+
+

हलभित्र लुकेका मोहनविक्रमलाई ओलीको घोचपेच

२७ मंसिर, काठमाडौं । पुराना कम्युनिस्ट खगुलाल गुरुङलाई अभिनन्दन गर्न आयोजित समारोहका संयोजक थिए, अर्धभूमिगत कम्युनिस्ट नेता मोहनवक्रम सिंह । तर, अभिनन्दन गर्दा मञ्चमा आसीन दुई दर्जन बढी कम्युनिस्ट नेताहरुका लाममा उनी थिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १८:५४

communist leader Vela

चिरञ्जीवी पौडेल

२७ मंसिर, काठमाडौं । पुराना कम्युनिस्ट खगुलाल गुरुङलाई अभिनन्दन गर्न आयोजित समारोहका संयोजक थिए, अर्धभूमिगत कम्युनिस्ट नेता मोहनवक्रम सिंह । तर, अभिनन्दन गर्दा मञ्चमा आसीन दुई दर्जन बढी कम्युनिस्ट नेताहरुका लाममा उनी थिएनन् ।

कार्यक्रमका उद्घोषक सूर्य थापाले जानकारी दिए, ‘मोहनविक्रम यही हलभित्रै हुनुहुन्छ । तर, अर्धभूमिगत भएका कारण उहाँले देखिन मिल्दैन ।’ हलभित्र सबैले उनलाई खोज्न थाले, तर कसैले ठम्याउन सकेनन् । पत्रकारहरुले पनि सकेनन् ।

समारोहका प्रमुख अतिथि थिए प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली । आफ्नो सम्वोधनमा उनले मोहनविक्रमको अनुपस्थितिलाई लिएर बाक्लै घोचपेच गरे ।

उनले भने, ‘यति सुन्दर कार्यक्रम गर्नुभएको छ । यति धेरै नेताहरुलाई एक ठाउँ ल्याउनु भएको छ । तर, आफू कतै कुनामा लुक्नुभएको छ । पार्टीको नीतिअनुसार उहाँले देखिन मिल्दैन । परिस्थितिले गर्दा होइन, धर्मले गर्दा उहाँ लुक्नु परेको छ ।’

ओलीले ठट्टा गर्दै भने, ‘सिद्धान्तनुसार, मैले हलभित्र उहाँलाई देखेँ र चिनेँ भने पनि बोल्न मिल्दैन । नदेखेझै, नचिनेझैं गर्नुपर्छ ।’

प्रधानमन्त्रीले भूमिगत जीवन त्यागेर खुल्ला राजनीतिमा आउन सिंहलाई आह्वान गरे । कम्युनिस्टहरुले भागेर वा लुकेर राजनीति गर्ने समय नरहेको उल्लेख गर्दै उनले ‘डोमिनेटिङ क्यारेक्टर’ का साथ देश हाँक्नुपर्ने बताए ।

उनले भने, ‘अहिले भूमिगत, अर्धभूमिगत वा चौथाइ भूमिगत हुनुपर्ने परिस्थिति केही पनि छैन । तपाईं बाहिर निस्किनुस, तपाईंलाई कसैले समाउँदैन, कसैले थुन्दैन, यो म ग्यारेन्टी लिन्छु । हो, बरु पत्रकारले दुख दिन्छन् । उहाँहरुसित बच्नुहोला ।’

दुई सत्रमा सञ्चालन भएको उक्त अभिनन्दन समारोहको पहिलो सत्रमा सिंह लुकेरै टारे । पहिलो सत्रमा आफ्नो भाषण सकेर प्रधानमन्त्री बाटो लागे ।

दोस्रो सत्रमा सिंह स्वयम्ले अध्यक्षता गर्ने कार्यक्रम थियो । तर, त्यसमा पत्रकारलाई बस्न नदिने आयोजकको आयोजकको योजना थियो । उद्घोषकले फोटो र भिडियो खिच्ने पत्रकारहरुलाई हलबाट बाहिर निस्कन आग्रह गरे । केही निस्किए भने केहीले टेरेनन् ।

दोस्रो सत्र सुरु हुनासाथ मोहनविक्रम भिडभित्रबाट प्रकट भए । प्रधानमन्त्री ओलीले खाली गरेको आसनमा गएर बसे । हलभित्रका सहभागीहरु धमाधम मोबाइल झिकेर उनको भिडियो र फोटो खिच्न थाले ।

सिंहले आफ्नो भाषणमा ओलीलाई कुनै जवाफ फर्काएनन् । आफ्नै शास्त्रीय शैलीमा कम्युनिस्ट आन्दोलन र राष्ट्रियताको चर्चा गरेर भाषण सके ।

कम्युनिस्टहरुको दुर्लभ जमघट

पर्यटन बोर्डको साँघुरो हलमा आयोजित कार्यक्रममा नेपालका ठूला-साना अधिकांश कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको ‘अभूतपूर्व’ जमघट रह्यो ।

communist leader khagulal Gurung Samman

प्यूठानका ९८ वर्षीय कम्युनिस्ट नेता खगुलाल गुरुङलाई अभिनन्दन गर्ने समारोहमा केपी ओलीदेखि मोहनविक्रम सिंह र विष्णुबहादुर मानन्धरदेखि मणी थापासम्म थिए । उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपप्रधानमन्त्री तथा नेकपा मालेका अध्यक्ष सीपी मैनाली, नयाँ शक्तिकी हिसिला यमी, नेेकपा संयुक्तका गणेश शाह लगायत नेताहरु पनि मञ्चमा देखिए ।

कम्युनिस्टहरुको दुर्लभ जमघटमा कम्युनिस्ट एकताबारे चर्चा नहुने कुरै भएन । चर्चा प्रधानमन्त्री ओलीले नै सुरु गरे ।

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्षका हैसियतले आफूले कम्युनिस्ट एकताका निम्ति इमान्दार प्रयास गर्ने उल्लेख गरे । ‘(कम्युनिस्ट) एकताका लागि मैले के-के त्याग गर्नुपर्छ, म तयार छु’ प्रधानमन्त्रीले भने, ‘सबै कम्युनिस्टहरु एक ठाउँ आएको दिन आन्दोलन बलियो हुन्छ, देश बलियो हुन्छ ।’

उनले केहीबेर मार्क्सवादको पनि चर्चा गरे । ‘कोही विद्वानहरुले भनेको सुन्छु, कम्युनिस्टहरुको अर्थोक त ठिकै छ, तर मार्क्सवाद चाहिँ ठीक छैन । यसको अर्थ हो विद्वानले मार्क्सवाद बुझेकै छैन । बुझेको भए पो ठीक छ भनोस् ।’

ओलीले झापा आन्दोलनको प्रसङ्ग निकाल्दै भने, ‘विगतमा राम्रो गरौं भन्दाभन्दै अलिकति उग्रपन्थतिर पनि लागियो । बुझेपछि हामीले छाड्यौं, तर अरु साथीहरुले फेरि अलिकति चाखिहाल्नुभो ।’ प्रचण्ड मुसुमुसु हाँसे ।

प्रचण्डले दिए एकतामा जोड

प्रचण्डले कम्युनिस्ट एकताको आवश्यकतालाई अझै टड्कारो रुपमा राखे । नेपालको कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न पार्न साम्राज्यशक्तिहरु नै लागेको उल्लेख गर्दै उनले उनीहरुलाई जवाफ दिनुपर्ने समय आएको बताए ।

‘देशको दोस्रो ठूलो कम्युनिस्ट पार्टीको अध्यक्षता नाताले भन्नुपर्दा,’ प्रचण्डले दावी गरे, ‘नेपालको कम्युनिस्ट आन्दोलन बलियो भएको देखेर यसलाई धुजाधुजा बनाउन सारा साम्राज्यवादी शक्तिहरु लागेका छन् । विचारको जामा पहिर्‍याएर परिवर्तनकारी कम्युनिस्ट पार्टीहरुलाई विभाजन गर्ने उनीहरुको षडयन्त्रलाई हामीले चिर्नैपर्छ ।’ उनले पार्टी एकता गर्न नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने भनाइ राखे ।

मसाल अध्यक्ष सिंहले पनि राष्ट्रियता संकटमा परेकाले कम्युनिस्ट एकताको आवश्यकता ज्वलन्त बनेको बताए । उनले भने, ‘आज देश रहन्छ कि रहँदैन भन्ने स्थितिमा राष्ट्रियताको रक्षाका निम्ति कम्युनिस्टहरु एक हुने बेला आएको छ ।’

खगुलालका दुई माग

प्यूठानका वयोवृद्ध नेता खगुलाल गुरुङलाई अभिनन्दन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो । ९८ वर्षीय खगुलाल पुराना कम्युनिस्ट नेता हुन् जो राणाकालविरुद्धको संघषमा समेत सहभागी थिए ।

काम कम सुन्ने खगुलाल आँखा भने प्रष्ट देख्छन् । उनलाई ‘दुई शब्द’ बोल्न आग्रह गर्दा उनले सरकारसामु आफ्ना दुई माग अघि सारे । पहिलो माग आफ्नो गाउँ घर लामखोलासम्म सडक बनाइदिन र दोस्रो, गाउँमा स्कुल बनाइदिन ।

‘अहिलेको जमानामा पैदल हिँड्ने कुरा आउँदैन । त्यसैले संयुक्त सरकारले मोटरसाइकल चल्ने बाटो बनाइदिनुपर्‍यो,’ उनले भने । प्रधानमन्त्री ओलीले उनको मागको तत्काल सुनवाइ हुने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?