भाइ पुड्को रैछौं पढ्न पाउँदैनौं भनेर फर्काइदिए ।

म पुलिसमा भर्ना हुन त गएको थिइँन । शरीरको उचाइको कारण देखाउादै उनीहरुले मलाई फर्काइदिए । त्यसबेलादेखि मलाई केही बर्षसम्म महिला भन्नेवित्तिकै एलर्जी हुन्थ्यो ।’

मन्त्रीको कोठा फेरि हाँसोले गुञ्जियो । मेडिकल शिक्षा पढ्न बञ्चित भएपछि उनले मेकानिकल इन्जिनियर पढेका रहेछन् । त्यसपछि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको विद्युत ट्रान्सफरमर उत्पादन हुने कम्पनीमा उनले काम गरे । जुन ट्रान्सफरमर विदेश निर्यात हुन्थ्यो । तर, आजभोलि विदेशबाट आयात गर्ने स्थितिमा छ नेपाल । त्यही बालाजु औद्योगिक क्षेत्रका मजदुरहरुलाई गोलबन्द गर्दै राजनीति सुरु गरेका थिए लालबाबुले र धेरैपटक जेल जीबन विताए ।

प्रेरणाको पात्र जापानी प्रधानमन्त्री

‘त्यतिबेला विद्युत ट्रान्सफर विदेशमा बिक्री गर्ने नेपाल अहिले कहाँबाट कहाँ पुग्यो । बडा दु:ख लाग्छ,’ उनले भने । ‘अब तपाईंले देश बनाउने सुरुवात गर्नुभाछ एकदिन कसो नसुध्रिएला र ?’ सांसद हरिचरण साहले आशाको किरण जगाउादै भने ।

‘हो मलाई पनि त्यस्तै लाग्छ,’ लालबाबुले खुलेर कुरा गर्न थाले ।

‘पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले त्यसवेला पीआर र ग्रिनकार्ड छादैछ, रिटायर्ड भएपछि त नेपालमा बसिन्न भनेको सुनें ।

वेलायतका पूर्वराजदूत पूर्वप्रशासक मुरारीराज शर्मा नेपाली नागरिकता त्यागेर उतै बस्न थाले । मलाई लाग्यो, देश बिगार्ने त यिनै ठूला पदमा बस्नेहरु नै रहेछन् ।

मैले ०५६ सालको चुनाव जितेपछि ०५७ सालमा तत्कालीन सभामुख तारानाथ रानाभाटसहित मलाई जापान भ्रमणको मौका मिल्यो । त्यतिबेला जापानी प्रधानमन्त्रीले नेपालीहरुका मुख्य तीनवटा कमजोरी औंल्याउादै त्यसलाई सुधारेमा नेपाल छिट्टै विकसित हुन्छ भनेका थिए । पहिलो, नेपालीमा आत्मवोध छैन । दोस्रो, आत्मगौरव छैन र तेस्रो ड्युटी भन्ने त नेपालीले बुझ्दैन बुझ्दैनन् ।

यी कुरा मेरो मनमा गडिरह्यो । त्यसपछि संकल्प गरें सुरुवात म आफैबाट गर्छु भनेर ।’

सबभन्दा मन पर्ने गीत

केही मिनेट अघि पुड्को भएकाले पढ्नबाट बञ्चित लालाबाबुको कुराले हाासोले गुञ्जिएको कार्यकक्ष देशभक्तिको संकल्पको प्रसंगले शान्त थियो । लालबाबुले राष्ट्रिय गीत त खुबै सुन्छन् होला भन्ने लागेको थियो । एक त कम्युनिष्ट क्रान्तिकारी, त्यो पनि यतिधेरै देशभक्ति भाव ।

पंक्तिकारले सोधि पनि हाल्यो, ‘राष्ट्रिय गीत त खुबै सुन्नुहुन्छ होला है ?’

गीतको कुराले मन्त्री पण्डित रौसिइहाले । उनले आफूलाई अति मन पर्ने तीनवटा गीत रहेको बताए । कुन–कुन होलान् त ती गीत ? मनमनै गम्दै थिएँ । लालबाबुलाई मनपर्ने तीनवटा गीतको अनुमान लगाउन थालें ।

‘जाग लम्क चम्क हे नौजवान हो….’
‘म भक्त हुा यो देशको, म रक्त हुा यो देशको….’
बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस्….’

सायद यिनै हुनुपर्छ भन्ने पूर्वानुमान सबै बेकार भए । लालबाबुलाई त सबैभन्दा मनपर्ने गीत फिलिमको पो रहेछ ।

‘मलाई एकदमै मनपर्ने गीत भनेको– आहा वनमा फूल्यो फूलै फूल, बास्ना चल्यो मनैमा हो ।’

लालबाबुको यो कुराले मेरा अनुमान सब बेकार भए ।

‘सिन्दूर चलचित्रको यो गीतको सुटिङ पाल्पाको श्रीनगर डााडामा भएको थियो । जतिबेला म पाल्पाको स्कुलमा पढ्थें । त्यतिबेलादेखि नै अहिलेसम्म मलाई यो निकै मनपर्छ । आजसम्म धेरै गीत बने तर यो जत्तिको मनपर्ने मेरालागि बन्न सकेनन्,’ लालबाबुले भने, ‘आहा वनमा फूल्यो फूल्यो फूलैफूल गीत सुन्दावित्तिकै म पाल्पाको श्रीनगर डााडामा पुग्याछु जस्तो लाग्छ, हाइस्कूल पढ्ने उमेरमै छु जस्तो लाग्छ । श्रीनगर डाँडाको फेदमा म पढ्ने स्कूल थियो । छुट्टीको दिन म त्यहाँ ऐसेलु र काफल खान जान्थें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?