Comments Add Comment

‘प्रोपोगाण्डा’ मात्रै होइन भने काठमाडौंबाट टाढा छैन केरुङ

Kerung boarder (3)मात्रिका पौडेल

१० मंसिर, रसुवागढी । के चीनबाट पेट्रोल ल्याउन सम्भव छ ? रसुवाको सडकबाट पेट्रोलका ट्यांकर आउन सम्भव छ ? सडक फराकिलो नबनाई नियमित इन्धन ढुवानी हुन सक्छ कि सक्दैन ?

यस्तै प्रश्नहरुको उत्तर खोज्ने क्रममा व्यवस्थापिका संसदको विकास समितिले केरुङ नाकासम्मै पुगेर स्थलगत अध्ययन गरेको छ । सो अध्ययनपछि विज्ञहरुसहितको टोलीले निकालेको निष्कर्ष एउटै हो- यदि नेपाल र चीनबीच व्यापारिक सम्झौता हुने हो भने यो नाकाबाट इन्धनका ट्यांकर नेपाल आउन सम्भव छ ।

चीन र नेपालको सीमानाका रसुवागढीबाट दैनिक एक सयभन्दा बढी मालवाहक ठूला ट्रक तथा कन्टेनरहरु नेपाल प्रवेश गरिरहेका छन् । दुई महिनाअघिसम्म सुनसान रहने पासाङ ल्हामू राजमार्गको गल्छी हुँदै रसुवागढी पुग्ने सडक अहिले व्यस्त छ ।

रसुवागढीबाट सम्भव छ

काठमाडौंबाट १५३ किलोमिटर उत्तरपश्चिममा छ, रसुवागढी नाका । रसुवागढी त्यही ठाउँ हो, जहाँ नेपालले करीव १६५ वर्षअघि अन्तिमपटक भोटविरुद्ध त्यही फोर्टिफिकेसन बनाएर लडाई लडेर सम्झौता भएको थियो ।

त्यही रसुवागढीमा अहिले नेपाल प्रहरीको अस्थायी चेकपोष्ट छ । उता पारिपट्टि चीनको अत्याधुनिक सुरक्षा पोष्ट रहेको छ । चिनियाँ सुरक्षाकर्मीले जाँचपास गर्दै पठाएका नेपाली ट्रकहरु नेपालतर्फ प्रवेश गरेपछि ग्राभेल सडकमा धूलो उडाउँदै अघि बढ्छन् ।

रसुवागढी नाकामै पुगेर अनुगमन गरिसकेपछि विकास समितिका सभापति सांसद रवीन्द्र अधिकारीले भने- जुन ढंगले राम्चेको भीर देखाएर यो नाकाबाट आपूर्ति सम्भव छैन भनिएको थियो, त्यो बिल्कुल गलत ठहर भयो । सरकारले राष्ट्रिय प्राथमिकता यो सडकलाई राख्नुपर्छ, इन्धनलगायत सबै सामाग्रीको आपूर्ति सम्भव छ ।

सांसदहरु ढुक्क भएर फर्किए

सडक विभागका वरिष्ठ इन्जिनियर र विज्ञहरुलाई समेतसँगै लिएर गएका अधिकारीले रसुवागढी नाकासम्म पुग्ने सडक नेपालको दीर्घकालीन लाइफलाइन बन्न सक्ने ठहर गरेका छन् । ‘हामी ढुक्क भएर फर्किएका छौं, उत्तरको यो नाकाबाट आपूर्तिमा कुनै समस्या छैन’ ।

Kerung boarder (5)

रसुवा जिल्लाबाटै निर्वाचित सांसद तथा विकास समितिका सदस्य जनार्दन ढकाल पेशाले आफैं पनि सडक निर्माण विषयका विज्ञ पनि हुन् । आफू एक्लो प्रयासले नभएपछि उनी यसपटक विकास समितिलेनै अनुगमन गरिसकेको अवस्थामा अब रसुवागढी सडक राष्ट्रिय प्राथमिकतामा पर्नेमा विश्वस्त छन् ।

रसुवा सदरमुकाम धुन्चे पुग्नुअघि राम्चे र मूलखर्कमा ठूलो पहिरो छ । करीब तीन किलोमिटर सडकखण्डका केही ठाउँमा पहिरो रोकथामका लागि काम गर्नासाथ रसुवागढीसम्म पुग्ने सडकमा अन्त कतै ठूला समस्या छैनन् ।

ढकालले भने- मिडियामा यही राम्चेको भीर र पहिरो देखाएर नकारात्मक प्रचार भयो । वास्तवमा यो पहिरोमा पनि अहिले सवारी चल्न कुनै समस्या छैन । पहिरो रोकथाम गर्नै नसकिने पनि होइन । तत्कालका लागि सडक स्तरोन्नति गरेमात्रै पनि केरुङबाट काठमाडौं टाढा छैन ।

फास्ट ट्र्याकबाट काम गर्न देऊ

संसदीय टोलीसँगै रसुवागढी नाकासम्म सडक निरीक्षण गर्न पुगेका सडक बिभागका मध्यमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख किशोर गंगोल र नुवाकोट सडक डिभिजन प्रमुख रोहित बिसुराल पनि उत्तरी नाकाबाट काठमाडौंको आवागमनका लागि सडक बाधक नभएको ठहरमा पुगेका छन् ।

Kerung boarder (9)

गंगोलले भने-हामीलाई फास्ट ट्र्याकबाट काम गर्न संसद र सरकारले सघाउने हो भने एक डेढ वर्षभित्र यो सडकलाई फराकिलो बनाएर राजमार्गनै बनाउन सकिन्छ । वैकल्पिक राजमार्ग पनि मैलुङबाट रसुवागढी निकाल्न सकिन्छ । अहिले स्तरोन्नति गर्दा मात्रै पनि पेट्रोल ट्यांकरहरु सहज रुपमा काठमाडौं पुग्न सक्छन् ।

अहिलेको ऐन नियमबाट ५ वर्षमा पनि सडक नबन्ने सरकारी अधिकारीहरु बताउँछन् । ‘सरकारले साँच्चै नै केरुङलाई काठमाडौंसँग जोड्न चाहेको हो भने विशेष निर्णय गरेर फास्ट ट्रयाकमा काम अघि बढाउनुपर्छ’ उनले भने ।

अहिलेकै ऐन नियमअनुसार काम गर्न दिने हो भने ५ वर्षमा पनि सडक स्तरोन्नति नहुने र विस्तार गर्न पनि नसकिने उनले धुञ्चेमा आयोजित सर्वपक्षीय सभामा स्वीकार गरे ।

अहिले नभए कहिल्यै हुन्न

मुलुकको आवश्यकतालाई बुझेर तत्कालै फास्ट ट्र्याकबाट काम गराउन सरकारलाई निर्देशन दिनुपर्ने ठहरमा समिति पुगेको भ्रमण दलमा रहेका सांसद रामकुमार भट्टराईले बताए ।Kerung boarder (8)

‘रसुवागढी नाकालाई रक्सौल नाकाजत्तिकै महत्व दिनुपर्छ, सरकारले अहिले नगर्ने हो भने कहिल्यै सम्भव छैन’ उनले भने ।

चीनको केरुङबाट माल ढुवानी गरेर अघि बढेका साधनहरु रसुवागढीबाट नेपाल प्रवेश गरेपछि स्याफ्रुबेसीसम्म करीब १८ किलोमिटर सडक ग्राभेल मात्र गरिएको छ । चीनले बनाइदिएको भोटेकोशी किनाराको यो सडकको गुणस्तर राम्रो छ ।

कसरी आउँछन् ट्यांकर र कन्टेनर ?

स्याफु्रबेसीबाट धुञ्चे हुँदै राम्चेको पहिरो कटेपछि रसुवाको कालिकास्थान हुँदै बेत्रावती पुगिन्छ । बेत्रावतीबाट बिदुर हुँदै गल्छी निस्केर अघि बढेका साधन नौबीसेबाट काठमाडौं भित्रिँदा जम्मा १५३ किलोमिटरको दूरी पार गर्छन् ।

Kerung boarder (2)

यदि बेत्रावती-मैलुङ-स्याफु्रबेसी हुँदै रसुवागढी जाने सडकलाई प्राथमिकतामा राखेर निर्माण गर्ने हो भने १५३ बाट घटेर काठमाडौंसँगको दूरी १३० किलोमिटरमा झर्नेछ । त्यो भनेको तातोपानी नाका भन्दा पनि छोटो हो ।

सरकारको नियतःमुलुकको नियति

नेपाली सेनाले मैलुङ स्याफ्रुबेसी सडक बनाउन थाले पनि राष्ट्रिय निकुञ्जले रोकेको छ । सरकारले साँच्चै उत्तरको नाका खुलाउन र जनताको आवश्यकता पूरा गर्न खोजेको हो भने माथिल्लो सडक विस्तार र तल्लो सडक निर्माण गरेर केरुङलाई काठमाडौंसँग नजिक्याउन सक्छ ।

जसरी रसुवाली जनता सरकारले यो नाकालाई दिर्घकालसम्म चलाउने गरि सडक बनाउँछ भन्नेमा विश्वास गर्दैनन् त्यस्तै अवविश्वास चीनसँग व्यापार गरिरहेका नेपाली व्यवसायीहरुको पनि छ ।

Kerung boarder (4)

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बराल भन्छन्- सरकारले भित्रैदेखि नाका सुचारु गर्न चाहेको हो भने अहिलेसम्म धेरै काम भइसक्थ्यो । तर, इच्छाशक्ति छैन कि अरु नै केही कारण छन् बुझ्न सकिएन ।

रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनका सामानसहितका ट्रक तथा कन्टेनरहरु धमाधम भित्रिन थालेपछि भन्सार कार्यालयको व्यस्तता एकाएक बढेको छ । ‘म राजश्व उठाएरै सडकको स्तरोन्नति गराउन सक्छु’ भन्सार कार्यालयका प्रमुख केदार पनेरुले भने ।

पेट्रोल सजिलै आउँछ: बराल

चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोल नेपाल भित्रिएपछि अहिले रसुढागढी नाकाबाट जाडोका कपडा, स्याउ र लसुनलगायतका सामाग्री बोकेका ट्रकहरु मात्र भित्री रहेका छन् । ‘चीनसँग व्यापारिक सम्झौता गर्ने हो भने अरु सामानजस्तै इन्धन पनि सजिलै ल्याउन सकिन्छ’ बरालले भने ।

रसुवाकै चालक चाहिने ?

अहिले व्यवसायीहरुले चाहे जति सामान ल्याउन सकिरहेका छैनन् । चीनले रसुवा जिल्लाको नागरिकता भएका बाहेक अन्य चालकलाई केरुङ जान अनुमति दिएको छैन ।

काठमाडौंबाट गएका ट्रकहरु रसुवागढी पुगेपछि रसुवा जिल्लाको परिचयपत्र बोकेका चालकलाई गाडी जिम्मा लगाएर मितेरी पुलवारि नै बस्न बाध्य छन् । पर्याप्त चालक रसुवाका नभएकाले समस्या परेको बरालले बताए ।

चालकको समस्या समाधान गर्नका लागि आफूले चीनसँग पहल गरिरहेको र सम्भवतः सवारी चालकलाई प्रवेश पासको समस्या समाधान हुने रसुवाका डीएसपी अवधेष बिष्टले बताए । ‘उनीहरुले अब मिलाउँछौं भनेका छन्’ विष्टले भने ।

प्रोपोगाण्डा कि वास्तविकता ?

रवीन्द्र अधिकारी आफैं सातजना सांसदहरुको टोली लिएर केरुङ नाकासम्म पुग्नुको अर्थ महत्वपूर्ण छ । उनले चीनको नाका निरीक्षण गर्न जानुअघि प्रधानमन्त्री केपी ओलीसहित प्रमुख दलका नेताहरुसँग समेत यसको महत्वबारे परामर्श गरेका थिए ।

विकास समितिले तत्कालै दिने निर्देशन तथा सुझावपछि सम्भवतः केरुङलाई काठमाडौंसँग नजिक्याउने अर्थपूर्ण थालनी हुनेछ । यदि अदृश्य शक्तिकै चलखेलका कारण इन्धन सम्झौता समेत हुन नसकेको हो भने रसुवागढी नाका पनि प्रोपागाण्डामा मात्रै सीमित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment