+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

वीरगञ्जमा तनाव बढ्दा ‘इण्डिया हाउस’ मा यस्तो चिन्ता

१६ कात्तिक, काठमाडौं । लैनचौरस्थित भारतीय राजदूताबासको पूर्वपट्टकिो सल्लेरीभित्र भारतीय राजदूत रञ्जित रायको आवास छ, त्यसलाई भनिन्छ-इण्डिया हाउस । त्यहाँ सोमबार अपरान्ह भारतीय महामहिम निकै चिन्तित मुद्रामा भेटिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते २२:४६

Ranjit ray

अरुण बराल

१६ कात्तिक, काठमाडौं । लैनचौरस्थित भारतीय राजदूताबासको पूर्वपट्टिको सल्लेरीभित्र भारतीय राजदूत रञ्जित रायको आवास छ, त्यसलाई भनिन्छ-इण्डिया हाउस । त्यहाँ सोमबार अपरान्ह भारतीय महामहिम निकै चिन्तित मुद्रामा भेटिए ।

मधेसवादी र सरकारवीच आइतबार सम्पन्न वार्ता सकारात्मक दिशातिर गइरहेका बेला सोमबार एकाबिहानै वीरगञ्ज नाकास्थित मितेरी पुलमा प्रहरीले धर्नाकारीहरुलाई हटाएको विषयलाई लिएर राजदूत चिन्तित देखिएका हुन् ।

‘इण्डिया हाउस’ अगाडिको चौरीमा गोलमेचजस्तै बनाएर राखिएको कुर्सीमा दूताबासका कर्मचारीहरुसँगै बसेर राजदूत रायले काठमाडौंका आधा दर्जन बढी सम्पादकसँग नेपाल-भारत सम्बन्धबारे छलफल गरेका थिए ।

यसक्रममा राजदूत रायले सोमबार बिहानको घटनाबाट नेपालको परिस्थिति थप बिग्रन लागेको भन्दै दुःख मनाऊ गरे । वीरगञ्ज नाकामा अवरोध भए पनि रि-रुटिङ गरेर अन्य नाकाहरुबाट तेल नेपाल भित्र्याउने कार्य भइरहेको, भैरहवा नाकाबाट तेल आइरहेको र नेपालमा वार्ताले निकास पाउनै लागेको भन्दै यहीबेला वीरगञ्जका धर्नाकारीमाथि अकस्मात् बल प्रयोग गर्नु आवश्यक थिएन भन्ने राजदूत रायको स्पष्ट आशय थियो ।

तर, नेपालतर्फ वीरगञ्जमा रोकिएका भारतीय सवारी साधनलाई नै पारि पठाउनका लागि नेपाल प्रहरीले नाकाको अवरोध हटाएको पत्रकारहरुले बताउँदा राजदूत रायले नेपाल आउने सवारी साधनले जुन ‘रि-रुट’ प्रयोग गर्थे, त्यसरी नै भारतीय गाडीहरुलाई पठाउन सकिन्थ्यो भन्ने प्रतिक्रिया दिए ।

गृहमन्त्रीसँगको भेटबारे स्मरण

पत्रकारसँगको कुराकानीका क्रममा राजदूत रायले गृहमन्त्री शक्ति बस्नेतसँग गरेको कुराकानी पनि सुनाए । भेटमा गृहमन्त्रीले मधेसको समस्या वार्ताबाट समाधान गर्ने र दुई देशवीचको सम्बन्ध सुमधुर बनाउन सरकार सचेत रहेको आफूलाई बताएको राजदूत रायले बताए । तर, गृहमन्त्रीले त्यसो भन्दाभन्दै एकाबिहानै वीरगञ्जमा त्यस्तो घटना भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।

मिडियासँग गुनासो

भारतीय राजदूत रायले नेपालका मिडियाहरुको भूमिकाको विषयमा पनि आफ्ना गुनासाहरु सुनाए । नेपाल र भारतवीचको सम्बन्ध बिग्रँदै गएका बेला मिडियाले त्यसलाई सामान्यीकरण गर्नुपर्नेमा भारतविरोधी भावना बढाउने काम गरिरहेको उनको गुनासो थियो ।

त्यसैगरी काठमाडौंका मिडियाले मधेसमा जान र त्यहाँको यथार्थ स्थितिबारे रिपोटिङ गर्न पनि उनले सुझाव दिए ।

नेपाल र भारतवीच रहँदै आएको मित्रवत सम्बन्ध बिग्रँदा यसको असर दीर्घकालसम्म पर्न सक्ने उनले बताए । नेपाल र भारतवीच बढिरहेको दरारलाई सामान्यरुपमा नलिन र यसप्रति गम्भीर हुन उनले आग्रह गरे । मधेसको समस्यालाई पनि सामान्य रुपमा नलिई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न उनले सुझाव दिए । भारतले यसबारेमा आफ्नो स्पष्ट धारण पहिलेदेखि नै राख्दै आएको उनले स्मरण गराए ।

यत्तिकैमा छेउमा बसेका कर्मचारीले राजदूत रायलाई अनलाइनखबरमा भर्खरै प्रकाशित समाचार मोेबाइलमा देखाए । विना विभागीय मन्त्री सत्यनारायण मण्डलले बिराटनगरमा बोलेको विषयमा छापिएको समाचार थियो त्यो ।

मन्त्रीले प्रधानमन्त्री केपी ओलीलाई नै अप्ठ्यारो पार्ने गरी बोलेको भन्दै राजदूतले यसबारे नेपाल सरकारसँग आफूले कुरा गर्ने बताए ।

भारतले मधेस होइन, देशलाई हेर्छ

नाकाबन्दीले पारेको असरबारे गरिएकाे कुराकानीपछि राजदूत राय फेरि गम्भीर बने । निकै लामो समयसम्म यस्तो स्थिति रहनु राम्रो होइन भन्दै उनले राजधानीमा मसस्या नपर्दासम्म नेपाल सरकार मधेसको समस्याप्रति गम्भीर नदिखँदा यो स्थिति लम्बिएको उनले बताए ।

भारतलाई मधेसको पक्षधर भनेरमात्रै नहेर्न उनले आग्रह गरे । भारत र नेपालको सम्बन्ध भनेको मधेसी समुदायसँग मात्रै नभएर सिक्किम दार्जिलिङ लगायतका अन्य समुदायसँग पनि रहेको स्मरण गर्दै राजदूत रायले भारतले समग्र नेपाल र नेपालीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताए ।

राजदूत रायले भारत र नेपालवीच सम्बन्ध बिग्रन दिन नहुने र यसमा मिडियालेसमेत भूमिका खेल्नुपर्ने बताए । भारत र चीन दुबैले नेपालमा अस्थिरता होइन, स्थायित्व हेर्न चाहेको राजदूत रायको भनाइ थियो ।

यो पनि पढ्नुस्

वीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित

भारतले भन्योः वीरगञ्जमा ‘निर्दोष’ भारतीय मारिए

वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल

सरकारसँगको वार्ता भङ्ग हुन सक्ने मधेसी मोर्चाको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?