गोविन्द पोख्रेल
११ कात्तिक, मोरङ । राष्ट्रपति पदमा उम्मेद्वारी दर्ता गर्नुअगावै मंगलबार बिहानैदेखि विद्या भण्डारीका साहिँला देवर मोहन भण्डारीको मोरङस्थित गगनचुम्बी महलमा चहल-पहल शुरु भइसकेको थियो । काहिँला देवरको थोत्रो घरमा चाँहि भाउजू राष्ट्रपति बन्न लागेकोमा न हर्ष थियो, न विस्मात् ।

उर्लाबारी-४ पशुपतिमार्गस्थित मोहनको घरमा छरछिमेक, आफन्तजन र सञ्चारकर्मीहरुको उपस्थिति बाक्लिँदै गर्दा देवर मोहन र देवरानी लक्ष्मी भण्डारीमा खुशीको सीमा थिएन ।
‘दाजुको भौतिक शरीर नभए पनि हाम्रो परिवारलाई पार्टीले न्याय गरेको छ’ हर्ष मिश्रित स्वरमा मोहन भण्डारीले भने- ‘भाउजूले अब राज्यले सुम्पिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी राख्नुहुँदैन ।’
प्रेमको टुटेको मन
साहिँला देवर मोहनको भव्य घरको करिब ४० मिटर दूरीमा विद्या भण्डारीका काहिँला देवर प्रेम भण्डारीको थोत्रे घर छ । प्रेमको परिवार भने विद्याको सम्भावित राज्यारोहणप्रति बेखबर छ । एउटा देवरको घरमा खुसीयाली छाइरहँदा अर्को देवरको घरमा कुनै रौनक देखिएन ।

सञ्चारकर्मीको टोली प्रेमको घरमा पुग्दा विद्याकी देउरानी शारदा गोबर सोहोर्दै थिइन् । प्रेममा कान्छा छोरा दीपेश यताउति गरिरहेका थिए । प्रेम भण्डारी भने बिहानै विराटनगरतर्फ हानिएका रहेछन् ।
भण्डारी परिवारका अधिकांश सदस्य एमालेप्रति आस्थावान छन् । तर, ०५४ सालमा एमाले विभाजित हुँदा मदन भण्डारीका काहिँला भाइ प्रेम माले पार्टीमा आवद्ध भए । त्यसयता परिवारसँग प्रेमको बेमेल चुलिँदै आएको छ । एमालेजनले प्रेममाथि राम्रो दृष्टि राख्दैनन् । दाजु मोहनको परिवारसँग प्रेमको बोलचाल छैन । भाउजू एमालेकी जिल्ला नेतृ छिन्, जो आफूलाई विद्या भण्डारीको नजिक ठान्छिन् । प्रेमको परिवारले भने आफूहरु अन्यायमा परेको गुनासो गर्दै आएको छ । घर हेर्दै थाहा हुन्छ, उनीहरु तुलनात्मकरुपमा अरु भन्दा गरीब छन् । समाजमा ठूलो घर हुने र हुने खानेहरुले सानो घर हुनेलाई हेप्नु वर्गीय नियमै हो भन्ने उनीहरुको बुझाइ छ ।
वि.सं.०५६ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा मालेका उम्मेद्वारका रुपमा चर्चामा आएका प्रेम भण्डारी आफ्नो परिवारको दुःख सुखसँग जोडिन चाहँदैनन् ।
माले उम्मेदवार रहेकै बेला प्रेम भण्डारीले भाउजू विद्यालाई सार्वजनिकरुपमै कतिपय व्यक्तिगत एवं चारित्रिक लाञ्छना लगाएपछि उनी परिवारकै ‘छोइछिटो’ मा परेको निकटका व्यक्तिहरु बताउँछन् ।
एमाले-माले एकतापछि पनि प्रेम भण्डारी र विद्या भण्डारी अनि मोहनवीचको सम्बन्ध सुमधुर हुन सकेन । प्रेमले काठमाडौंमा भाउजूलाई चुनौती दिँदै मालेको उम्मेद्वार हुन इटहरा-२ स्थित महेन्द्र माविको प्रधानाध्यापक पदसमेत त्यागे । खाइरहेको जागिर छाडेपछि उनी आर्थिक संकटमा फसे ।
पछि एमालेले नै पहल गरेर उर्लाबारीको सुनपकुवा उच्च माविमा प्रेमलाई बहाल गराएको स्थानीय एमाले नेताहरुको भनाइ छ ।
तर, ०६२/०६३ को जनआन्दोलनपछि प्रेम माओवादीको शिक्षक संगठनमा आवद्ध भएको एमाले कार्यकर्ता बताउँछन् । त्यसपछि लगभग विद्याको परिवारसँग प्रेमको सम्पर्क विच्छेदकै अवस्था रहँदै आएको छ ।
यद्यपि प्रेम भने आफू माओवादी भएको स्वीकार्न चाहँदैनन् । उनी एमालेकै संगठित सदस्य भएको दाबी गर्छन् । तर, एमालेजनले भने उनलाई माओवादी भएको भन्दै छोइछिटो गर्दै आएका छन् । यसमा आफ्नै दाजु-भाउजूको हात रहेको प्रेमको परिवारको गुनासो छ ।

विद्या भण्डारीकी साइली देवरानी शारदाले जेठानी दिदी राष्ट्रपति हुने सम्बन्धमा कुनै प्रतिक्रिया दिन चाहिनन् । यद्यपि विद्यासँग भन्दा पनि साइला दाजु मोहनसँग प्रेमको ‘काटोछिनो’ रहेको छिमेकीहरु बताउँछन् ।
भण्डारी परिवारमा विद्यापछि एमालेको राजनीतिमा उनकी साइली देवरानी (मोहनकी पत्नी) लक्ष्मी भण्डारी मात्रै क्रियाशील छिन् । लक्ष्मी एमाले मोरङकी सदस्य हुन् । परिवारका अरु सदस्यहरु भने सामान्य समर्थक मात्रै छन् । लक्ष्मी एमालेमा अघि बढेपछि प्रेम छोइछिटोमा परेको कतिपय बताउँछन् ।
भण्डारी परिवार र जायजेथाको नालीबेली
ताप्लेजुङको ढुंगेसाँघु-९ ठोट्ने मूलथलो भए पनि बसाइँ सराइपछि मदनकुमार भण्डारीले मोरङको इटहरा-८ स्थित घरमा रहेर कम्युनिष्ट राजनीतिक जीवनको प्रारम्भ गरेका थिए । तत्कालीन अवस्थामा इटहरामै मालेका गतिविधि केन्द्रित हुन्थे ।

भूमिगत जीवनमै रहँदा मदनले पार्टीकै कार्यकर्ता विद्या पाण्डेसँग ०३९ सालमा वैवाहिक सम्बन्ध कायम गरेका थिए । पार्टीको जिम्मेवार पदमा रहेको हुँदा इटहरा-८ सातमेडीमा रहेको घरमा भने मदन र विद्याको कमै मात्रामा आवत-जावत हुने गरेको विद्याका सहपाठीसमेत रहेका एमाले स्थानीय नेता अग्नि भट्टराई बताउँछन् ।
भट्टराईका अनुसार ०४६ सालको राजनीतिक परिवर्तनपछि भने मदन र विद्याको बसाइ काठमाडौंमै रहृयो । यद्यपि, विद्या भण्डारीले राष्ट्रपति मनोनयनको क्रममा ठेगाना मोरङ इटहरा-८ उल्लेख गरेकी छिन् ।
मदन दम्पतिको मोरङमा रहेको मतदाता नामावली आफैंले पहल गरी ०४७ सालको चैतमा काठमाडौंमा कायम गरिदिएको भट्टराईले स्मरण गरे । त्यसको तीन वर्षपछि ०५० सालमा चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मदनको मृत्यु भएपछि विद्याको परिवार कोही पनि इटहरामा बसेनन् ।
ताप्लेजुङबाट बसाइँ सरेर उर्लाबारी आएका मदनका बुबा देवीप्रसाद र आमा चन्द्रमायाको इटहरामै निधन भयो ।
संसारिक मोह त्यागेर सन्यासी जीवन व्यतीत गर्दै आएका मदनका जेठा दाजु मनोज उर्फ मोहिताचार्य कहिले बनारस त कहिले हरिद्वारतिरै दिनचर्या बिताइरहेका थिए् । मदनको देहवासनपछि उनी चितवनको देवघाटमा सन्यासी जीवन बिताइरहेका छन् ।

शिक्षण पेशामा रहेका साइला मोहन र काइला प्रेम भण्डारीले उतिबेलै उर्लाबारीमा घरगृहस्थी शुरु गरेका हुन् । चिकित्सक पेशामा रहेका कान्छा डा. कैलाश भण्डारी भने स्कुले जीवनदेखि नै काठमाडौंमै रहँदै आएका छन् ।
मदनका उनै कान्छा भाइ डा. कैलाश भण्डारीको राजधानीस्थित अनामनगरको घरमा विद्या भण्डारी र छोरी निशाकुशुम बस्दै आएका छन् । कान्छा देवर डा. कैलाश अर्थो सर्जन हुन् । विद्याको आफ्नै घर भने बूढानीलकण्ठ नगरपालिकाको चपलीमा निर्माणाधीन अवस्थामा छ ।
इटहरा-८ मा टीन छानो भएको काठको दुईतले टाँडे घर र चार विगाह १३ कठ्ठा जग्गा भण्डारी परिवारको सगोलको सम्पति थियो । तर, मदनको देहवासनलगत्तै भण्डारी परिवारले सो घरजग्गा मदन भण्डारी स्मृति प्रतिष्ठानलाई सुम्पिसकेको प्रतिष्ठानका सदस्य पुष्प ढकालले जानकारी दिए ।
ढुंगेसाँघुको ठोट्नेमा रहेको घरसहित इटहराको जायजेथालाई प्रतिष्ठानले संरक्षण गरी दुईवटै गाविसलाई नमूना क्षेत्रको रुपमा विकास गर्ने तयारी गरिएको ढकालले बताए ।
प्रतिक्रिया 4