७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका आफैले काठमाडौंका ९ स्थानमा आकासे पुल बनाउने भएको छ ।
काठमाडौंको बानेश्वर, महाराजगञ्ज, कोटेश्वर, त्रिचन्द्र, चावाहिल, कालिमाटी, गौशाला चोक, थापाथली र त्रिपुरेश्वरमा आकासे पुल निर्माण गर्ने तयारी भएको हो ।
ट्राफिक व्यवस्थापन र यात्रुको सहजताकाका लागि महानगरले आफ्नै लगानीमा आकासेपुल बनाउन लागेको हो । ‘नयाँ बन्ने आकासेपुलमा ब्यापारिक प्रयोजनका सटरहरु राखिनेछैन,’ महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले भने ।
अहिले काठमाडौंका धेरै आकासे पुलहरुमा सटरहरु राखिएका छन् । पुल निर्माणका लागि डिजाइन तयार गर्ने काम सुरु भएको छ । ‘ट्राफिक प्रहरी र महानगरीय प्रहरी परिसरको सुझावका आधारमा आकासेपुल निर्माण गर्ने ठाउँ तय भएको हो’ तामाङले भने-‘ट्राफिक व्यवस्थापनमा आकासेपुल निर्माणले सहयोग पुर्याउनेमा हामी विस्वस्त छौं ।’
सबै आकासेपुल ३ वर्षभित्र निर्माण गरिसक्ने महानगरपालिकाको योजना छ । यसैवर्ष तीनवटा पुलको निर्माण सुरु हुनेछ ।
त्रिचन्द्र बाहेक अन्य आकासेपुलको निर्माणमा १ करोड रुपैयाँ भन्दा बढी खर्च हुने महानगरको अनुमान छ । त्रिचन्द्र अगाडि बन्ने पुल भने ४० देखि ४५ लाख रुपैयाँमा बन्न सक्ने तामाङले बताए ।
यसअघि विभिन्न ठाउँमा आकासेपुल निर्माण गर्ने गरी सडक विभागले प्रक्रिया अघि बढाएपनि एउटा पनि टेण्डर नपरेको भन्दै पन्छिएको थियो । सडक विभागले २ पटकसम्म टेण्डर आह्वान गरेको थियो ।
यस्तै अहिले प्रयोगमा रहेका भऽकाली, रणोद्विप चोक, सुन्धारा, जमल, वीर अस्पताल, भोटाहिटी, कलङ्की र नयाबसपार्कमा भएका आकाशे पुलमा हुने आपराधिक क्रियाकलाप रोक्ने रेलिङको उचाई घटाएर पारदर्शी बनाइने पनि महानगरले जनाएको छ ।
प्रतिक्रिया 4