+
+

जी-२० को सम्मेलनमा आइएस आक्रमणको त्रास !

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १८:२३

G20

२९ कात्तिक, काठमाडौं । सिरियाको संकटले निम्त्याएको शरणार्थी समस्या एवं आतंकवादको सामना गर्नेबारे छलफलका लागि विश्वका ठूला नेताहरु टर्कीमा भेला भएका छन् । आइएस प्रभावित सिरियाकै छिमेकमा आइतबारदेखि शुरु भएको जी-२० राष्ट्रहरुको दुईदिने समिटमा सुरक्षा व्यवस्था अति कडा बनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरु सम्मेलनमा सहभागी हुन टर्की पुगेका छन् ।  संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन पनि टर्की पुगेका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसमेत १९ देशका नेताहरु टर्कीमा भेला भएका छन् ।

फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलाण्डले पेरिस घटनाका कारण आफ्नो टर्की भ्रमण रद्द गरेका छन् । उनको साटो विदेशमन्त्री टर्की गएका छन् ।

जी-२० मा आवद्ध विश्वका प्रमुख आर्थिक साझेदार राष्ट्रहरुमा चीन, भारत, अमेरिका, बेलायत र रसियाका साथै अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, इण्डोनेसिया, दक्षिण, कोरिया, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्कीलगायत छन् ।

त्यसैगरी युरोपिय युनियन र युरोपियन कमिसन तथा युरोपियन केन्द्रीय बैंकका प्रतिनिधि पनि टर्कीमा भेला भएका छन् । सम्मेलनका लागि करिब १२ हजार विदेशी पाहुना टर्कीमा भेला भएका छन् ।

आइएसले हमला गर्ने त्रास

टर्कीमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । ओबामाको सुरक्षामा अमेरिकी सीआइएको टोलीसमेत खटिएको छ । नेताहरुको गार्डका रुपमा ३० हजार सुरक्षाकर्मी खटिएका छन् ।

टर्की युद्धग्रस्त सिरियासँग सीमाना जोडिएको तथा आइएसको प्रभाव रहेको देश हो, जहाँ अघिल्लो महिनामात्रै अंकारा शहरमा आयोजित शान्ति र्‍यालीमाथि आत्मघाती बम हमला हुँदा १०२ जना नागरिक मारिएका थिए ।

आइएसको प्रभाव रहेको सिरियाभन्दा करिब ५ सय किमी टाढा रहेको अन्तल्यामा आयोजित सम्मेलनस्थलमा ३० हजार सुरक्षाकर्मी एवं ड्रोन डिटेक्टरका साथै ३५० वटा मोवाइल क्यामेरा प्रयोग गरिएका छन् ।

सम्मेलन स्थलका ४६ वटा होटलहरुमा शक्ति राष्ट्रका प्रमुखहरुलाई बासको व्यवस्था मिलाइएको छ । भारतीय मिडियाले जनाए अनुसार मोदीको सुरक्षार्थमात्रै उनी बसेको होटलमा करिब १ हजार देशी विदेशी एजेन्ट खटिएका छन् ।

सम्मेलन सुरु भएकै दिन आत्मघाती घटना

यसैवीच जी-२० देशहरुको सम्मेलन सुरु भएकै दिन टर्कीको दक्षिणी इलाकामा एक जना आइएस लडाकूले चार प्रहरीलाई घाइते बनाएका छन् ।

आत्मघाती बम हमलाकारी ती व्यक्तिले आफूलाई समेत बमबाट उडाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनाले पनि टर्कीमा भइरहेको शक्ति राष्ट्रको जमघट सुरक्षाको दृष्टिले निकै चुनौतीपूर्ण देखिएको छ ।

सिरिया संकट र शरणार्थी समस्याबारे छलफल

Obama

जी-२० राष्ट्रहरुको दुई दिने सम्मेलनमा सिरिया संकट र त्यसले निम्त्याएको शरणार्थी समस्याबारे छलफल हुँदैछ । इराक र सिरियामा आइएसआइएसको आक्रमणबाट हालसम्म अढाइ लाख मानिसहरुको ज्यान गइसकेको छ भने करोडौं शरणार्थीहरु युरोपभरि छरिएका छन् ।

दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो शरणार्थी समस्याको सामना यतिबेला युरोपले गरिरहेको छ ।

पेरिसको घटनामा संलग्न व्यक्तिका साथबाट सिरियाली पासपोर्ट भेटिएको र उक्त व्यक्ति ग्रिस हुँदै फ्रान्स छिरेको तथ्यले युरोपेली देशहरुलाई थप झस्काएको छ । शरणार्थी र आइएसआइसका कार्यकर्ता छुट्याउन मुस्किल पर्न थालेपछि यसले सिरियाको संकटलाई थप जटिल बनाइदिएको छ ।

शरणार्थी समस्या र सिरिया संकटबारे छलफल गर्न आयोजना गरिएको सम्मेलनको दुई दिनअघि मात्रै पेरिसमा आइएसआइको भिषण आक्रमण भएकाले यो सम्मेलन अन्य आर्थिक एजेण्डाहरुमा भन्दा पनि आइएसआइको सामना कसरी गर्ने भन्ने विषयमै बढी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?