Comments Add Comment

विद्यार्थीले चक्रपथ घेर्दा मानव अधिकार आयोगको ध्यानाकर्षण

Manb Sanglo at Ring road (7)

११ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बन्द, हड्ताल जस्ता कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न सम्वन्धित सबैलाई आग्रह गरेको छ ।

धर्ना, विरोध प्रदर्शन, सभा लगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिएपनि विगत केही समयदेखि त्यस्ता कार्यक्रमहरुमा बालबालिकाको प्रयोग बढ्दै गएपछि आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षण संस्थाहरुको छाता संगठनहरुले शुक्रबार राजधानीमा गरेको मानव साङ्लोमा कक्षा ८ मा अध्ययनरत बालबालिकाको प्रयोग गरेको पाइएको आयोगले शुक्रबारै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बन्द, हड्तालका कार्यक्रममा बालबालिकाको निरन्तर प्रयोग गर्दा हुने जोखिमलाई ध्यानमा राखी बालअधिकार सुनिश्चित गर्न आयोग सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाध रुपमा विद्यालय जान पाउने र भय मुक्त वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकोले कुनै पनि संस्था वा राजनीतिक दलले आयोजना गर्ने कुनै पनि कार्यक्रममा बालबालिकाहरुको प्रयोग नगर्न आयोग आग्रह गर्दछ ।’

बन्द, हड्ताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु बालअधिकार सम्बन्धी महासन्धी तथा बालबालिका सम्बन्धी ऐन, २०४८ विपरीत कार्य हुने आयोगले जनाएको छ ।

भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनका कारण पढ्न पाउने नैसर्गिक अधिकार कुण्ठित भएको भन्दै विद्यार्थीहरुले ‘बाच्न र पढ्न देऊ’ भन्ने नाराका साथ २७ किलोमिटर लामो चक्रपथमा प्रदर्शन गरेका थिए । उनीहरुले चक्रपथ भित्र रत्नपार्क, टुँडिखेल लगायतका क्षेत्र घेराउसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment